कविन्द्र परियार : कोहलपुर,३ जेठ/ गत आईतबार आएको हावाहुरीका कारण नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुर मातहतका ४ वटा फिडरका करिब ५० लाख बराबरका विद्युतिय संरचनामा क्षति पुगेको छ ।
हावाहुरी कारण विभिन्न ठाउँमा विद्युतिय पोल भच्चिनुका साथै ट्रान्समिटर तथा तारहरुमा गरी करिब ५० लाख बराबरको क्षति भएको कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए ।
हावाहुरीका कारण ५० भन्दा बढी रुखहरु ढलेका कारण करिब ३४ वटा पोल ढलेका छन् भने २ वटा ट्रान्समिटरमा क्षति पुग्नुका साथै थुप्रै स्थानहरुमा तारहरु चुडिएको बताइएको छ ।
त्यस्तै हावाहुरीका कारण करिब १ सय ५० भन्दा बढी ग्राहकहरुको पोलबाट तानिएको तार चुडिएको र १० वटा मिटरहरुमा क्षति पुगेको केन्द्रले जनाएको छ । वितरण केन्द्रको ४ वटा फिडर केन्द्रमध्ये सबै भन्दा बढी शम्शेरगंज फिडर केन्द्रमा र चिसापानी फिडर केन्द्रमा बढी क्षति पुगेको छ ।
राझाँ फिडर केन्द्र र कोहलपुर फिडर केन्द्रका विद्युत सुचारु गरिएको छ भने शम्शेरगंज फिडर केन्द्र र चिसापानी फिडरका ९० प्रतिशत स्थानहरुमा काम सम्पन्न भइसकको बताएको छ ।
सो क्षेत्रमा ढलेका रुखहरु नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा कटान गरी पन्छाउने काम भइरहेको र शुक्रबारसम्म सबै स्थानहरुमा विद्युत सुचारु हुने वितरण केन्द्रले जनाएको छ ।
क्षति भएका स्थानहरुमा ४ वटा टोली काममा खट्टिएको बताइएको छ । कार्यालयमा पुराना गाडी र जनशक्ति अभावका कारण काममा केही ढिलाई भएको केन्द्र प्रमुख लामिछानेको भनाइ छ ।
‘हामी संग पोल उठाउने क्रेन समेत नभएको हुँदा नेपालगजंबाट क्रेन मगाएर काम गर्नुपरेका छ’ लामिछानेले भने । ‘हामी सकेसम्म अहोरात्र खटिएर काम गरिरहेका छौ’ उनले भने ।
याता विद्युत सेवा प्रभावित हुदाँ राप्तीसोनारी र बैजनाथ गाउँपालिकाअन्तर्गतका स्थानीवासीले निकै सास्ती झेल्नु परेको बताएका छन् । स्थानीय तहबाट हुने कामहरु समेत प्रभावित बनेका छन् ।
मोबाइल फोन चार्ज गर्न नपाउँदा सो क्षेत्रमा सम्पर्क विच्छेद भएको छ भने दैनिक कामहरु समेत प्रभावित बनेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्