बाँसगढी ईलाका प्रशासनको भवन निर्माण अन्यौलमा



रावन विश्वकर्मा : बर्दिया,१६ फागुन/    ईलाका प्रशासन कार्यालय बाँसगढीको दिर्घकालिन भवन निर्माणमा अन्यौलमा परेको छ । कार्यालयको नाममा जग्गा दाताले जग्गा उपलब्ध गराए पनि बाँसगढीका नागरिकको विरोधका कारण लामो समय सम्म पनि जग्गा दर्ता हुन सकेको छैन ।

बाँसगढी बजारदेखि ३ किलो मिटर पश्चिम बाँसगढी वडा नम्बर ८ ककौरा अन्र्तगत पुर्वपश्चिम राजमार्ग मै सटिएको कृष्ण प्रसाद अर्याल र लक्ष्मी देबी पौडेलले १÷१ कठ्ठा जग्गा दिने सहमतीपछि सबै प्रक्रिया पुरा गरी २०७४ माघ १४ गते नापी शाखा गुलरियामा दर्ताको लागी गएको अवस्थामा पनि बाँसगढीका नागरिकले २ दिन भित्रमा बाँसगढी मै जग्गा उपलब्ध गराउँछौ भन्दै विरोध गरेपछि कार्यालयको नाममा जग्गा दर्ता हुन नसकेको बाँसगढी वडा नम्बर ८ का वडा अध्यक्ष तुलप्रसाद गौतमले बताए ।

बाँसगढीका नागरिकले २ दिन भित्र जग्गा खोज्छौ भन्दै विरोध गरे पनि १ महिना बितिसक्दा पनि जग्गाको टुंगो लागेको छैन । यता वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरीले भने यस विषयमा छलफल भइरहेको तर आफुलाई खासै थाहा नभएको प्रतिक्रिया दिए । बाँसगढी उद्योग वाणिज्य संघ बाँसगढीका अध्यक्ष कटक वि सि सँग यस विषयमा कुराकानी गर्दा सबैलाई सहज हुने बाँसगढी नै भएकाले कार्यालय बाँसगढीमै हुनु पर्ने बताए । तर जग्गाको बिषयमा आफु खासै जानकार नभएको बताए ।

बाँसगढी नगरपालीकाका नगर प्रमुख सालिकराम अधिकारीले भने यस विषयमा अहिले कुनै निर्णय नभएको प्रतिक्रिया दिए । उनले बैठक बस्नु पर्ने भए पनि अझै बैठक नबसेको बताए । स्थानीय सरकार भइसकेको कारणले नगरपालिका भित्र हुने सम्पुर्ण कार्यालयहरु कहाँदेखि कहाँ सम्म राख्दा उपयुक्त हुन्छ
पहिला त्यसको मापदण्ड बनाउने र मापदण्ड भित्र जताजता कार्यालय पर्छ आफ्नो दलको स्वीकार्य हुने माओवादी केन्द्रका नगर संयोजक भिम खत्रीले
बताए । नेपाली काँग्रेसका बाँसगढी नगर सभापति गोबिन्द प्रसाद शर्माले पनि स्थानीय सरकार भइसकेपछि सबै सरकारी कार्यालयहरुको सुचिकृत गरेर जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरु एकै ठाँउमा हुनुपर्ने बताए ।

उनले अहिले राजनीतिक दलहरुले निर्णय गर्ने कुरा नभएकाले स्थानीय सरकार गठन भइसकेपछि स्थानिय प्रमुखहरुले नै यस बारेमा सोच्नु पर्ने बताए । ईलाका प्रशासन कार्यालय बाँसगढीका सूचना अधिकारी मोहन प्रसाद लम्सालले अहिलेसम्म ककौराका जग्गा दाताहरुको आधिकारिक एक मात्र निवेदन परी सबै प्रक्रिया पुरा गरी दर्ताको लागि नापी कार्यालयसम्म पुगे पनि वडा नम्बर ५ का नागरिकको बिरोधका कारण जग्गा दर्ता हुन नसकेको बताए ।

उनले एक मात्र आधिकारिक निवेदन परेकाले दर्ताको प्रक्रियामा रहेको बताए । कार्यालयको भवन निर्माण गरी दिर्घकालिन भौतिक संरचना निर्माणका लागि जग्गा नभएकाले जग्गा निशुल्क दानका लागि २०७३ फागुन २० गते १ महिने सुचना प्रकाशित गरी निशुल्क जग्गा माग गरिएकोमा बाँसगढी ८ ककौराबाट एक मात्र निबेदन परेको थियो । सो निवेदनको आधारमा ईलाका प्रशासन कार्यालय बाँसगढीको स्वामित्व प्राप्तीका लागि गृह मन्त्रालयको २०७४ पौष ९ सचिव स्तरिय बैठकबाट सहमती पनि दिइ सकिएको, बाँसगढी नगरपालिकाले पनि २०७४ साउन ५ गते पासका लागि सिफारिस दिइसकेको छ । २०७३ जेष्ठ २६ गते गृहमन्त्री शक्ति बहादुर बस्नेतबाट बाँसगढीमा कार्यालयको उद्घाटन गरिएको थियो ।

कार्यालयबाट नागरिकता, राहादानी, तथा सिफारिस तथा प्रमाणित, नावालक परिचय पत्र र यस क्षेत्रको शान्ति सुरक्षा समेतमा सहयोग पु¥याउने
उद्देयले कार्यालय स्थापना भएको कार्यालयका प्रमुख महेन्द्र जंग शाहीले बताए । कार्यालयको स्थापना हुन पुर्व बर्दिया क्षेत्र नम्बर १ को लागि बाँसगढीमा आएकोमा हाल बाँसगढी नगरपालिकालाई मात्र सेवा प्रदान गर्दै आएको छ । गुलरिया भन्दा पायक पर्ने ठाँउ बारबर्दियाको ९,१०, ११ वडा, बड्ैयातालको साविक सोरहवाको केही वडा भए पनि बाँसगढी नगरपालिकालाई मात्रै साघुँरो दायरामा सेवा दिइरहेको देखिन्छ ।

कार्यालय अहिले एस.ओ.एस चोकमा रहेको सबिन कुमार थापाको घरमा मासिक १३ हजार ५ सय भाडामा सञ्चालन भइरहेको छ । हरेक कार्यालयलाई प्रभावकारी बनाउने कुरामा स्थानीय सरकारले बेलैमा चासो देखाई गम्भिरता पुर्वक नसोचे दिर्घकालिन रुपमा दिगो विकास, सेवा प्रभाह र समृद्धिमा समेत ठुलो असर पर्ने देखिन्छ ।

नगरपालीकाले नगर भित्र रहेका सरकारी कार्यालयहरुको सुचिकृत गरी कार्यालयहरु कुन कहाँ रहने भन्ने मापदण्ड अझै बनाएको देखिदैन । ईलाका प्रशासन कार्यालय बाँसगढी मै उपयुक्त हुने भए पनि जग्गा दाताहरुको टुग्गो लाग्न समेत सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १६ गते बुधबार