दिगो विकासमूखी योजना ल्याईनेः मेयर अधिकारी



रावन विश्वकर्मा : बाँसगढी,३१ जेठ/  बाँसगढी नगरपालिकाका–९ वटै वडाहरुमा अहिले बस्तीस्तरका योजना छनौट गर्ने काम तिव्र पारिएको छ ।

योजना छनौटको चौथो चरण अन्तगर्त वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको सहभागितामा विभिन्न बस्तीस्तरहरुका योजना छनौटको काम भइरहेको बाँसगढी नगरपालिकाका सूचना अधिकारी शेर बहादुर केसीले बताए ।

सामाजिक, आर्थिक, भौतिक, शिक्षा, स्वास्थ्य, कृषि, वातावरणमा रहि योजनाहरु छनौट भइरहेका छन् । बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले बाँसगढी नगरपालिकामा अब आउने योजना वितरणमूखी मात्रै नहुने बताए । उनले अब आउने आर्थिक वर्षमा वितरणमूखी योजनाहरु नभई उत्पादनमूखी र दिगो विकासका योजनाहरु ल्याइने बताए ।

उनले भने–‘सोही अनुसार अहिले सबै वडाहरुमा बस्तीस्तरका योजना छनोट भइरहेका छन ।’ योजना छनोटका लागि १४ चरण पार गर्नुपर्ने पहिलेको प्रावधान रहेपनि अहिले योजना छनौटको लागि ७ चरण पार गर्नुपर्ने प्रावधान रहेको सोही अनुसार योजना छनौटको काम भइरहेको सूचना अधिकारी केसीले जनाए ।

बस्तीस्तरबाट छनौट भएका योजनाहरु योजना तर्जूमा समितिमा पठाइने योजना तर्जूमा समितिले नगरकार्यपालिकामा पठाउने र नगर कार्यपालिकाले नगर सभामा पेश गरिसकेपछि नगर सभाबाट योजना पारित गरिने प्रावधान छ । बाँसगढी नगरपालिकाको नगर सभा आगामी असार ६ गते हुने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ३१ गते बिहीबार