नेपालगन्ज,१५ जेठ/ बाँकेको जानकी गाउँपालिकाले तयार पारेको शिक्षा नीतिको मस्यौदामा सोमबार विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेको छ । सो अवसरमा जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर नीति बन्ने बताए ।
‘गाउँपालिकामा शिक्षाको अवस्था सुधार्ने जिम्मा तपाईको हो, के गर्दा राम्रो हुन्छ तपाईले सुझाव दिनुहोस् ।’ गाउँपालिका अध्यक्ष यादवले भने–‘तपाईले दिएका महत्वपूर्ण सुझावलाई हामीले मस्यौदामा समावेश गर्नेछौं ।’
‘स्थानीय सरकार भन्दैमा हामी सबै कुरा जनप्रतिनिधि र कर्मचारीले गर्ने होइन,सबै सम्वद्ध विज्ञसँग छलफल र सुझाव लिन्छौंँ ।’–अध्यक्ष यादवले भने–‘विद्यालयमा पढाउने कुरा घरको काम होइन, सिकाइस्तर चाहियो, त्यसको लागि भौतिक पूर्वाधार र आर्थिक अवस्था सुधार गर्ने जिम्मा हाम्रो भयो ।’
गाउँपालिका अध्यक्ष यादवले जनप्रतिनिधिले चाहेरमात्रै शिक्षामा सुधार नआउने भएकोले गाउँपालिकामा शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी सबैले चासो दिन समेत आग्रह गरे ।
शिक्षाका समस्या शिक्षकहरुलाईनै थाह हुने भनेकोले गुणस्तरीय शिक्षाको लागि आवश्यक कमी कम्जोरी पहिचान गर्न प्रधानाध्यापकहरुसँग शिक्षा नीतिको मस्यौदामा छलफल गरिएको गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले बताइन् ।
जानकी गाउँपालिकाका शिक्षा स्रोतव्यक्ति मुनिर अहमद खाँले छोराछोरी विद्यालय नपठाउने अभिभावकमाथि गाउँपालिकाले सेवा रोक्ने प्रावधान बनाउनु पर्ने सुझाव दिए ।
छलफलको सहजिकरण गर्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक कृष्णकुमार लम्सालले सबै क्षेत्रलाई डो¥याउने शिक्षा भएकोले यसमा स्थानीय तहहरुले विशेष ध्यान दिनुपर्ने बताए । उनले शिक्षा नीतिको मस्यौदामा सुझाव दिएका थिए ।
जानकी गाउँपालिकाका सल्लाहकार पदम धितालले जानकी गाउँपालिकामा अहिले शिक्षाको अवस्थामा कम्जोर रहेकोले सुधार गर्नेगरी शिक्षा नीति बनाउनु पर्नेमा जोड दिए । उनले विद्यालय अनुगमनका क्रममा विद्यार्थी भर्नाको ५० प्रतिशत मात्रै उपस्थित रहेको पाईएको जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जानकी गाउँपालिकाका अध्यक्ष द्रोण थापाले शिक्षा नीतिको मस्यौदा प्रधानाध्यापकहरुबीच ल्याएर छलफल गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले शिक्षा नीतिको मस्यौदामा विभिन्न सुझाव दिएका छन् । जानकी गाउँपालिकामा ३ मावि, ६ आधारभूत गरी ४५ विद्यालय रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्