कार्यविधि अनुसार सूचना प्रकाशित गर्ने प्रतिबद्धता



नेपालगन्ज,३१ जेठ/  नरैनापुर गाँउपालिका–१ कटकुईया भित्र सञ्चालन हुने योजनाहरुको उपभोक्ता समिति गठन गर्दा ७ दिने सार्वजनिक सूचना जारी गरी कार्यविधि अनुसार काम गर्ने प्रतिबद्धता गरिएको छ ।

नरैनापुर गाँउपालिका वडा नं. १ को आयोजना तथा बास नेपालगन्जको सहजीकरणमा बुधबार कटकुईयामा सम्पन्न वडा कार्यालयले प्रवाह गर्ने सेवा तथा सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई यस्तो प्रतिवद्धता गरिएको हो ।

उक्त कार्यक्रममा पाँच बुँदे प्रतिबद्धता समेत गरिएको गरिएको छ । जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यक्तिहरुले विभिन्न कारणले भत्ता नपाईरहेको भन्ने गुनासो आएकाले सबैलाई सहज रुपमा भत्ता प्रदान गर्न आवश्यक पहल गर्ने, वडा भित्र सञ्चालन हुने योजना तथा कार्यक्रमहरुको नियमित अनुगमन गर्ने साथै समुदाय स्तरबाट प्राथमिकताका साथ आएका योजनाहरुलाई महत्व दिने, वडाले प्रदान गर्ने सेवा र सुविधालाई थप चुस्त दुरुस्त बनाउने र वडा कार्यालयका क्रियाकलापहरुलाई नियमित सार्वजनिकीकरण गर्ने र एक हप्ता भित्र वडामा सूचना अधिकारी तोक्ने प्रतिबद्धता गरिएको हो ।

सार्वजनिक सुनुवाईमा सरोकारवाला तथा उपस्थित सर्वसाधारण बिच झण्डै अढाई घण्टा दोहोरो प्रश्नोत्तर भएको थियो । सुनुवाईमा सोधिएका प्रश्नको जवाफ मञ्चमा आसिन वडाका पदाधिकारी तथा वडा सचिवहरुले दिएका थिए ।

कार्यक्रमको शुरुवातमा वडा कार्यालयले प्रदान गर्ने सेवा र सुविधाका बारेमा वडा सचिव लक्ष्मी कान्त मिश्राले जानकारी गराएका थिए भने उद्धेश्यमाथि बासका उपनिर्देशक हेमराज भट्टले प्रकाश पारेका थिए । बास बाँके शाखाका सदस्य मकबुल अहमद मुकेरीले सहजीकरण गरेको सुनुवाईमा दुईसय बढीको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ३१ गते बिहीबार