आज दसैँको सातौँ दिनः घरघरमा फूलपाती भित्र्याइँदै



काठमाडौँ ।

नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज नवरात्रिको सातौँ दिन अर्थात् फूलपाती हो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको फूलपातीसँगै दसैँको उल्लास थप उत्कर्षमा पुगेको छ ।
घटस्थापनादेखि सुरु भएको नवरात्रिको धार्मिक अनुष्ठान फूलपातीका दिन विशेष महत्वका साथ अघि बढ्ने भएकाले आजको दिनलाई दसैँको प्रमुख दिनका रूपमा लिने गरिन्छ । फूलपातीको आगमनसँगै घरघरमा दसैँको चहलपहल बढेको छ । सरकारी कार्यालयमा सार्वजनिक बिदा सुरु हुने क्रमसँगै दसैँको टीका थाप्न आफ्नो जन्मघर तथा गाउँ फर्किनेको संख्या पनि बढ्न थालेको छ ।

रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका मानिसहरू घर फर्किन थालेपछि सडक, सार्वजनिक यातायातका साधन तथा बजार क्षेत्रमा समेत चहलपहल बढेको हो । संस्कृत सम्बन्धिका जानकारी विष्णुुप्रसाद रेग्मीका अनुसार दसैँ धार्मिक अनुष्ठानमा मात्रै सीमित छैन । दसैँ पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको प्रतीक बनेको उनले बताए । फूलपातीलाई दसैँको उत्सवले व्यापकता पाउने दिनका रूपमा लिनुुपर्ने उनको भनाइ छ ।

‘फूलपातीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा तथा दसैँघरमा अपराह्न विधिपूर्वक फूलपाती भित्र्याउने परम्परा छ,’ उनले भने, ‘घटस्थापनाका दिनदेखि वैदिक विधिअनुसार देवी दुर्गाको आह्वान गरी पूजाआजा भइरहेको दसैँघर वा पूजा कोठामा फूलपाती भित्र्याएर शक्तिको आराधना गरिन्छ ।’ उनका अनुसार फूलपातीका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने धार्मिक परम्परा छ ।

यी वनस्पति तथा पवित्र सामग्रीलाई नवदुर्गाका विभिन्न स्वरूप र शक्तिको प्रतीकका रूपमा लिइन्छ । फूलपाती भित्र्याउने कार्यलाई घरमा सुख, समृद्धि, शक्ति र शुभताको कामना गर्ने धार्मिक अनुष्ठानका रूपमा समेत बुझिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार फूलपातीलाई नवपत्रिकाका नामले समेत चिनिन्छ । नवपत्रिका नौ देवीको प्रतीक हो, जसलाई शास्त्रीय विधिअनुसार भित्र्याएर पूजा गर्ने वैदिक परम्परा रहिआएको छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक देवीका रूपमा मानिन्छन् । ‘शास्त्रीय मान्यताअनुसार सहायक देवीहरूले मूल देवीको शक्ति वृद्धि गर्न भूमिका खेल्छन्,’ उनले भने, ‘यही धार्मिक विश्वासका आधारमा फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन छुट्टै शुभ साइत आवश्यक पर्दैन ।’

गोरखाबाट हनुमानढोकासम्म फूलपाती ल्याउने परम्परा

काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा गोरखा जिल्लाबाट फूलपाती ल्याएर भित्र्याउने परम्परा छ । यो नेपाली दसैँको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा स्थापित भएको छ । यस परम्पराले गोरखा र काठमाडौँबीचको ऐतिहासिक सम्बन्धलाई समेत स्मरण गराउँछ । परम्पराअनुसार गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर समुदायका ६ जना व्यक्तिले फूलपाती ल्याउने गर्छन् । त्यसपछि जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण समुदायका ६ जनाले फूलपाती ल्याउने प्रचलन छ ।

जमल आइपुगेपछि फूलपातीलाई बाजागाजा, सांस्कृतिक नाचगान र परम्परागत सम्मानसहित हनुमानढोकास्थित दसैँघरमा भित्र्याइन्छ । निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, ब्याण्डबाजा तथा पञ्चेबाजासहितको लावालस्करले यस अवसरलाई विशेष उत्सवमय बनाउने गर्छ । यो परम्पराले नेपालको ऐतिहासिक राज्यव्यवस्था, सांस्कृतिक विविधता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्पराको निरन्तरतालाई पनि प्रतिनिधित्व गर्छ ।

राजतन्त्रदेखि गणतन्त्रसम्म निरन्तर फूलपाती समारोह

हनुमानढोकामा फूलपाती भित्र्र्याउने परम्पराले नेपालको राजनीतिक परिवर्तनसँगै आफ्नो स्वरूपमा केही परिवर्तन देखे पनि यसको सांस्कृतिक निरन्तरता कायम राखेको छ । राजतन्त्र कायम रहँदासम्म राज्य प्रमुखका रूपमा राजा हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने कार्यक्रममा उपस्थित हुने गर्थे । गणतन्त्र स्थापना भएपछि भने उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने परम्परा अघि बढेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

यसले राजनीतिक व्यवस्था परिवर्तन भए पनि धार्मिक तथा सांस्कृतिक परम्पराहरूलाई निरन्तरता दिने प्रयास भइरहेको छ । फूलपाती समारोह राज्यस्तरबाट समेत महत्व दिइने ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा रहँदै आएको छ । यस वर्ष फूलपाती शनिबार अपराह्न भित्र्याउने कार्यक्रम रहेको दसैँ पर्वको संयोजन गरिरहेका समितिले जनाएका छन् । फूलपातीको आगमनसँगै दसैँको पारिवारिक र सामाजिक पक्ष पनि थप जीवन्त बन्ने गर्छ । टाढाटाढा रहेका आफन्त घर फर्किने, घरआँगन सफा गर्ने, पूजाका सामग्री जुटाउने र टीकाको तयारी गर्ने क्रम तीव्र छ । ग्रामीण क्षेत्रमा समेत दसैँको स्वागतका लागि घरपरिवारमा विशेष तयारी भइरहेको छ ।

सार्वजनिक बिदा सुरु भएसँगै कामकाजबाट केही समय विश्राम लिएर परिवारसँग पर्व मनाउने अवसर प्राप्त हुने भएकाले फूलपातीलाई धेरैले दसैँको उत्सवपूर्ण सुरुवातका रूपमा लिन्छन् । यसरी फूलपाती धार्मिक आस्था, ऐतिहासिक विरासत, सांस्कृतिक पहिचान र पारिवारिक पुनर्मिलनको संगम बनेको छ । नवदुर्गाको आराधनासँगै घरघरमा भित्रिने फूलपातीले नेपाली समाजमा शक्ति, समृद्धि र शुभताको कामना जगाउँदै बडादसैँको उल्लासलाई थप उचाइमा पु¥याएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार