निबन्धः सन्त अर्थात सनत !



विष्णु पादुका

जन्मनु र मर्नुको सार्है सस्तो सर्कसमा छु म पनि । दर्शक हुनु नहुनु , प्रस्तुति गतिलो अगतिलो हुनुले खास फरक पार्दैन ।मानव जीवन भनेर फूलबुट्टा भरे पनि अनिश्चितकालीन भागदौड बाहेक केही हुँदै होइन यो बाँच्ने शृङ्खला । कति पढ्यो ? कति लेख्यो ? कतिले चिने ? कतिले माने ? घरको भित्तोमा कति फ्रेम झुन्डिएका छन् ? सम्मानका मापनले गिज्याएको होला नि तपाईंलाई पनि ? म भिन्न छु भनेर झुटो ऐना पुछ्दिन म । हेर्न लायक नै नभए पनि मेरो अनुहारमा कसैलाई चुम्नु पनि छैन । चुम्ने कुरोलाई अश्लील मान्नु हुन्छ भने नजरको पावर थपिएको चश्मा सिफारिस हुनसक्छ । घोत्लिन्छ लेदो बगेको नदि झैं मन । सावाँ अक्षर चिनेपछी पढेको हो अब्स्ट्र्याक्ट चिन्तन प्याज र सुनेको हो शंकर लामिछाने । आज पनि उनको शैलीलाई माथ गर्ने लेखन पढ्न जुरेको छैन । अझ यसो भनुँ लामिछानेले पारेको दुलो टाल्न अरुले सकेनन् । पछिल्लो पल्ट सर्कसको पिञ्जडाबाट फुत्त निस्किएर प्राज्ञको भेलामा पुगेँ । एउटा लयमा कार्यक्रम चलिरहेको थियो । म पुग्नु र नपुग्नुले खास अर्थ राख्ने कुरा पनि भएन । उसो त यो धर्तीमै म आउनु र जानुले खास कोहि कसैलाई केही फरक पर्दैन । म मात्र किन संसारकै जोकोहीको विवशता हो यो ।

मातृत्वको चीत्कार — कथासङ्ग्रह,दिनान्त — कथासङ्ग्रह,
बन्द कोठाहरूको सहर — कथासङ्ग्रह, लछमनियाको गौना — कथासङ्ग्रह, समय–सत्य — कथासङ्ग्रह, सनत रेग्मीका प्रतिनिधि कथा — कथासङ्ग्रह आदिको जुलुसमा एउटा मसाल बनेको थियो लछमनियाको गौना । एउटा लेखक बाँच्ने पर्याप्त आधार बनाइसकेका रेग्मीलाई चिन्न बाँकी नै छ ।
सनत कुमार शर्मा अर्थात सनत रेग्मी सम्झ्यो कि यो पङ्ग्ती सम्झिन्छु म ,

“गुरूर तो नहीं हैं पर
अपने वजूद पे इतना तो यकीन है की,
अगर याद भी नहीं करोगे तो कोइ बात नहीं पर
ये याद रखना की हमें भूल भी नहीं पाओगे ।“

उसो त यो एक प्रेमीले प्रेमिकालाई दिलाएको एक प्रेमिल विश्वास हुनसक्छ । तर यो उद्गार एक पाठकलाई लेखकले दिएको वचनमा पनि प्रासंगिक लाग्छ मलाई । हो रेग्मी सन्तलाई नेपाली पाठक अझ बाँके बर्दियाका पाठकले सजिलोसँग भुल्ने नाम होइन । हुन त पन्ध्र सेकेन्डको रिलमा रमाउने जमानामा सन्त रेग्मीका किताब खोजेर पढ्ने पाठक खोज्नु पर्ला । फेरि पनि उहाँलाई बिर्सेर कोहि नेपालगन्जको धुलोमा अक्षरको खेती गर्न सायदै सक्ला । नाम बिगारेकोमा क्षमा चाहन्छु । सनतको आधा न गुमनाम पार्दा एक श्रद्दा पलाएपछी त्यही सम्बोधन प्रिय लाग्यो । अहंका आरोह अवरोह सकाएर यथार्थमा आसिन हुन सक्नु नै चेतनापुञ्जको ग्रहण हो । भजन या स्तुति होइन पनि यो, उहाँसँग केहिको ऐचोपैचो छैन मेरो । सिकारु पाठकलाई एउटा निबन्धले बाँधेपछी स्वच्छन्द रूपमा उहाँको नाम उच्चारण गर्न मन लागेको मात्रै हो । यो स्वच्छन्दताको बीउ लामिछाने नै रोपेको हुनुपर्छ । “कसैको खुलेर प्रशंसा गर्नु छ भने उसको नजिक नपर्नु । कसैको खुलेर आलोचना गर्नु छ भने उसँग टाढिएर नबस्नु ।“ कुन निबन्धमा पो हो यो भाव पढेको थिएँ शंकरको । किन पो छोइ रह्यो यो भावले र जो कोहिसँग नजिक हुन सकेको छैन । नजिक नै नभए पनि टाढिनु पर्ने संकट बाट मुक्त भइने रहेछ । आफ्नो स्वच्छन्दताको हनन हुनबाट पनि जोगिने रहेछ । जुझारू कवि लेखक नवीन अभिलाषी पुरस्कृत भै सक्नु भएछ । सन्तजीको पुस्तक बिमोचन पनि भै सकेको रहेछ । पुस्तक माथी भावमा कोमल र बोलीमा खरो टिप्पणी हुँदै थियो डा. हरि तिमिल्सिना मार्फत म पुग्दा ।फर्किनु पर्दा खरा लेखक अनि बामपन्थी बुद्धिजीवी नरेन्द्र जंग पिटर बोल्दै हुनुहुन्थ्यो । ऋचा लुइँटेल जीको प्रसस्ती चाहिँ पुरै सुन्न भ्याएँ । टुक्रा टुक्रा जिन्दगी र शब्दाभिनन्दन किताबका नामै काफी थिए सम्झन । किताब किन्न जुरेन । कतै बेच्न राखिएको देखिएन । पुस्तक पसल सम्म पुगेर किन्न समय थिएन । दहाड जस्तो शसक्त र ऐतिहासिक कथासंग्रहको नाममा कवि नवीन अभिलाषी पुरस्कृत हुनु आफैमा एक खुशिको कुरा थियो । दहाड माथिको टिप्पणी सुन्न समेत छुटेको थियो । आँखामा एक थान ब्यानर र मोबाइलमा दुई थान तस्विर बोकेर फर्किएँ सर्कसको कोर्टभित्र । कथाकार तथा कवि नवीन अभिलाषी र श्रीओम श्रेष्ठ “ रोदन “ सँग एक दुई शब्द बोल्न समेत जुरेन । गोपाल अस्कको नाम मात्र सुने अनुहार चिन्न सकिन । कवि बिपि अस्तु जो यो कार्यक्रमका खम्बा हुनुहुन्थ्यो उहाँसँग पनि आँखा मात्रै जुधे । कोहलपुरका बाट पुग्नुभएका कवि केशब निमेष छेउ बसेर कानेखुसी चाहिँ भयो केहिबेर । भोलि पल्ट हो कि , कोहलपुरका लेखक महानन्द ढकालले एउटा निबन्धको अन्लाईन संस्करण खसाल्दिनु भयो सञ्जालको खल्तीमा । जो रेग्मी सन्तकै थियो ।

अघिल्लो वर्षका पुरस्कृत पुस्तक कालो गुलाब पढ्न जुरेन । बहुरुपी चाहिँ मज्जाले पढियो । टिप्पणीहरू पनि सुनियो । पुरस्कार समारोहमा पनि पुर्णतः साक्षी हुन पाइयो । यसपटक सबै सारसंक्षेपमा समेटियो । दहाड आफैमा एक बलियो कृति बनेकोमा शंका रहेन । पुरस्कृत भएकोमा शुभकामना छदैछ । रेग्मी सन्तको निबन्धले हल्लाए पछिको एक बैचारिक भेल मात्र हो यो आलेख । आत्म मुल्यांकन अनि जीवनदर्शन बोकेको एउटै निबन्धले कति बोझ थाम्छ थाहा छैन । आफ्ना जीवनका कर्म फर्केर हेर्न सुनौलो आयु बाचेका साहित्यिक सन्तको स्वर्णिम चरणमा छ । सत्तरी बर्षे पिटर साहेवले असी बर्शे युवालाई शुभकामना दिदा सन्तको मुहारमा सोर्हवर्षे मुस्कान फुलेको देखे सबै साक्षीले । मञ्चको गजक्कता साच्चिकै थिएन । ड्यासमा उभिएर बोल्नेहरू सन्तसँग सल्लाह लिदै बोलेका दृश्यले औपचारिकता मिचिएको आभास भएको थिएन । लेखकहरूको माझमा एउटा बलियो शसक्त र पाको मार्गदर्शक पाएको छ नेपालगन्जले । सबै बैचारिक पर्खाल भत्काएर सबै सबै सन्त प्रति नतमस्तक थिए । ऐतिहासिक धरोहर महेन्द्र पुस्तकालय अनि रेडक्रस ,नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलन अनि नेपालगञ्जका गल्लीका पदचाप नियालेर बसेका सन्त रेग्मी होचो कदका अग्ला ब्यक्ती हुन् । मनमा लागेको कुरो बोल्न उनी पालो पर्खन्नन् । बक्ताकै अघि खन्डन मन्डन गर्छन् । बौद्धिकताको उचाई र विचारको गहिराई एक दुई बसाइमा नापेँ भने त्यो अनर्थ हुनसक्छ । प्रकाशित कृतीमाथि लेख्ने दुस्साहस पनि राख्दिन म तर उहाँको एउटा स्पष्टताले भने डो¥याइ रहने छ । सफलताको चुली र असफलताको भुइँ चुमेको अनुभव इमान सहित स्विकार्नु नै स्पष्टता हो । राजनितीक असफलता र साहित्यिक सफलता दुबैका सम्मिलन हुन् सन्त रेग्मी । शिर्ष नेतृत्वले पत्याए पनि जनताले नपत्याए पछि राजनीतिको बाटो आधार शिविर सम्म मात्र पुगेको देखिन्छ । र त आफ्नै ऐनाले देखाएको हाँसो फिक्का लाग्छ उनलाई । न्याय कि सुविधा ? को पल्लामा न्याय भन्दा सुविधाको पल्लामा आफू बसेको स्विकार्न कुनै हिच्किचाहट छैन । मानविय गुण हो , सरल बाटो हिड्ने अवसर छोडेर कठिन बाटो जो कोहि रोज्दैन । उमेरको यो मुकाममा यस्तो स्पष्टोक्ती दिनु नै हार्दिक सफाइ हो । साहसी हुनु र साहसी बन्नु पनि फरक रहेछ । जसलाई बुझाउने दुस्साहस कमै मान्छेले गर्छन् ।

उनी आफै स्वीकार गर्छन् यसरी , “तिमीले धेरै लेख्यौ । धेरै ग¥यौ । धेरै पायौ ।’ ऐनाको झिलिमिलीसँगै अर्को आकृति देखापर्छ । त्यो मेरो विवेक हो । उसले शान्त स्वरमा भन्छ— ‘तर कति कुरा अधुरा छोड्यौ ?’ म निःशब्द हुन्छु । म सम्झन्छु—लेख्न चाहेका तर नलेखिएका पुस्तकहरू । भेट्न चाहेका तर नभेटिएका मानिसहरू । भन्न चाहेका तर नभनिएका सत्यहरू । जीवनभरि समय छ जस्तो लाग्यो । तर समय त मुठ्ठीको बालुवाजस्तो रहेछ । जति कसिलो समात्यो, त्यति चाँडो फुत्कियो । ऐना अब नदी बनेको छ । त्यसमा मेरो जीवन बगिरहेको छ । कहिले सफलताको उज्यालो पानी । कहिले असफलताको धमिलो भेल । म ती दृश्यहरू हेर्छु । एकातिर सम्मानका माला छन् । अर्कोतिर आत्मग्लानिका काँडा । एकातिर तालीहरू छन् । अर्कोतिर नबोलिएका पश्चात्तापहरू । अचानक ऐनाले एउटा गहिरो प्रश्न गर्छ—‘यदि तिम्रा सबै सम्मानपत्र हटाइदिए भने, तिमी को हौ ?’ म चुप लाग्छु । ‘यदि तिम्रा पुस्तकहरू हराए भने, तिमी को हौ ?’ म अझै चुप लाग्छु । ‘यदि समाजले तिम्रो नाम बिर्सियो भने, तिमी को हौ ?’ मसँग उत्तर छैन । किनकि मैले जीवनभरि आफूलाई कर्म, योगदान र उपलब्धिको आधारमा चिनेको रहेछु ।“ शंकर पढियो , नविनलाई नजीकबाट नियालियो रेग्मीले यसपटक मन जिते एउटा बहुलठ्ठी पाठकको । प्रस्तुत अंशले जो कोहिलाई ऐना हेर्ने बनाउँछ नै । “तर ऐनाले मलाई नाम र प्रतिष्ठाभन्दा परको मानिस खोज्न लगाइरहेको छ । झिल्मिल उज्यालो अब शान्त हुन थाल्छ । त्यसको सतहमा एउटा बूढो रूख देखिन्छ । हावाले हल्लाएको । कतै हाँगा भाँचिएका । कतै पात झरेका । तर जरा अझै जमिनभित्र गहिरो छ । म त्यो रूखलाई हेर्छु । ऐना भन्छ—‘यो तिमी हौ । तिम्रा हाँगाहरूमा उपलब्धि छन् । तिम्रा घाउहरूमा कमजोरी छन् । तिम्रा जराहरूमा संघर्ष छ र तिम्रो अस्तित्वमा अपूर्णता छ ।’ म पहिलो पटक आफ्ना कमजोरीहरूबाट भाग्न छोड्छु । म स्वीकार गर्छु—हो, म कहिलेकाहीँ आत्मप्रशंसामा रमाएँ । हो, म प्रशंसाको मोहमा परेँ । हो, म सबै ठाउँमा सत्यको पक्षमा उभिन सकिनँ । हो, मैले कतिपटक आफ्ना आदर्शहरूलाई व्यवहारमा उतार्न सकिनँ । हो, मैले परिवारका अपेक्षा पूरा गर्न सकिनँ । हो, म कति पटक आफ्नो आस्थाबाट बिचलित पनि भएँ हुंँला । आफैमा म पूर्ण छैन । यो सत्यलाई मैले स्विकार्नु पर्छ । यो स्वीकारोक्तिसँगै ऐनाको झिलमिलभित्र कुनै अहङ्कार छैन । कुनै आत्मप्रशंसाको धुवाँ छैन । त्यहाँ केवल एउटा साधारण मानिस उभिएको छ, सनत रेग्मी । न ऊ महापुरुष । न ऊ सन्त । न ऊ निष्कलंक साहित्यकार । न ऊ त्रुटिरहित समाजसेवी । न ऊ पूर्ण राजनीतिक कार्यकर्ता । ऊ केवल एउटा मानिस हो—जसले सपनाहरू देख्यो ।“ प्राज्ञ ,रेडक्रस , ने.वि.संघ र जीविकाका थप आधार , जन्म र पारिवारिक संरचनालाई एक छेउ राखेर पनि उनलाई बुझ्न एउटा निबन्धले तान्छ । पढिनु पर्ने लेखकलाई पछिल्लो पुस्ताले नबिर्सोस् । स्वस्थ जीवनको हार्दिक कामना यो पाठक नतमस्तक छ । सन्तले समाजलाई दिने भनेकै मुतिको सपना हो । पाठकले लिने भनेकै त्यो अनुभूतिको सार हो । अवलम्बन गर्ने भनेकै यथार्थ अनुभवहरूको हो । त्यसैले त सनत होइन सन्त भन्न मन लागिरहेको छ । म हुँ भन्नेहरू भन्दा म केही होइन भनेर सपाट देखिन सक्नेहरू नै हो सन्तमा गरिने । आवरणको आडम्बर भिर्नेहरूको समाजमा कहिले पो अभाव भयो र ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार