मुख्यमन्त्रीदेखि मन्त्रीसम्मको सम्पत्ति सार्वजनिक



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित प्रदेश सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत सार्वजनिक विवरणमा मुख्यमन्त्री तथा मन्त्रीहरूको घरजग्गा, सुनचाँदी, बैंक मौज्दात, सेयर, सवारीसाधन र ऋणलगायतका विवरण समेटिएका छन् । सार्वजनिक विवरणअनुसार अर्थमन्त्री पछाईको नाममा जुम्ला र बर्दियामा गरी ३१ स्थान जग्गाजमिन रहेको छ भने मुख्यमन्त्री शाहीको परिवारका सदस्यका नाममा मुगुमा घर तथा ठूलो परिमाणमा पैतृक जग्गाजमिन रहेको उल्लेख छ ।

मुख्यमन्त्री शाहीले आफूसँग १० तोला सुन र १० तोला चाँदी रहेको विवरणमा उल्लेख गरेका छन् । उनले चार तोला सुन पैतृक सम्पत्ति भएको जनाएका छन् । यता आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको नाममा जुम्ला र बर्दियामा गरी ३१ ठाउँमा जग्गाजमिन रहेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ घर भएका पछाईसँग दुईवटा पुख्र्यौली घर छन् । उनका बुबाको नाममा गाउँका विभिन्न २८ ठाउँमा पुख्र्यौली जग्गा छ भने बर्दियाको राजापुर नगरपालिका–२ मा तीन ठाउँमा जग्गाजमिन रहेको विवरणमा उल्लेख छ ।

पछाईसँग २० तोला सुन र ५० तोला चाँदी छ । यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्कीको हुम्लाको सर्केगाड गाउँपालिका–२ मा घर रहेको छ । उनको सुर्खेतमा एक ठाउँ र हुम्लामा दुई ठाउँमा जग्गा छ । जग्गाजमिन पैतृक सम्पत्ति, व्यवसाय र ऋणबाट जोडेको उनले उल्लेख गरेकी छन् । कार्कीसँग १० तोला सुन, ११० तोला चाँदीका माला तथा २५ तोला तुथो, मुगा र मोतीका माला छन् । यी गहना पैतृक सम्पत्ति र दाइजोबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।

यता, सामाजिक विकासमन्त्री जितबहादुर मल्लको मुगुको छायानाथ रारा नगरपालिका–१ मा घर रहेको छ । उनीसँग चारवटा घर छन्, जुन व्यवसायबाट जोडेको विवरणमा उल्लेख छ । उनकी श्रीमती राधिकाको नाममा छायानाथ रारा नगरपालिकाका विभिन्न वडामा गरी १० ठाउँमा जग्गाजमिन छ । जग्गा खरिद गर्दा केही ऋण लिएको र केही रकम नोकरी तथा व्यवसायबाट जुटाएको उनले जनाएका छन् । मल्लसँग चार तोला सुन र पाँच तोला चाँदी छ ।

त्यस्तै, जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालको हुम्लाको अदानचुली गाउँपालिका–५ मा पुख्र्यौली घर छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा व्यवसायबाट खरिद गरेको जग्गा रहेको उनले उल्लेख गरेका छन् । हमालसँग दुई तोला सुन र ४० तोला चाँदी छन् । यी पैतृक सम्पत्ति भएको उनको विवरणमा उल्लेख छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ मा घर रहेको छ । उनको नाममा अंशबन्डाबाट प्राप्त चार कित्ता जग्गा छ ।

त्यस्तै, दाङमा १२० वर्गमिटर क्षेत्रफलको तीन लाख ६० हजार रूपैयाँँ मूल्य बराबरको घडेरी पनि अंशबन्डाबाट प्राप्त भएको उनले जनाएकी छन् । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाको रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१३ मा कच्ची पुख्र्यौली घर रहेको छ । उनको नाममा ११ कित्ता पुख्र्यौली जग्गा रहेको विवरणमा उल्लेख छ । रोकासँग दुई तोला सुन, तीन लाख रूपैयाँँ बराबरको सेयर र बैंकमा ९० हजार रूपैयाँँ मौज्दात छ । आफन्तबाट लिएको १२ लाख रूपैयाँँ ऋण तिर्न बाँकी रहेको उनले जनाएकी छन् ।

यसरी सार्वजनिक गरिएको सम्पत्ति विवरणमा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, सेयर, सवारीसाधन र ऋणको विवरण समेटिएको छ । विवरणमा सम्पत्तिको स्रोतका रूपमा पैतृक सम्पत्ति, अंशबन्डा, व्यवसाय, पारिश्रमिक, वैदेशिक रोजगारी, बिमा र ऋणलगायतका स्रोत उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार