रावन बिश्वकर्मा : बाँसगढी २० चैत/ बाँसगढी नगरपालिका–८, बेलौलीकी मीनाकुमारी नेपाली सफल व्यवसायी बन्न सफल छिन् । सामान्य परिवारमा जन्मिएर चुलो चौकोमा मात्रै सीमित उनले बाँसगढीमा पुस्तक व्यवसाय सञ्चालन गरेपछि भएको आम्दानीले उनी दंग छिन् ।
आफ्नो मनको इच्छा समेत पूरा भएको उनी बताउँछिन । मीनाले पुस्तक व्यवसायबाट मासिक ३० हजारभन्दा बढी आम्दानी गरिरहेकी छन् । पुस्तक व्यवसायबाटै उनले घर खर्चसँगै १ छोरा र १ छोरीलाई राम्रो विद्यालयमा पढाउन सफल भएकी छन् ।
‘व्यवसाय गरेदेखि अरुको शरणमा झुक्नु परेको छैन,’ उनले भनिन्, ‘श्रीमानको हौसला र सहयोगले आज म सफल व्यवसाय बनेकी हुँ ।’ उनले व्यवसायबाटै आम्दानी गरेको रकमले घर बनाएर आफ्नै घरमा व्यवसाय गर्ने सोच बनाएकी छन् ।
मीनाले गरिबी निवारण कोषको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्वारा सञ्चालित जनसहभागितामूलक गरिबी निवारण कार्यक्रमअन्तर्गत बाँसगढी खनाल चोकको उत्तरतर्फ खानेपानी ट्यांकी जाने बाटोमा दुई वर्षदेखि श्रृष्टी पुस्तक पसल सञ्चालन गरिरहेकी छन् ।
मीना मलेखु सामुदायिक संस्था दमौलीकी अध्यक्षसमेत हुन् । संस्थाले वगीकरणको आधारमा व्यवसाय गर्नका लागि घुम्ती कोष परिचालन गर्ने क्रममा आफू पनि अति गरिब वर्गमा परेकाले व्यवसाय सञ्चालन गर्न सहयोग पाएको उनको भनाइ छ ।
गरिबी निवारण कार्यक्रमबाट मासिक १ प्रतिशत ब्याजदरमा कर्जा पाएपछि आफूलाई व्यवासाय गर्ने हौसला मिलेको उनले बताइन् । उनले कर्जाको सही सदुपयोग गरेर कुनै न कुनै व्यवसाय सञ्चालन गरे पक्कै सफल हुने बताउँछिन् ।
मीनाले सामुदायिक संस्था तथा समुहमा आवद्ध महिलाहरुलाई चुलोचौकोमा मात्रै नरहेर आयमूलक काम गरेर स्वरोजगार बन्न समेत आग्रह गरेकी छन् । बेलौलीमा गठन भएको सामुदायिक संस्थामा १६ महिला र १ पुरुष गरी १७ जना छन् ।
उनीजस्तै सामुदायिक संस्थाका अन्य सदस्यहरुले पनि विभिन्न आर्यआर्जनका व्यवसाय अंगालेका छन् ।









प्रतिक्रिया दिनुहोस्