नेपालगञ्ज,१० चैत/ नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० को वडा कार्यालयले आफ्नाे वडामा सञ्चालनमा रहेका निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउने महत्वपूर्ण कार्यको थालनी गरेको छ ।
पटक–पटकको छलफल पछि शनिबार वडा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा मनिकापुरमा सञ्चालनका रहेका संस्थागत विद्यालयका सञ्चालकहरुको बैठकले शुल्कलगायतका विषयमा एकरुपता ल्याउने निर्णय गरेको हो ।
संस्थागत विद्यालयले मनपरि शुल्क लिँदा अभिभावक मारमा पर्न थालेपछि वडा कार्यालयले शुल्कमा एकरुपता ल्याउने गरी पहलकदमी थालेको हो ।
शनिबार संस्थागत विद्यालयका संचालकहरुको बैठकले वर्गिकृत भएका र नभएका विद्यालयले लिने भर्ना शुल्क र मासिक शुल्कका विषयमा सर्वसम्मत निर्णय गरेको छ । जस अनुसार पिजीमा ‘ख’ वर्गमा रहेका विद्यालयले एक हजार ५००, ‘ग’ वर्गमा परेकाले एक हजार ३०० र वर्गिकरणमा नपरेका विद्यालयले एक हजार रुपैयाँ शुल्क लिन पाउने भएका छन् । जसमा नास्ता समेत समावेश गरिएको छ ।
यसैगरी नर्सरीमा ‘ख’ वर्गले १ हजार १ सय ५०, ‘ग’ वर्गले ९०० र वर्गिकरणमा नपरेको विद्यालयले ७ सय ५० रुपैयाँ मात्रै शुल्क लिन पाउने छन् ।
यसैगरी कक्षा १० मा ‘ख’ वर्गले २ हजार ६०० र ‘ग’ वर्गले दुई हजार रुपैयाँ मात्रै शुल्क लिने निर्णय गरिएको छ । यसैगरी बैठकले भर्ना शुल्क विद्यालय अवधिमा एक पटक मात्रै लिन पाउने र वार्षिक शुल्क दुई महनाको भन्दा धेरथोर गर्न नपाउने सहमति भएको छ ।
यसैगरी एक विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुने विद्यार्थीका लागि निर्वाधरुपमा चारित्रिक लगायतका अन्य प्रमाणपत्र उपलब्ध गराउने सहमति भएको छ ।









प्रतिक्रिया दिनुहोस्