सनातन धर्म संस्कृतिको संरक्षण राष्ट्रको दायित्व होः प्रधानमन्त्री देउवा



काठमाडौँ, २१ माघ/  प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको सहयोगार्थ आजदेखि शुरु भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले शैक्षिक एवं धार्मिक संस्थाको पूर्वाधार निर्माण गर्न सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।

“सबै क्षेत्रमा सरकारले नै काम गर्न सक्दैन, स्थानीयवासी एवं सरोकार भएका अन्य निकायको पनि सहयोग लिनुपर्छ, विद्यालय र स्थानीय मठमन्दिर निर्माणका लागि स्थानीयवासीले पनि सकेको योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले राजधानीमा भएर पनि पिछडिएको क्षेत्रको शिक्षा एवं जीवनस्तर सुधारका लागि यज्ञका माध्यमबाट सहयोग जुटाउन आह्वान गर्नुभयो । काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले शिक्षा क्षेत्रको सुधारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २१ गते आइतबार