चारबुँदे सहमतिपछि पक्राउ परेका रिहा



कोहलपुर,५ जेठ/  बुधबार सडक दुर्घटनामा परी ज्यान गुमाएका शिक्षकका आफन्त र पिडक पक्षबीच चार बुँदे सहमति भएपछि तनाव अन्त्य भएकोछ ।

शुक्रबार कोहलपुरमा बसेको बैठकले मृतकका आफन्त, स्थानी जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, शिक्षक, विद्यार्थी लगायतको उपस्थितिमा चार बुँदे सहमति भएको हो ।

बैठकबाट मृतक शिक्षक ऋषिराम चापागाईले अध्यापन गराउँदै आएको विद्यालय राम माविमा उनकी श्रीमतीलाई योग्यताअनुसारको रोजगारीको व्यवस्था गर्ने, गाडी चालकलाई सवारी तथा यातायात व्यावस्था ऐन–२०४९ अनुसार कडा भन्दा कडन कारवाही गर्ने, कोहलपुर नगरपालिकाले अक्षयकोष खडा गरी मृतकका बालबच्चालाई पठन पाठनका लागि कम्तीमा स्नातक तहसम्म सहयोग गर्ने र यस घटनाका विषयलाई लिएर मृतकका आफन्त तथा विद्यार्थीहरुले कुनै पनि विरोध आन्दोलन चक्काजाम नगर्ने सहमति भएको छ ।

यस्तै सो घटनाको विरोधका क्रममा पक्राउ परेका विद्यार्थीहरुलाई तुरुन्त रिहा गर्ने लगायतका सहमति भएका हुन् । यसैबिच आन्दोलनका क्रममा पक्राउ परेका सबै जना शुक्रबार नै रिहा भएका छन् ।

सहमतिपछि पक्राउ परेका अनेरास्ववियू क्षेत्र नं.१ का अध्यक्ष सुमन घिमिरे, नेवि संघका कमल शाही, राष्ट्रवादी विद्यार्थी संघका महामन्त्री विजय काफ्ले, आदर्श माविका प्रअ टंक गौतम, कोहलपुर मोडल कलेजका शिक्षिका रञ्जिता अधिकारी लगायत सबै रिहा भएका छन् ।

बुधबार साँझ भे १ ज ६५५ नम्बरको हायसले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ऋषिराम शर्मा चापागाईको ज्यान गएकोे थियो । मृतकको शव शुक्रबार नै बुझी अन्तिम दासंस्कार गरिएको परिवार स्रोतले जनाएको छ ।।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार