सुदीप अधिकारी : बर्दिया,६ माघ/ बर्दिया निकुञ्जमा बाघ गणना कार्य भइरहेको छ । गणनाका लागि निकुञ्जमा ठाउँ ठाउँमा आधुनिक स्वचालित क्यामेरा जडान गरिएको छ । बाघको फोटो खिच्नका लागि राखिएका ती क्यामेर जोगाउनै निकुञ्जलाई धौ–धौ भएको छ ।
वन पैदवार तथा वन्यजन्तु चोरी शिकारी गर्ने व्यक्तिहरुबाट क्यामेरा जोगाउन गाह्रो भइरहेको निकुञ्जले जनाएको छ । अवैधरुपमा निकुञ्ज प्रवेश गर्ने व्यक्तिले बाघ गणनाका लागि राखिएको क्यामेरा चोर्ने, तोडफोड गर्ने गरेको निकुञ्जको भनाई छ । गणना शुरु भएयता हालसम्म ७ वटा क्यामेरा चोरी भएको निकुञ्जका निमित्त संरक्षण प्रमुख अशोक भण्डारीले जानकारी दिए ।
निमित्त संरक्षण प्रमुख भण्डारीले भने, ‘निकुञ्जमा कडा निगरानी गरिरहेका छौं । तर पनि हामीलाई छलेर अवैध रुपमा निकुञ्ज पस्नेले हाल सम्म ७ वटा क्यामेरा चोरेर लगे ।’ चोरी शिकारीसँगै वन्यजन्तुले पनि क्यामेरा नोक्सान गर्ने गरेको गणनामा खटिएका कर्मचारी बताउँछन् ।
बाघ, गैँडा, बाँदरले क्यामेरालाई क्षती पु¥याउने गरेको गणनामा खटिएका एक कर्मचारीले बताए । निकुञ्ज स्रोतका अनुसार सन् २०१६ मा बाघ गणना गर्दा १३ वटा क्यामेरा चोरी शिकारीले र १४ वटा क्यामेरा वन्यजन्तुले नोक्सान गरेका थिए ।
वन्यजन्तु आवतजावत गर्ने संभावित स्थानको दुबैतर्फ स्वचालित क्यामेरा जडान गरिएका छन् । क्यामेरा जडान भएको स्थानबाट वन्यजन्तु, मानिस जो केही पनि हिडेमा क्यामेरामा कैद हुन्छन् । चोरी शिकारका लागि निकुञ्ज पसेका व्यक्तिले क्यामेरा राखेको थाहा पाउँदैनन् ।
अनि त्यही बाटो भएर हिड्दा उनीहरुको फोटो क्यामेरामा कैद हुने गर्छ । फोटो खिच्दा बत्ती बले पछि बल्ल उनीहरुले थाहा पाउँछन् । फोटा कैद भएपछि पक्राउ पर्ने डरले चोरीसिकारीले क्यामेरा नै चोर्ने, तोडफोड गर्ने र मेमोरी कार्ड झिकेर लैजाने गरेको निकुञ्जको भनाई छ ।
‘क्यामरा ट्रयापिङ्ग’ प्रविधिको प्रयोग गरी निकुञ्जमा बाघ गणना भइरहेको छ । बाघ गणनाका लागि बर्दिया र बाँके निकुञ्ज क्षेत्रलाई ३ ब्लकमा विभाजन गरिएको छ । गणनाका लागि १० वटा समूह बनाइएको छ । हरेक समूहमा ८÷८ जना प्राविधिक सहित केही सहयोगी पनि रहेका छन् ।
बाघ गणनाका लागि २ सयदेखि २ सय २० क्यामेरा जडान भएका छन् । ती क्यामेरा निकुञ्ज भित्र दुई–दुई किलोमिटरको दुरीमा जडान गरिएका छन् । एक ठाउँमा १५ दिनसम्म क्यामरा रहने गर्छ ।
प्राविधिकहरुको टोलीले यसको नियमित अनुगमन र सूचना संकलन गर्ने छन् । गणना कार्यका लागि १ सय १२ जना प्रविधिक सहितको विशेषज्ञ टोली खटिएको निकुञ्जले जनाएको छ ।
क्यामेराले कैद भएको बाघको फोटोमा बाघको पाटा हेरेर बाघ संख्या यकिन गरिन्छ । बाघको वास्तविक संख्या पत्ता लागाउनुका साथै यसको अवस्था, वासस्थान र आहारा प्रजातीको बारेमा जानकारी प्राप्त गर्न निकुञ्ज बाघ गणना गर्दै आएको छ ।
सन् २०२२ सम्म बाघको संख्या दोब्बर अर्थात २ सय ५० पु¥याउने नेपालको लक्ष्य रहेको छ । पछिल्लो गणना अनुसार नेपालभरमा बाघको संख्या १ सय ५८ रहेको तथ्याङ्क छ । हाल बर्दिया निकुञ्जमा वयस्क ५०, अर्धवयस्क ६ र (डमरु)बच्चा २९ वटा गरी ८५ वटा बाघ छन् । अहिले यो संख्या अझै बढन सक्ने निकुञ्जको अनुमान छ ।









प्रतिक्रिया दिनुहोस्