मनाइयो विश्व रेडक्रस दिवस



कोहलपुर,२६ वैशाख/   नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरले विश्व रेडक्रस दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा कोहलपुरमा प्रभातफेरी निकालियो । कोहलपुरको चौराहदेखि सुरु भएको प्रभातफेरी दशविगाह हुँदै न्यूरोडमा आएर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष कर्णबहादुर थापाले रेडक्रस एउटा साझा चौतारी भएको बताए । उनले रेडक्रसका सात सिद्धान्तलाई व्यवहारिक कार्यान्वयनमा लैजान युवा, विद्यार्थी, कर्मचारीलगायतले अतुलनीय काम गरेको बताए ।
                                                                      साइकल वितरण
दिवसको अवसरमा संयुक्त एम्बुलेन्स चालक संघले सर्वसाधारणहरुलाई साइकल वितरण गर्ने भएको छ । संयुक्त यम्बुलेन्स चालक संघका अध्यक्ष मनोज बोगटीले कुनै पनि दुःख पीडामा रहेका सर्वसाधारणहरुलाई राहत हुने गरी एक हप्तासम्म कोहलपुरको न्युरोडमा साइकल वितरण गर्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका नारायणप्रसाद गौडेल, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पकेट, अष्ट्रेलियन रेडक्रस सोसाइटीका प्रतिनिधि मुकेश सिंह र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख जाजुकिमले विश्व रेडक्रस अभियानमा नेपाल रेडक्रसको भूमिकाबारे चर्चा गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख यज्ञप्रसाद भट्टराई, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकको सहभागिता थियो ।

यसैगरी गनापुर र सदरलाइन उपशाखाबाट व्याच वितरण र दीप प्रज्वलन, पुरैनी उपशाखा र ने.रा.आधारभूत विद्यालय पुरैनी, घरवारी टोल उपशाखा र जुरेस ने.रा.नि.मा.वि.घरवारीटोल, कचनापुर उपशाखा र पेरानीमा.वि.ओभरी, वेलासपुर उपशाखा र जुरेस होलिल्याडको संयुक्त आयोजनामा प्रवचन र ब्याच वितरण गरिएको छ भने नेरेसो क्षेत्रीय रक्तसंचार सेवा नेपालगन्ज र कोहलपुर इकाइमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २६ गते बुधबार