कोहलपुर,२५ फागुन/ राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिले बालविवाहमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन्।
गाउँपालिकाका पदाधिकारीहरुले बालविवाहको भोजमा सरिक नहुने बताए। ‘बालविवाहविरुद्ध हामी खरो रुपमा उत्रिन्छौं,’ गाउँपालिका अध्यक्ष लाहुराम थारुले भने, ‘कोहीले पनि बालविवाहमा गएर भोज खादैनौँ। बालविवाह रोक्छौं।’
गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री, वडाध्यक्ष तथा सदस्यहरुले सामूहिक रुपमा नै बालविवाहविरुद्ध खरो रुपमा उत्रिने बताए।
उनीहरुले गाउँमा बालविवाह हुन नदिने बताए। कहीँ बालविवाह भएको थाहा पाउने बित्तिकै आफूहरुलाई खबर गर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन्।
बालविवाहलाई कानुनले अपराध मानेको छ। बिहेवारी महलमा केटा र केटीको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्न योग्य भनिएको छ।
बाँकेमा बालविवाह अधिक छ। धर्म, संस्कार, परम्परा, रीतिरिवाजका नाममा बालविवाह भइरहेका छन्। बालविवाह गराउन समाजका ‘ठूल्ठूला मान्छे’ नै लागेको पाइएको बेलामा राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिको प्रतिबद्धताले त्यसविरुद्ध लागेकालाई उत्साहित बनाएको छ। पछिल्ला दिनमा बाँकेमा बालविवाह हुन थालेपछि बाल क्लवले प्रहरीलाई खबर गर्ने र प्रहरीले गएर रोक्ने काम भइरहेको छ।
फागुन ६ गते गाउँकै कोहीको सूचना आधारमा कारकादोको १९ वर्षीया सरिताको विवाह रोक्न प्रहरी पुगेको थियो। यद्यपि, त्यही विवाहको केही दिनअघि गाउँमै दुई जनाको बालविवाह भएको स्थानीयले बताएका थिए।
‘अस्ति त्यहाँ दुई जनाको बालविवाह भयो, तपाईहरु आउनु भएन, आज हाम्रो छोरीको विवाह किन रोक्नु हुन्छ?’ सरिताका आफन्तहरुले प्रहरीसँग भनिरहेका थिए। त्यसबाट के देखिन्छ भने दूरदराजमा अहिले पनि बालविवाह भइरहेका छन्।
राप्तीसोनारीजसरी सबै स्थानीय निकायले बालविवाहविरुद्ध उत्रिने घोषणा गरिदिए बालविवाह रोकिने अभियान्ताहरु बताउँछन्।








प्रतिक्रिया दिनुहोस्