सुदीप अधिकारी बर्दिया,८ जेठ/ राष्ट्रिय गौरवको आयोजना बबई नहर सफाई गर्न करिव २ हजार किसानले एकै साथ श्रमदान गरेका छन् । बबई नहरको मूल गेटदेखि बेसिन सम्मको झण्डै एक किलोमिटर क्षेत्रमा नहरको दाँयाबाँया माटो बालुवा थुप्रिए पछि किसानहरु नहर सरसफाईमा जुटेका हुन् ।
सिँचाईका लागि नहरको पानी उपयाग गर्ने ६४ मौजा(गाउँ)का किसानको सहभागितामा नहर सफाई गरिएको बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितिका सचिव बेदप्रसाद खनालले जानकारी दिए ।
बर्खाको समयमा धमिलो पानीका कारण नहरमा माटोको लेदो जम्मा हुने गर्छ । बेलाबेलामा नहर सफा नगर्ने हो भने नहरमा पानीको मात्रा कम भइ सिँचाईमा समस्या पर्ने भएकाले विगत ८ वर्ष यता किसानहरुले श्रमदान गरेर नहर सफा गर्दै आएका छन् ।
नहर संचालनमा नआएको बखत किसानले करिव महिना दिनसम्म जनश्रमदान गरेर परम्परागत कुलो निमार्ण गरि सिँचाइ गर्ने गर्थे । नहरबाट सिँचाइ हुन लागेयता वर्षमा एक दिन श्रमदान गरेर नहर सफाई गर्ने गरेको बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितीका अध्यक्ष भुजराम थारुले बताए ।
बारबर्दिया नगरपालिकाका ६ गाउँ, मधुवन नगरपालिकाका ६ गाउँ, ठाकुरबाबा नगरपालिकाका ६ गाउँ र गुलरियाका ४ गाउँका किसान सहभागी भएर नहर सफा गर्ने गरेको अध्यक्ष थारुले बताए ।
चार विघा जमिन बराबर एकजना किसान गणना गर्ने प्रचलन छ । नहर सफाईका लागि वर्षेनी आलोपालो नहरको पुर्वी र पश्चिमी क्षेत्रका किसान जुट्ने
गर्छन् । यसवर्ष पश्चिमी क्षेत्रका किसानले नहर सफा गरेका हुन् । नहर सफाइमा सहभागी नहुने किसानलाई गाउँलेले जरिवाना गर्ने प्रचलन छ । तर दुख बिराम परेको बेला बिदा दिने नियम पनि रहेको किसानहरु बताउँछन् ।
सफाई भएको एकहप्ता भित्र किसानले धानको विउ राख्ने गर्छन् । बबई नहरबाट जिल्लाको पूर्वी क्षेत्रमा २१ हजार र पश्चिम क्षेत्रमा १५ हजार हेक्टर जमिनमा वर्षभरिनै सिँचाइ हुने गर्छ ।
नहर सफाइका बेला प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, सिँचाई आयोजनाका कर्मचारी पनि उपस्थित थिए । नहर सफाई गर्नका लागि गाउँको बडघरको निर्देशनमा चौकीदारले गाउँगाउँमा बेगारी अर्थात जनश्रमदान जाउँ भनेर खबर गरेपछि गाउँलेहरु श्रमदानमा जाने गर्छन् ।
श्रमदानमा सहभागी भएका किसानलाई कुलापानी मौजाका बडघरले नहरको फोहर सफा गर्न निर्देशन दिएपछी किसानहरु नहरमा पसेर फरुवा, काठ र डोरीको सहायताले नहर सफा गरेको थिए ।
यहाँका किसानले नहर सफा गर्ने दिनलाई उत्सवका रुपमा लिने गरेका छन् । ‘यो दिन हाम्रो लागि उत्सवहो । मेला हो । यही पानीले हाम्रो अनाज फल्छ । त्यसैले हामी वर्षेनी नहर सफा गर्न उत्साहित हुन्छौ,’ बर्गदा गाउँका किसान टेटराम थारुले भने ।









प्रतिक्रिया दिनुहोस्