कृष्णसार संरक्षणमा सरोकारवालो चासो



प्रेम विश्वकर्मा, बर्दिया,९ माघ/ प्राकृतिक अवस्थामा रहेको दुर्लव जनावर कृष्णसारको उचित संरक्षणका लागि बर्दियामा संयुक्त पहल थालिने भएको छ । गुलरिया नगरपालिका वडा नम्बर १, २, ३, र ४ का जनप्रतिनिधि सँगै अन्य सरोकारवाला निकायले पनि अब हातेमालो गदै जाने भएका हुन् ।

सडक देिख सदन सम्म कसरी संरक्षणका बारेमा अवगत गराउन सकिन्छ भन्ने बारेमा आन्तरिक र बाह्य छलफलहरु भइरहेको बर्दियाका जनप्रतिनिधिहरुले बताएका छन् । कृष्णसार एक दुर्लव जनावर हो ।

बर्दियाको गुलरिया नगरपालिका अन्तरगत रहेका १ देखि ४ वडाका विभिन्न गाउँवस्तीको बीच भागमा पर्ने खुला मैदानमा यसको बसोबास छ । उचित बासस्थान, चरीचरनको अभाव, प्राकृतिक प्रकोप लगायतका समस्याले अहिले संकटमा परेको देखिन्छ ।

वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार यादव, स्थानीय अगुवा दिपक फडेरा, भेषराज भुषाल र बबई कृष्णसार उपभोक्क्ता समितिका अध्यक्ष कुल प्रसाद सुवेदीले बस्ती व्यवस्थापन बाहेक अर्को विकल्प नभएको बताए ।

संरक्षणको उद्देश्य नीति अनुसार न त कृष्णसारको उचित संरक्षण हुन सकेको छ । न त स्थानीयको जिविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको छ । कतिपय स्थानीय भन्छन, “हामीलाई सम्मान जनक व्यवस्थापन गर्नुहोस् ।

हामीले नै यसको संरक्षण गरेका हौं । आफना छोरा–छोरी सरह हुर्कायौं बढायौं । अहिले हामीलाई नै पिरोलो भइरहेको छ ।” कृष्णसारको उचित संरक्षण, व्यवस्थापनमा मुख्य गरी संरक्षण क्षेत्र भित्र पर्ने बस्ती, बाढी प्रकोप, भुष्साहा कुकुर, चितुवा र चरीचरन चुनौतिका रुपमा रहेको पाइन्छ ।

१ सय ४२ घरधुरीको हाराहारीमा रहेका बस्तीहरुको जब सम्म उचित व्यवस्थापन हुन सक्दैन । तब सम्म संकटमा रहेको दुर्लव जनावर कृष्णसारको पनि संरक्षण हुन नसक्ने वडा नम्बर २ का वडाध्यक्ष टंक प्रसाद अधिकारी, संरक्षणकर्मी मुल चन्द्र यादव र युवा राजनीतिकर्मी गेहेन्द्र ढकालले बताए ।

कृष्णसार संरक्षण क्षेत्रलाई एउटा यस क्षेत्रकै पर्यटकिय गतन्व्यका रुपमा विकास गरी बर्दियालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तह सम्म चिनाउने उनीहरुको धारणा छ । १६.९५ वर्ग कि.मि. क्षेत्रलाई नेपाल सरकारले बि.स.२०६५ फागुन २३ गते अर्थात (सन् २००९) मा कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको थियो ।

त्यस यता धेरै पहल त भए तर प्रभावकारी वन्न सकेन्न । सबैले अपनत्व महसुस गर्ने गरी वृहत काम सँगै व्यापक प्रचार–प्रसारमा जोड दिइनु पर्ने वडा नम्बर एकका वडाध्यक्ष प्रताप कुमार गौतम, नेपाल पत्रकार महासंघ बर्दिया शाखा अध्यक्ष राजेन्द्र प्रसाद धिताल र प्रेस क्लव अफ नेपाल (पीसीएन) का केन्द्रीय अध्यक्ष यम घिमेरेले बताए ।

उता वडा नम्बर ४ का वडाध्यक्ष राम बहादुर रावलले आफुहरुलाई राज्यले पूुर्ण अधिकार दिए विकल्प सहित बस्ती ब्यवस्थापन गरी कृष्णसारको उचित संरक्षण गरिने दाबी गरे । उनले भने, “राज्य हामीलाई पुर्ण अधिकार देओस ।

यसको संरक्षण र विकास गर्न सक्छौं । हामी सँग बस्ती व्यवस्थापनकै लागि पनि थुप्रै विकल्पहरु छन ।” अहिले कृष्णसार संरक्षण क्षेत्र वरिपरि तारजालीले घेरिएकोे छ भने कृष्णसार र स्थानीय बासी एउटै तारजाली भित्र बसोबास गरिरहेका छन ।

विद्यमान समस्याको निकास निकाल्ने गरी कार्यालयको तर्फबाट फेरि दोहेराएर प्रक्रिया अघि बढाइएकोले सक्दो सहयोग गर्न सबैलाई संरक्षण अधिकृत पुरुर्षोतम शर्माले आग्रह गरेका छन । उनले भने, “खासमा पहिलो बस्तीको उचित व्यवस्थापन गरी कृष्णसार संरक्षण क्षेत्र घोषणा गरिनु पर्दथ्यो । तर त्यसो हुन सकेन । यो दुर्भाग्यको कुरा हो ।

अब सर्वपक्षिय पहलमा मात्र संम्भव छ ।” पर्यटकीय सम्भावना बोकेको बर्दियाको खैरापुर वरपरको ठाउँमा अवस्थित कृष्णसार संरक्षणमा बस्ती तगारो बनिरहेको छ । हाल २ सय ७ वटा कृष्णसार रहेका छन ।

चालु आर्थिक वर्ष २०७४÷०७५ को अवधिमा पनि नियमित कार्यक्रम बाहेक संरक्षण र ब्यवस्थापन सम्बन्धि बजेट तथा अन्य कार्यक्रमहरु त्यति देखिदैन । स्थानीय तहले पनि खास्सै चासो चिन्त्ता व्यक्त गरेको पाइदैन ।

वडा नम्बर २ ले भने कृष्णसार संरक्षणका नाममा रु ५ लाख रुपैया विनियोजन गरेको उल्लेख छ । गत आर्थिक वर्ष २०७३÷०७४ मै बस्ती ब्यवस्थापनको काम सक्ने गरी कृष्णसार संरक्षण क्षेत्र खैरापुर बर्दियाले स्थानीय स्तरमा पहल थालेको थियो ।

तर केन्द्रीय तह र स्थानीय तहमा तालमेल नमिल्दा नेपाल सरकारले विनियोजन गरेको रु ६० लाख रकम फ्रिज भई फिर्ता गएको स्थानीयको गुनासो छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार