६८औं प्रजातन्त्र दिवस भव्य रुपमा मनाउने तयारी



कोहलपुर,४ फागुन/  यही फागुन ७ गते ६८औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाउन कोहलपुर नगरपालिकाले सरोकारवाला सबैसंग बिहिबार छलफल गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसलाई फागुन ६, ७ र ८ गते मनाउने भनी गृहमन्त्रालयको चलानी नम्बर ८०७ को पत्र प्राप्त भएसंगै कोहलपुर नगरपालिकाले गृहमन्त्रालयले गरेको परिपत्रअनुसार कार्यक्रा गर्ने गरी कोहलपुरमा रहेका राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरु, विद्यालयका शिक्षकहरु, संघ–संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुसंग कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले छलफल गरेका छन् ।

कार्यक्रममा झाँकी, ¥याली, खेलकुद, प्रवचन, गोष्ठी, सरसफाई आदि कार्यक्रमहरु गर्ने गृहमन्त्रालयको पत्रमा उल्लेख गरिएको छ । कोहलपुर नगरपालिकाले यी कार्यक्रमहरुमध्ये फागुन ६ गते बिहान ७ बजे कोहलपुर बसपार्कमा सरसफाइ गर्ने, ७ गते बिहान साझाचोकदेखि चौराहासम्म प्रभातफेरि निकाल्ने, सोही दिन ११ बजे विद्यालयसंगको पुरस्कार वितरण कार्यक्रम गर्ने र साँझ चौराहामा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको कोहलपुर नगरपालिकाका प्रमुख रावतले जानकारी गराएका छन् ।

साथै रावतले नगर सरकार प्रमुखको हैसियतले सबै जनप्रतिनिधिहरु, कोहलपुरस्थित सबै सरकारी कार्यालयक प्रमुखहरुलाई राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा अनिर्वाय उपस्थितिको लागि आग्रह समेत गरेका छन् ।

विद्यालय तथा विभिन्न संघ–संस्थाहरुलाई आफ्नो पहिचानसहित कार्यक्रममा सहभागी हुन आग्रह समेत गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार