कथाः आमा–बाबु



पविता चौधरी

सबै आमा–बाबुको पीडा कहाँ बुझ्छन् र ? न त उनीहरूको दुःख–कष्ट देख्छन्। आजभोलि सबै सामाजिक सञ्जालमा व्यस्त छन्। मोबाइलमा केही कुरा आयो भने पनि पूरा पढ्ने चलन कम हुँदै गएको छ। तर यो कथा राम्ररी पढ्नुहोला । किनकि कुनै दिन तपाईं पनि आमा–बाबु बन्नुहुनेछ । यो कथाको सुरुवात हुन्छ तराई क्षेत्रमा बसोबास गर्ने एउटा विपन्न परिवारबाट । सङ्कटको समय थियो । आफ्नै ज्यानसँगै आफ्ना छोराछोरीको ज्यान बचाउनका लागि एउटी आमा सधैँ मन्दिर धाउने गर्थिन् । घरको धेरैजसो जिम्मेवारी छोरीकै काँधमा थियो । उनलाई पढ्ने ठूलो रहर थियो, तर घरको परिस्थिति र गरिबीका कारण उनले पढ्न पाइनन् । आमालाई सघाउनकै लागि उनी पढ्ने उमेरमै घरको जिम्मेवारी सम्हाल्न बाध्य भइन् । त्यो समय समाजका सबै वर्गका मानिसहरूले समान रूपमा पढ्न–लेख्न पाउँदैनथे । जातजाति र भाषाभाषीका आधारमा मानिसहरूबीच विभेद गरिन्थ्यो । गरिब परिवारका छोरीहरूका लागि शिक्षा झन् टाढाको विषय थियो । घरको परिस्थिति हेरेर आमाले छोरीको सानै उमेरमा विवाह गरिदिइन् । सानै उमेरमा विवाह गरेकी ती छोरी एउटा नयाँ सम्बन्धमा बाँधिन पुगिन् । विवाहपछि पनि उनको जीवनमा सुख आएन । अनेकौँ दुःख र कठिनाइ सहँदै उनले आफ्नो जीवन अगाडि बढाइरहिन् । केवल १९ वर्षको उमेरमा उनले एउटी छोरीलाई जन्म दिइन् । छोरी जन्मिएपछि भने उनको जीवनको उद्देश्य नै बदलियो । अब उनले आफ्नो जीवनमा पूरा गर्न नसकेका सपना छोरीको आँखामा देख्न थालिन् । उनको मनमा एउटै कुरा थियो— “मैले जस्तो दुःख मेरी छोरीले कहिल्यै भोग्नु नपरोस् ।” बिबाहित घरमा आएर पनि उनले धेरै दुःख सहनुप¥यो । घरमा आवश्यक सामानसमेत पर्याप्त हुँदैनथ्यो । खानका लागि पनि सधैँ पर्याप्त हुँदैनथ्यो । तर आफ्नी छोरीका लागि भने उनले सकेसम्म केही न केही छुट्याएर राख्थिन् । आफूले खान मन लागेको खानेकुरा पनि हेरेरै चित्त बुझाउनुपर्ने अवस्था थियो । ससुरालीमा नानाथरीका कुरा गर्ने, कुरा काट्ने र दुःख दिनेहरू थिए । कहिलेकाहीँ केही मीठो खानेकुरा खान मन लागे पनि अरूका कुरा सुनेरै चित्त बुझाउनुपथ्र्यो । नन्द र देवरका कुरा सुनेर उनी चुपचाप बसिरहन्थिन् । सबैका लागि राम्रो सोच्दा पनि उनी सबैको नजरमा राम्रो बन्न सकिनन् । आफ्नो काँधमा सिंगो परिवारको जिम्मेवारी थियो ।

घरमा मीठो खानेकुरा त केवल कुनै चाडपर्वमा मात्र पाक्थ्यो। अरू दिन भने तातो पानी उमालेर त्यसमा थोरै तरकारी हालिन्थ्यो । त्यसमा पनि थोरै नुन, थोरै तेल र थोरै खुर्सानी हालेर तरकारी बनाउनुपथ्र्यो । त्यति हुँदा पनि कसैले “मिठो छैन” भन्दै मुख बिगारेर बस्दा उनको मन झन् दुख्थ्यो । तर उनले हार मानिनन् । उनीलाई थाहा थियो—छोरीको भविष्य बदल्न सक्ने सबैभन्दा ठूलो माध्यम शिक्षा हो । त्यसैले उनले छोरीलाई विद्यालय पठाइन् । छोरी विद्यालय जान थालेपछि आमाको अनुहारमा छुट्टै खुसी देखिन्थ्यो । छोरीसँगै आफूले पनि केही पढ्न र सिक्न पाउँदा उनलाई गर्व लाग्थ्यो। आफूले पढ्न नपाएको पीडा अब छोरीको पढाइमार्फत केही कम भइरहेको जस्तो लाग्थ्यो । छोरीका बाबुले पनि धेरै पढेका थिएनन् । उनी केवल पाँच कक्षासम्म पढेका थिए । श्रीमती र छोरीलाई पढाउन मन हुँदाहुँदै पनि घरमै बसेर सिकाउन सक्ने अवस्था थिएन। त्यसैले उनी बाहिर ज्याला–मजदुरी गर्न जान्थे । दिनभरि मजदुरी गरेर थाकेर घर फर्किए पनि छोरीको पढाइबारे भने सोध्न बिर्सँदैनथे । आफ्नो दुःखभन्दा छोरीको भविष्यलाई ठूलो मान्थे । दिनभरिको थकानले शरीर गलाए पनि आफ्ना छोराछोरीको मुस्कान देखेपछि उनी आफ्नो थकान नै बिर्सन्थे। बाहिरबाट हाँसेजस्तो देखिए पनि मनभित्रका पीडा र दुःख लुकाएर जीवन अघि बढाइरहेका थिए । उनीहरू आफ्नी छोरीलाई एउटै कुरा सिकाउँथे—जीवन जस्तोसुकै भए पनि संघर्ष गर्नुपर्छ, दुःखदेखि डराउनु हुँदैन र परिस्थितिले जति नै गाह्रो बनाए पनि आफ्नो बाटो आफैँ बनाउनुपर्छ । केही समयपछि छोरी पनि ठूली हुँदै गइन्। पढाइसँगसँगै उनले आमालाई घरको काममा सघाउन थालिन् । आमाको दुःख र थकान बुझ्न थालेपछि उनी आफ्नो सानो हातले सकेको सहयोग गर्न थालिन् । छोरीले घरको काममा सघाउन थालेपछि आमालाई पनि केही सहज भयो । छोरीको सानो सहयोगले आमाको दुःख त पूर्ण रूपमा हटेन, तर उनको मनमा भने ठूलो खुसी आयो। आफूले दुःख गरेर हुर्काएकी छोरी आज आफ्नो दुःख बुझ्न सक्ने भएकी थिइन्। आमालाई लाग्थ्यो— “मैले छोरीलाई दिएको संस्कार खेर गएनछ ।” आमा–बाबु दुवैको एउटै सपना थियो— “हामीले जस्तो दुःख हाम्रो छोरीले भोग्नु नपरोस्। उसले पढोस्, आफ्नो खुट्टामा उभियोस् र जीवनमा केही बनोस् ।” आफ्ना आमाबाबुको मेहनत देखेर छोरीलाई उनीहरूको छोरी हुन पाएकोमा गर्व लाग्थ्यो। उनले मनमनै सोच्थिन् —“कुनै दिन अवश्य पनि म मेरा आमाबाबुको शिर उच्च गराउनेछु ।” यी शब्दहरू र आमाबाबुको सपना छोरीको मनमा गहिरो गरी बसे ।
आमाले छोरीलाई केवल अक्षर चिन्न र किताब पढ्न मात्र सिकाइनन् । उनले जीवन बुझ्न पनि सिकाइन् । उनी छोरीलाई सधैँ सम्झाउँदै भन्थिन्— “छोरी, जीवनमा कहिल्यै गलत ठाउँमा नझुक्नु । बाटोमा लड्यौ भने पनि आफैँ उठ्न सिक्नु । समयसँग डराएर होइन, समयसँगै निडर भएर अघि बढ्नु । कसैले साथ दिएन भन्दै आफ्नो सपना कहिल्यै नछोड्नु ।” यी शब्दहरूले छोरीको जीवनमा गहिरो प्रभाव पा¥यो ।

आमाले छोरीलाई धेरै धन–सम्पत्ति दिन सकिनन्। महँगा लुगा, गहना वा ठूलो घर पनि दिन सकिनन्। तर उनले छोरीलाई त्योभन्दा धेरै मूल्यवान् कुरा दिइन्—शिक्षा, संस्कार, आत्मविश्वास र जीवनमा जस्तोसुकै परिस्थिति आए पनि सङ्घर्ष गरेर अघि बढ्ने साहस । आफूले भोगेका दुःख छोरीले भोग्नु नपरोस् भन्ने चाहनाले उनले आफ्नो खुसीभन्दा छोरीको भविष्यलाई ठूलो मानिन्। कहिले आफू भोकै बसिन्, कहिले आफ्ना आँसु लुकाइन्, कहिले अरूका कुरा सहिन्, तर छोरीको पढाइ र भविष्यका लागि कहिल्यै हार मानिनन् । सायद छोरीले आमाको हरेक दुःख त्यही समयमा बुझ्न सकिनन् होला । तर आमाबुबाको माया त्यस्तो हुन्छ, जसको गहिराइ उनीहरू आफैँ आमा–बाबु बनेपछि मात्र महसुस गर्न सक्छन् । आमाले आफ्नी छोरीलाई धन–सम्पत्ति दिन नसके पनि जीवन जिउने तरिका सिकाइन् । उनले छोरीलाई सही निर्णय लिन, सही काम रोज्न, गलत ठाउँमा नझुक्न, लडेपछि उठ्न, दुःखमा पनि मुस्कुराउन र समयसँगै निडर भएर अघि बढ्न सिकाइन् । उनले छोरीलाई आफ्नो सुरक्षा आफैँ गर्न, कसैसँग डराएर होइन, आत्मविश्वासका साथ जीवन जिउन र आइपर्ने कठिन परिस्थितिको सामना गर्न पनि सिकाइन् । यही नै एउटी आमाले आफ्नी छोरीलाई दिएको सबैभन्दा ठूलो उपहार थियो ।
त्यसैले आमाबुबाले तपाईंका लागि गरेको सानोभन्दा सानो त्यागलाई पनि कहिल्यै सामान्य नठान्नुहोस्। उनीहरूले तपाईंलाई दिएको समय, माया, शिक्षा र संस्कारको मूल्य पैसाले तिर्न सकिँदैन । किनकि आमाबुबा ती व्यक्ति हुन्, जसले आफ्नो सपना अधुरो राखेर पनि हाम्रा सपना पूरा गर्न खोज्छन् । आज समय छ भने आमाबुबालाई माया गर्नुहोस्। उनीहरूसँग केही समय बिताउनुहोस् । उनीहरूको मन बुझ्ने प्रयास गर्नुहोस् । भोलि पछुताउनुभन्दा आजै उनीहरूको हात समात्नुहोस् । आमाबुबाले आफ्नो जीवनभरि हाम्रा लागि कति कुरा त्याग्छन् भन्ने कुरा हामीले उनीहरूजस्तै जिम्मेवारी बोकेपछि मात्र बुझ्न सक्छौँ । त्यसैले उनीहरू साथमा हुँदा नै उनीहरूको माया र त्यागको कदर गरौँ । किनकि समय बितेपछि फर्केर आउने भनेको सम्झना मात्र हो, आमाबुबा होइनन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार