नेपालगन्ज, ७ बैशाख/ स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनदै हुनसक्ने मातृशिशु मृत्यु दर घटाउने उद्देश्यले सरकारले दिदै आएको सुत्केरी भत्ता समय मै नपाएको नेपालगन्ज उप–महानगरपालिका २२ का सुत्केरी महिलाहरुले गुनासो गरेका छन् ।
पुरैनीका राधाकृष्ण स्वास्थ्य आमा समुहमा आबद्व सुत्केरी महिलाले आफुहरुले सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् । उनीहरुले स्वास्थ्य संस्था मै सुत्केरी भएका महिलाले अझैसम्म पनि यातायात खर्च बाफतको रकम पाउन नसकेको गुनासो गरे ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मातृमृत्यु दरमा कमी ल्याउन तथा गर्भवती र सुत्केरी महिलाहरुलाई समेटेर गेरुवा ग्रामीण जागरण संघले राधाकृष्ण स्वास्थ्य आमा समुह निर्माण गरी गर्भवती अवस्थामा लगाउनुपर्ने खोप, सरकारको नियम अनुसार कम्तीमा पनि चार पटक स्वास्थ्य चौकी पुगेर चेकजाँच गराउनुपर्ने तथा समय र यस अवस्थामा घरमा भएको खानेकुरालाई कसरी पोषणयुक्त खाना बनाएर खाने भन्ने बारे जानकारी दिने गरेको छ ।
सोही समूहको अनुगमन गर्ने क्रममा वडा नम्बर २२ का अध्यक्ष बिद्याराम बर्माले गर्भवती महिलाहरुलाई नियमित रुपमा स्वास्थ्य परिक्षण गराउन आग्रह गरे । उनले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले विभिन्न सेवा सुविधा दिने गरेको स्मरण गराउदै स्वास्थ्य संस्थामा नै सुत्केरी गराएर त्यसको लाभ लिनुपर्नेमा जोड दिए । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडा कार्यालय सधै जिम्मेवार हुने अध्यक्ष बर्माले बताए ।
नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखाका हरिहर तिवारीले २२ नम्बर वडामा घरमा नै सुत्केरी हुने महिला धेरै संख्यामा रहेको जानकारी दिए । उनले टोल–टोलमा रहेका आमा समुहले गर्भवतीको नियमित चेकजाँच र सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनु पर्ने कुरा सबैलाई सिकाउनु पर्ने बताए । यद्दपी पछिल्लो समय बाँकेमा मातृमृत्यु दरमा कमी आएको तिवारीले दाबी गरे ।








प्रतिक्रिया दिनुहोस्