चितवन ।
चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पुर्याउन अनुसन्धान, प्रसार तथा शिक्षाबिचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।
कृषि विकास कार्यालय चितवनले शुक्रबार आयोजना गरेको कृषि प्रविधि, रोग–कीरा व्यवस्थापन तथा त्रिपक्षीय समन्वय गोष्ठीमा सहभागी वैज्ञानिक, प्राध्यापक, कृषि प्राविधिक तथा स्थानीय तहका कृषि शाखा प्रमुखले धानबालीमा देखिएका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहका निकाय, अनुसन्धान संस्था तथा शैक्षिक क्षेत्रबिच नियमित सहकार्य आवश्यक रहेको बताएका हुन् ।
गोष्ठीमा अनुसन्धान, प्रसार र शिक्षाबिच कार्यगत सम्बन्ध स्थापित गर्दै किसानका समस्या पहिचान गर्ने, प्राविधिक सेवा प्रभावकारी बनाउने तथा किसान, प्राविधिक र अनुसन्धानकर्ताबीच दुईतर्फी सूचना आदानप्रदानका लागि सहभागितामूलक संयन्त्र विकास गर्ने विषयमा छलफल भएको थियो ।कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ वैज्ञानिक अर्जुनप्रकाश पौडेलले नार्कबाट विकसित नयाँ प्रविधि, धानको क्षेत्रफल, उत्पादकत्व तथा पोषक तत्व व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । उनले धानखेतीमा नाइट्रोजन, फस्फोरस, पोटास र जिंकजस्ता पोषक तत्त्वको सन्तुलित प्रयोग गर्नुपर्ने बताउँदै ढैंचा र अजोलाजस्ता हरियो मलको प्रयोगबाट युरियाको खपत ५० प्रतिशतसम्म घटाउन सकिने जानकारी दिए।
जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई ध्यानमा राख्दै सुख्खा सहन सक्ने तथा रोग–कीरा प्रतिरोधी धानका जातको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । धानखेतीमा विषादीको मात्रा र प्रयोग विधिमा हुने त्रुटि, पानी व्यवस्थापनको कमजोरी, स्प्रेयर तथा नोजलको गलत छनोट, विषादी छर्कने समय नमिल्नु तथा उपकरणको उचित सफाइ नगर्नुजस्ता कारणले रोग–कीरा व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा बाली रोग विज्ञानका वैज्ञानिक शुकबहादुर गुरुङले धानमा लाग्ने मरुवा (ब्लास्ट), खैरो थोप्ले (ब्राउन स्पट), शीत डढुवा (शीथ ब्लाइट) तथा ब्याक्टेरियल डढुवा (ब्याक्टेरियल ब्लाइट) जस्ता रोगको समयमै पहिचान गरी व्यवस्थापन गर्नुपर्ने बताए । उनले स्वस्थ बीउको प्रयोग, बीउ उपचार, उचित खेत व्यवस्थापन तथा जैविक र आवश्यकताअनुसार रासायनिक विधि अपनाउनुपर्नेमा जोड दिए ।
कीट विज्ञानकी वरिष्ठ वैज्ञानिक डा सरस्वती न्यौपानेले पहेँलो गवारो, गुलाबी गवारो, सेतो गवारो, धर्के गवारो, फड्के कीरा, पात बेरुवा, थ्रिप्स तथा सेतो झिँगालगायतका कीराको प्रकोपबारे जानकारी गराउँदै एकीकृत कीरा व्यवस्थापन अपनाउनुपर्ने बताइन् । उनले धान काटेपछि खेत यथाशीघ्र जोतेर ठुटा नष्ट गर्नुपर्ने, केही दिन पानी जमाएर लाभ्रे नष्ट गर्न सकिने तथा गवारोका वयस्क पुतलीको निगरानीका लागि प्रकाश पासो र फेरोमोन पासो प्रयोग गर्न सकिने जानकारी दिइन् ।
धानमा कीरा नियन्त्रणका लागि रासायनिक विषादीमा मात्र निर्भर नभई खेती प्रणाली, जैविक, यान्त्रिक तथा आवश्यक अवस्थामा मात्र सुरक्षित विषादीको प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन् । धान रोप्नुअघि ढैंचाजस्ता हरियो मल बाली लगाउने, खेत तथा आलीमा रहेका झारपात र कीराका वैकल्पिक आश्रयस्थल हटाउने, खेत सम्याएर पानीको समान व्यवस्थापन गर्ने तथा प्रमाणित र गुणस्तरीय बीउ प्रयोग गर्न उनेले सुझाव दिइन् । त्यस्तै कीरा तथा रोग सहन सक्ने जात छनोट गर्न, स्वस्थ तथा कीरारहित बेर्ना मात्र रोप्न र समयमै धान रोपाइँ गर्न उनले आग्रह गरिन् ।
धानबाली विज्ञ प्राडा विष्णुविलास अधिकारीले पछिल्लो समय विषादीको अनावश्यक प्रयोगका कारण धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएको बताए । अनावश्यक विषादीको प्रयोगले माटो, वातावरण तथा मानव स्वास्थ्यमा असर पर्न सक्ने उनको भनाइ थियो ।
जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले वातावरणअनुकूल तथा रोग–कीरा सहन सक्ने जातको प्रयोग गर्नुपर्नेमा जोड दिए । कृषि प्रणालीलाई समयअनुसार डिजिटलमैत्री बनाउनुपर्ने उनले बताए । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जिल्लाका विभिन्न स्थानबाट किसान दैनिकजसो धानबालीका समस्या लिएर कार्यालय आउने गरेको बताए । किसानका समस्या स्थानीयस्तरमै पहिचान गरी समाधानका लागि वैज्ञानिक र प्राविधिक ज्ञान किसानसम्म पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।
गोष्ठीमा जिल्लाका सात वटै स्थानीय तहका कृषि शाखा प्रमुखले धानबालीमा बढ्दो रोग तथा कीराको समस्या समाधानका लागि अनुसन्धान संस्था, प्राविधिक निकाय र स्थानीय तहबिच नियमित समन्वय आवश्यक रहेको बताएका थिए । अनुसन्धानबाट विकसित प्रविधि किसानको खेतसम्म पुर्याउन यस्ता समन्वयात्मक कार्यक्रम फलदायी हुने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ कृषि अधिकृत डा देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कीट विज्ञ अनन्तमणि भट्टराई, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मी, मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईलगायत जिल्लास्थित विभिन्न कार्यालयका कृषि प्राविधिकको सहभागिता रहेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्