बर्दिया,१७ जेठ/ बर्दियामा पछिल्लो समयमा विद्युत आपूर्ति अनियमित हुँदै गएपछि स्थानीय तथा व्यवसायी पीडित बनेका छन् ।
सरकारले यसअघि हुँदै आएको विद्युत् कटौती अन्त्यको घोषणा गरे पनि अघोषितरुपमा हुने विद्युत् कटौतीका कारण जिल्लावासीले सास्ती खेपिरहेका छन् ।
विद्युत कार्यालयमा समस्या बुझ्नका लागि फोन गर्दा फोन अधिकांश समय व्यस्त देखिने र फोन लागे पनि फोन नउठ्ने गरेको उपभोक्ताको गुनासो छ । पछिल्लो केही समययता बर्दियाको ठाकुरबाबा, राजापुर, बाँसगढीलगायत क्षेत्रको विद्युत् आपूर्ति अनियमित बन्दै गएको छ ।
अघोषित विद्युत् कटौतीका कारण यहाँका उद्योगी, व्यवसायी र आमउपभोक्ता हरुको दैनिकी अस्तव्यस्त बनेको छ । हाल विद्युत् जाने आउने भएका कारण निकै समस्या भएको स्थानीय ठाकुरबाबा नगरपालिका–३, बगनाहा बजारमा कम्प्युटर इन्स्टिच्यूट सञ्चालन गर्दै आइरहेका देवीराम थारुले बताए ।
भोल्टेज लो भएका कारण बत्ती आएको समयमा उद्योग कलकारखाना सञ्चालन नहुने र छिनछिनमा विद्युत् आपूर्ति बन्द हुँदा व्यवसायीनै धरापमा पर्ने गरेको व्यवसायी बताउँछन् ।
विशेष गरी गर्मीमा बढी विद्युतीय उपकरणको प्रयोग गरिने भएकाले लोड बढ्दा पनि विद्युतीय लाइनमा गडबडी आएको प्राविधिकले बताउने गरेका छन् ।
राजापुर क्षेत्रमा विद्युत् प्रसारणमा समस्या नहोस् भनेर निर्माण हुन लागेको सव–स्टेसन लामो समय हुँदा पनि सञ्चालन नहुँदा राजापुर क्षेत्रमा विद्युत् प्रसारणमा समस्या आएको सेन्चुरी कम्प्युटर सेन्टर अफसेट प्रेसका प्रतीक शर्माले गुनासो गरे । विद्युत् आउने र जाने हुँदा जिल्लामा रहेका सञ्चारमाध्यमहरु प्रभावित भएका छन् ।
उता गर्मीकै कारण स्थानीयको जनजीवनसँगै विद्यालयको पठनपाठनसमेत प्रभाव परेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोडियाना, राजापुरका प्रधानाध्यापक शिवप्रसाद कोइरालाले बताए । विद्युत् अनियमित हुँदा गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बस्न नमान्ने गरेको अनुभव कोइरालाले सुनाए ।









प्रतिक्रिया दिनुहोस्