एमालेलाई सरकारमा आउन हतारो भएको हो : प्रधानमन्त्री



काठमाडौं,१७ माघ/ प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताएका छन् ।

बुधबार नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने आफ्नो दायित्व भएको भन्दै निर्वाचन गराउन बनेको सरकारले संविधानतः निर्वाचन गराउँदा रोइकराइ गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

उनले देउवाले निर्वाचन गराएर मुलुकलाई समृद्ध बनाउने दिशामा लैजान सकेकोमा आफू सन्तुष्ट रहेको बताए ।

प्रधानमन्त्री देउवाले जनता जति सुसूचित हुन्छन्, त्यति नै मुलुकको विकास हुने भन्दै सन्चारमाध्यमले जनतालाई सुसूचित बनाउन लोकतन्त्रको पक्षमा खेलेको भूमिका अतुलनीय रहेको बताए ।

उनले नेपाल टेलिभिजनलाई अझै विश्वसनीय र जनमैत्री काम गर्न निर्देशन पनि दिए ।

कार्यक्रममा सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सातै प्रदेशमा नेपाल टेलिभिजनलाई विस्तार गर्न आवश्यक रहेको बताए ।

उनले सरकार पूर्णरुपमा सघाउन तयार रहेको भन्दै केही दिनभित्रै सिंहदरबार र पद्यकन्या क्याम्पसलाई वाईफाई फ्रि जोनकारुपमा विकास गरिने बताए ।

कार्यक्रममा एमाले नेता योगेश भट्टराईले नेपाल टेलिभिजनले लोकतन्त्र र स्वतन्त्रताका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

imagekhabar.com

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार