कोहलपुर,२० चैत/ व्यवसायिक रुपमा पशुपालन गर्दा आम्दानी राम्रो हुने भन्दै किसानहरुलाई उन्नत जातको पशुपालन गर्न अनुरोध गरिएको छ । बाँकेमा पशुपालका दृष्टिले राम्रो मानिएको राप्तीसोनारी गाउँपालिकाका किसानहरुलाई उन्नत जातको पशुपालन गरी आयस्तर बढाउन अनुरोध गरिएको हो ।
किसानहरुलाई पशुपालमार्फत आत्मनिर्भर बनाउने र पशुुपालनका लागि आवश्यक प्राविधिक ज्ञान दिने उद्देश्यले आयोजना गरिएको पशुपालन तालिममा किसानहरुलाई यस्तो अनुरोध गरिएको हो । राप्तीसोनारी गाउँपालिकाका किसानलाई गाई भैंसी पालन सम्बन्धी तालिम दिइएको छ ।
राप्तीसोनारी पशु सेवा शाखाको आयोजनामा गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मका १८ जना किसानलाई तालिम दिइएको हो । उक्त तालिमको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
तालिमको उद्घाटन गर्दै प्रमुख थारुले उन्नत जातको गाई भैँसी पालेपछि मात्र किसानको आर्थिक अवस्था बलियो हुने भन्दै किसानलाई गाई र भैँसी पालनमा आर्कषित गरेर राप्तीसोनारीलाई दुधमा आत्मनिर्भर गराउन गाउँपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
गाउँमा अझैपनि परम्परागत तरिकाले गाई र भँैसी पालन गर्ने प्रवृत्ति यथावत् रहेको भन्दै उनले नयाँ जातका गाई भैँसी पाल्न किसानलाई आग्रह गरे । उक्त अवसरमा अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्लले उन्नत जातको गाई भैँसी पालेर आत्मनिर्भर बन्न किसानलाई अनुरोध
गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्