बर्दिया,२३ फागुन/ बर्दियाको गुलरियामा सार्वजनिक शौचालयको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी एक दिने जिल्ला स्तरीय तालिम मंगलवार सम्पन्न भएको छ ।
यु.एन.ह्याविटाटको सहयोग आई.डि.एस.नेपाल र मायुस बर्दियाको सहजीकरण तथा जिल्ला खानेपानी, सरसफाइतथा स्वच्छता समन्वय समितिको आयोजनामा सदरमुकाम गुलरियामा सो तालिम सम्पन्न भएको हो ।
सार्वजनिक शौचालयहरुको सञ्चालन र व्यवस्थापनको अबस्थाका बारेमा समिक्षा गर्दै समयसापेक्ष रुपमा सार्वजनिक शौचालयहरुको सरसफाइ, प्रयोगकर्ता मैत्रीपक्ष र दीगो व्यवस्थापनमा लाग्न प्रेरित गर्ने उद्देश्यका सञ्चालित तालिमको जिल्ला समन्वय समितिका वरिष्ठ अधिकृत पार्वती पंडितले उद्घाटन गर्दे पूर्ण सरसफाइ लक्ष्य हासिल गर्न सबै लाग्नु पर्ने बताइन् ।
कार्यक्रममा खानेपानीतथा सरसफाइ सवडिभिजन कार्यालयका प्रमुख दिलीप कुमारले जिल्लाका सबै सार्वजनिक शौचालयहरुको समूचित प्रयोग र व्यवस्थापनमा लाग्न सबैमा आग्रह गरे ।
यु.एन ह्याविटाटका जिल्ला संयोजक बिष्णु कुमारी दवाडीले सन २०२० सम्ममा बर्दिया जिल्लालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्नका लागि घरायसी, संस्थागत तथा सार्वजनिक शौचालयहरु प्रयोगकर्तामैत्री, सफा र दिगो सञ्चालन तथा व्यवस्थापन गर्ने परिपाटीको विकास हुनु आवश्यक रहेको बताइन् ।
तालिमका मुख्य प्रशिक्षक श्रीरेन्द्र प्रकाश पोखरेलले नेपालमा सार्वजनिक शौचालयहरुको प्रयोगको अवस्था, राम्रा र कमजोरी पक्षहरु, बर्दिया जिल्लामा सार्वजनिक शौचालयहरुको समूचित प्रयोग हुन नसक्नुका कारणहरु, पिसाबलाई मलको रुपमा प्रयोग गर्न सकिने इकोसान पद्दतिको बारेमा सहजीकरण गरेका थिए ।
यस्तै यु.एन ह्याविटाटका जिल्ला संयोजक बिष्णु कुमारी दवाडीले पूर्ण सरसफाइ मार्गदर्शनका र आइ.डि.एस नेपालकाजिल्ला संयोजक तारा बहादुर खातीले सरसफाइ नमुना समुदायको बारेमा सहजीकरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्