यातायात महासंघका पदाधिकारीलाई स्वागत



कोहलपुर,२४ फाुगन/  बाँकेको कोहलपुरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्र नाथ कर्माचार्य लगायतका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।

हालै चितवनमा सम्पन्न भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष योगेन्द्र नाथ कर्माचार्य, उपाध्याक्ष सानुकाजी प्रजापति, सचिव शम्भु प्रसाद रिजाल र सदस्य गोविन्द पौडेललाई बाँकेको कोहलपुरमा रहेका नमस्ते नेपाल यातायात व्यवसायी संघ, बागेश्वरी बस व्यवसाय समिति, बाँके ट्रक तथा मिनि बस व्यवसायी समितिले स्वागत तथा सम्मान गरेका हुन् ।

नमस्ते नेपाल यातायात व्यवसायी संघको कार्यालयमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्र नाथ कर्माचार्यले विभिन्न प्रकारका दुर्घटनाका घटनाले व्यवसायीहरुलाई राज्यले दुःख दिईरहेको बताउँदै यस्ता गतिविधिहरुलाई न्यूनिकरण गर्नका लागि महासंघले विशेष नीति लिने बताएका छन् । साथै उनले नयाँ सोचका साथ यातायात व्यवसायीलाई अगाडि लैजाने र त्यसका लागि सबैको साथ र सहयोग चाहिने बताए ।

कार्यक्रममा बोल्दै नमस्ते नेपाल यातायात व्यवसायी संघ अध्यक्ष निम बहादुर चलाउने ले यातायात व्यवसायको दिगो विकासका लागि यातायात व्यवसायहरु एक हुनुपर्ने र राज्यले यातायात व्यवसायीहरुका पक्षमा विशेष नीति लिनका लागि महासंघले दवाव दिनुपर्ने बताए । कार्यक्रममा यातायात व्यवसायीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २४ गते बिहीबार