काठमाडौं,१३ वैशाख/ गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले सरकारले एक महिनासम्ममा पनि आवश्यक कर्मचारी व्यवस्थापन नगरे महासंघले नै कर्मचारी व्यवस्थापन गर्ने बताउनुभएको छ ।
महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले कर्मचारीको अभावले गर्दा नागरिकको सेवा व्यवस्थापन गर्न समस्या परेकाले एक महिनाभित्र सरकारले कर्मचारी व्यवस्थापन नगरे संविधानको मर्यादाभित्र रहेर आफूलाई चाहिने कर्मचारी आफैँ व्यवस्थापन गर्ने बताउनुभएको हो ।
गएको शुक्रबार र शनिबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको पहिलो बैठकका निर्णय सुनाउँदै अध्यक्ष श्रेष्ठले गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता र स्वीकृत शिक्षक दरबन्दीलाई अपुग हुने गरी पैसा गएको र कतै धैरै पैसा गएकाले यस विषयमा ध्यान दिन महासंघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग आग्रह गरेको छ ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “विषयगत कार्यालय अहिले पनि कायमै छन्, साझा अधिकारका विषयमा सरकारले कानून बनाउँदा गाउँपालिकालाई सोध्दै सोध्दैन ।” नगरपालिका र गाउँपालिकामा प्राप्त संवैधानिक हक समान छ । नागरिकप्रतिको जिम्मेवारी, जवाफदेहीता, प्रवाह गर्नुपर्ने सेवा र वितरण गर्नुपर्ने सुविधा समान भए पनि नगरपालिका प्रमुख र गाउँपालिका प्रमुखलाई गरिने व्यवहार फरक रहेको पनि श्रेष्ठले गुनासो गर्नुभयो । रासस









प्रतिक्रिया दिनुहोस्