नेपालगन्जमा मुस्लिम धर्मावलम्बीहरु सामुहिक नमाज पढ्दै



बाँके,९ जेठ/ ईस्लाम धर्मावलम्बीको एक महिने रोजा पर्वले नेपालगन्ज नगर र मस्जिदहरुमा रौनकता बढाएको छ ।

नेपालगन्जको गणेशपुरमा रहेको ऐतिहासिक मदिना नूरी मस्जिदमा भेला भएर मुस्लिम धर्मावलम्बीहरुले तराबी नमाज पढ्दै रमजान मनाइरहेका छन् ।

रमजानको महिनामा मस्जिदहरुमा हुने तराबी अर्थात कुरानको पाठ ७ रोजा पुगेको अवसरमा बिहिबार मदिना मस्जिदमा भव्य रुपमा सम्पन्न हुने भएको मदिना मस्जिदका प्रबन्धक मौलाना नसरुद्दीनले बताए ।

कुरान पढेर सुनाएको भन्दै मुस्लिम धर्मगुरु कारी सज्जाद अलिलाई नगद राशिले मुस्लिमहरुले सम्मान गर्ने भएका छन् ।

कुरान बाचनको समापनसँगै मुस्लिमहरुले सरकारले धार्मिक पर्व कटौती प्रति चिन्ता व्यक्त गर्दै मुस्लिमहरुको महत्वपूर्ण पर्वमा सार्वजनिक बिदा घोषणा गर्न सरकारलाई आगग्रह गर्दै प्राथाना गर्नुका साथै देशमा दीर्घकालीन शान्ति स्थापना होस् भनी अल्लाहसँग प्रार्थनासमेत गर्ने छन् ।

मुस्लिम समुदायका लागि रमजानको महिना मलिन आत्माले पवित्रता प्राप्त गर्ने महिना हो । यो पवित्रता प्राप्त गर्ने विभिन्न तरिकामध्ये तराबी पनि एक हो । तराबी अरबी शब्द तरवीहाको बहुवचन हो जसको अर्थ हुन्छ आराम गर्नु ।

यसलाई यो नाम दिनुको कारण हरेक चार रकातपछि नमाजीहरुले केहीछिनको लागि आराम गर्ने चलन छ । तराबी तहज्जुद नमाजकै अर्को रुप हो जसमा मानिसहरु राति उठेर अल्लाहलाई सम्झन्छन् ।

तराबी नमाजमा मुस्लिमहरु एक इमामको पछाडि उभिएर कुरानको वाचन सुन्छन् र अल्लाहले पठाएको सन्देशलाई मनन् गर्छन् ।

कुरानको वाचन सकिए पनि तराबीको नमाज रमजान महिनाभरि हुने मदिना मस्जिदका निर्देशक नसरुद्दीनले बताए । बिहिबार राती ११ बजे कुरआन बाचनको समापन हुने भएको छ  ।

मदिना नूरी मस्जिदमा तराबीको नमाज पढनका लागि गाउँदेखि शहर सम्मका हजारौ मुस्लिमहरु जम्मा भएर नमाज पढदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ९ गते बुधबार