विद्यार्थीहरुका लागि ट्राफिक सचेतना



कोहलपुर,२४ जेठ/  कोहलपुरका विद्यार्थीहरुलाई लक्षित गरी सडक दुर्घटना न्यूनिकरण सम्बन्धी ट्राफिक सचेतानामूलक कार्यक्रम गरिएको छ । दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोहलपुरस्थित त्रिभुवन नमुना माध्यामिक विद्यालयका विद्यार्थीका लागि सो कार्यक्रम गरिएको हो ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको प्राविधिक सहयोगमा कोहलपुर क्रियटिभ ग्रुप प्रालिको आयोजनामा बुधबार सचेतनामुलक कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुरका डिएसपी दिवाकर घिमिरेले ट्राफिक नियमहरुका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । दुर्घटना हुन सक्ने सम्भावित क्षेत्रहरुमा सवारी चालक तथा यात्रुहरु आफैले सावधानी अपनाए केही हदसम्म सवारी दुर्घटना न्यून हुने घिमिरेले बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले विद्यालय क्षेत्र सवारी दुर्घटनाको दृष्टिकोणले निकै संवेदनशिल क्षेत्र भएकाले विद्यालयलाई नै केन्द्रित गरी कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले विद्यालय लाग्ने र बिदा हुने समयमा विद्यालय तथा ट्राफिक प्रहरीको समन्वय आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्न विद्यालयलाई आग्रह समेत गरे ।

विद्यालयकी प्रधानाध्यापक देवका थापाले सम्बन्धित निकाय आफैले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको भन्दै खुसी व्यक्त गरिन ।

उनले सडक किनार मै विद्यालय रहेको र हरेक समय दुर्घटनाको सम्भावना रहेतापनि आवश्यक प्रक्रिया थाहा नपाउँदा ट्राफिक प्रहरीसँग समन्वय गर्न नसकिएको गुनासो पोखिन् । कार्यक्रममा शिक्षक, विद्यार्थी, ट्राफिक प्रहरी, जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २४ गते बिहीबार