राधापुरका किसान तरकारीखेतीमा आकर्षित



नेपालगञ्ज,१९ चैत/ बाँकेको खजुरा गाउँपालिका–१ राधापुरका किसानहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

राधापुरका किसानहरुको आवश्यकता अनुसार खजूरा गाउँपालिकाको सहयोगमा समृद्धिका पाइलाले वडा कार्यालयसँगको सहकार्यमा तरकारी खेती सम्बन्धि तालिम आइतबारदेखि राधापुरमा सुरु गरेको हो ।

तालिममा व्यावसायिक तरकारी खेती गर्ने सोच बनाएका ४० जना किसानहरुको सहभागिता रहेको छ । सैद्धान्तिक र व्यवहारिक गरी एक हप्ताको तालिमपछि किसानहरुले आ–आप्mना बारीमा बेमौसमी तरकारी खेती गर्ने भएका छन् ।

तालिमको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले सिचाईको सुविधा भएको राधापुर बेमौसमी तरकारी खेतीका लागि उपयुक्त भएको बताए ।

तालिमको उद्घाटनमा नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, कृषक समूह महासंघका केन्द्रीय सदस्य मगनसिंह थापा, खजुरा गाउँपालिका कार्यपालिकाका सदस्य फत्तेकुमारी जैसीले जीवन निर्वाहमुखी खेतीबाट माथि उठेर ब्यावसायिक तरकारी खेती गर्न सके किसानको वास्तविक समृद्धि हुने बताए ।

तालिममा खजूरा गाउँपालिका कृषि शाखाका राधिका पौडेल र अंकित बिश्वकर्माले सहजिकरण गर्नुभएको छ । खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लका अनुसार तालिममा सहभागी किसानलाई व्यवसायिक खेतीका लागि उन्नत जातको बिउ लगायतको अन्य सहयोग गरिनेछ ।

समृद्धिका पाईलाका अध्यक्ष किरण ढकालका अनुसार किसानलाई ब्यवसायिक खेतीमा सहयोग गर्न राधापुरमा माटो परीक्षण समेत गरिने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १९ गते सोमबार