नन्दराम जैशी । सुर्खेत ।
रसुवामा आएको बाढीपछि कर्णालीका करिब २०० जना सम्पर्कविहीन भएका छन् । बाढीपछि परिवार तथा आफन्तसँग सम्पर्क टुटेका व्यक्तिको खोजीका लागि आफन्तले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा विवरण टिपाउँदै खोजी गरिदिन हारगुहार गर्न थालेका हुुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पर्कविहीन हुने अधिकांश व्यक्ति सडक तथा जलविद्युत् आयोजनामा मजदुरीका लागि रसुवा र नुवाकोट पुगेका थिए ।
अध्ययन, सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारी तथा सुरक्षा निकायमा कार्यरत केही व्यक्तिसमेत सम्पर्कमा नआएको भन्दै परिवारले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीका अनुसार हालसम्म प्राप्त विवरणमा १६१ पुरुष, २५ महिला, चार बालक र तीन बालिका सम्पर्कविहीन छन् । जिल्लागत विवरणअनुसार जुम्लाका सबैभन्दा धेरै ७८ जना र सल्यानका ४९ जना सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्यांक छ । सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार रसुवा र नुवाकोटमा सडक तथा जलविद्युत् आयोजनामा काम गर्न गएका सल्यानका धेरै व्यक्ति परिवारको सम्पर्कमा छैनन् ।
आफन्तले सम्पर्कविहीन भएको भन्दै विवरण टिपाउने क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्न सक्ने उनले बताए । परिवारले दिएको विवरणका आधारमा सम्पर्कविहीन व्यक्तिको अवस्था बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुर्खेतका १५ पुरुष र एक महिला गरी १६ जना तथा दैलेखका छ पुरुष र एक महिला गरी सात जना सम्पर्कविहीन छन् । त्यस्तै, जाजरकोटका दुई पुरुष, रुकुमपश्चिमका सात पुरुष, चार महिला र एक बालिका गरी १२ जना, हुम्लाका छ पुरुष, दुई महिला र एक बालक गरी नौ जना तथा डोल्पाका एक पुरुष र एक महिला गरी दुई जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
यस्तै मुगुका आठ पुरुष, चार महिला र एक बालक गरी १३ जना तथा कालीकोटका तीन पुरुष, दुई महिला र एक बालक गरी छ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले परिवार तथा आफन्तबाट सम्पर्कविहीन भएको जानकारी आउने क्रम जारी रहेकाले सङ्ख्या बढ्न सक्ने बताए ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध हुँदा आफन्तसँग सम्पर्क स्थापित गर्न कठिनाइ भएको छ । यही कारण परिवारमा आफन्तको अवस्थाबारे थप चिन्ता बढेको छ भने उनीहरूको खोजी र अवस्था यकिन गर्न प्रहरी तथा प्रशासनमाथि दबाब बढेको छ ।
अधिकृत शर्मा सम्पर्कविहीन
रसुवाको भोटेकाशीमा आएको भीषण बाढीको कारण भन्सार कार्यालयमा हाजिर भएको दोस्रो दिनमै हुम्लाका नकुल शर्मा सम्पर्कविहीन भएका छन् । हुम्लाको ताँजाकोट गाउँपालिका–२ निवासी शर्मा मंगलबार १० वजेबाट सम्पर्कविहीन भएका हुन् । शर्माका भतिज लिलाराज शर्माका अनुसार रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतमा कार्यरत शर्मा बुधबार बिहान करिब १० बजेदेखि सम्पर्क विहीन भएका छन् । उनी रसुवा भन्सार कार्यालयका १५ जना सम्पर्कविहीन कर्मचारीमा पर्छन् । बाढीपछि परिवारसँग सम्पर्क हुन नसक्दा परिवारजनमा चिन्ता बढेको उनका भतिजले बताए ।
उनका अनुसार शर्मासँग घटना अघि कुराकानी भएको थियो । उनले भने, ‘त्यसपछि बिहान १० बजेदेखि शर्मासँग परिवारको सम्पर्क हुन सकेको छैन, १० बजेपछि सम्पर्क हुन छाडेपछि मैले पनि पटक–पटक फोन गरेँ, तर मोबाइल स्विच अफ भन्छ ।’ काकाको अवस्थाबारे जानकारी नपाउँदा परिवारमा निकै तनाव र चिन्ता बढेको उनको भनाई छ । शर्माको अवस्थाबारे बुझ्न स–परिवार आतुर छन् । शर्मा मंगलबार मात्र रसुवा भन्सार कार्यालयमा सरुवा भएर हाजिर भएका थिए । त्यसअघि उनी ईलामको पशुपतिनगर भन्सार कार्यालयमा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका थिए । उनले रोजेर सरुवा मागेका थिए । शर्मासँगै कार्यरत कर्मचारी, घटनास्थल आसपासमा रहेका व्यक्ति वा उनको अवस्थाबारे कुनै विश्वसनीय जानकारी प्राप्त भएमा पीडित परिवारजनलाई जानकारी गराउन आग्रह गरिएको छ ।
घर पुु¥याइदिन आग्रह
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जोगिएर सम्पर्कमा आएका जुम्लाका नागरिकले आफूहरूलाई तत्काल घर फर्कने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । बाढीपछि रसुवा सदरमुकाम धुन्चेमा रहेका उनीहरूले खान, बस्न र आवश्यक सामग्री जुटाउन समेत समस्या भएको बताएका हुुन् । पातारासी गाउँपालिका–४ लाम्री गाउँका सिंह बुढा बाढीबाट भागेर ज्यान जोगाउनेमध्येका एक हुन् । अहिले धुन्चेमा रहेका उनले आफूहरूसँग खानेकुरा किन्ने रकम र लगाउने कपडासमेत अभाव भएको बताए ।
‘हामी त्रिशूली–३ जलविद्युत् आयोजनाको हाँकुबेँसीस्थित २१६ नम्बर ड्यामसाइडमा काम गरिरहेका थियौँ, मेरो राति ड्युटी भएकाले सकेर बसेको थिएँ’ उनले भने, ‘बिहान करिब ८ः४५ बजेतिर भूकम्प आएजस्तो गरी जमिन हल्लियो । उत्तरतिर हेर्दा अजङ्गको बाढीको धुवाँ मात्र देखियो । त्यतिबेला म लगायत जुम्लाका १३ जना माथितिर भागेर बाँच्न सफल भयौँ, भने हामीसँगै दौडेर अन्य ठाउँका ६ जना पनि जोगिए ।’ ड्यामसाइडमा जुम्लाका मात्रै करिब एक सय जना काम गरिरहेको उनको अनुमान छ । तर बाढीले कति जनालाई बगाएर लग्यो भन्ने यकिन हुन नसकेको उनको भनाइ छ । विभिन्न निकायबाट फोन गरी आश्वासन दिए पनि धुन्चेमा कठिन अवस्थामा बस्नुपरेको उनले गुनासो गरे ।
उनले थपे, ‘हामीसँग कपडा छैन, खानका लागि पैसा छैन् । सरकारले छिट्टै हामीलाई जुम्ला पु¥याउने व्यवस्था गरिदिनुप¥यो ।’ यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जुम्लाका ७८ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जुुम्लाले जनाएको छ । रोजगारी तथा विभिन्न कामको सिलसिलामा रसुवा पुगेका उनीहरूको तीन दिनदेखि अवस्था अज्ञात रहेको बताइएको छ । सम्पर्कविहीन आफन्तको खोज तथा उद्धारका लागि परिवारजनले अनुरोध गरेपछि सोहीअनुसार पहल भइरहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए ।
उनका अनुसार पातारासी गाउँपालिका–४ लाम्री र तिर्खु, वडा नं. ५ ल्होर्प, तलि ल्होर्प र जप्न, वडा नं. ६ बाँतागाउँ तथा वडा नं. २ तल्फी गाउँका नागरिक सम्पर्कविहीनको सूचीमा छन् । त्यसैगरी गुठिचौर गाउँपालिकाका चोत्र, मुडुरी, गोठिगाउँ र देपालगाउँका नागरिक पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ । चन्दननाथ नगरपालिका, सिंजा गाउँपालिका र हिमा गाउँपालिकाका केही नागरिकसमेत सम्पर्कमा नआएको प्रजिअ प्रसाईंले बताए । प्रशासनले सम्पर्कविहीनको विवरण संकलनसँगै खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । बाढीबाट जोगिएर धुन्चेमा रहेका नागरिक भने तत्काल सुरक्षित रूपमा घर फर्कने व्यवस्था मिलाउन आग्रह गरिरहेका छन् ।
थप जनशक्ति परिचालन
बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी र शव व्यवस्थापनमा ढिलाइ भएको जनगुनासोपछि सरकारले खोजी कार्यमा खटिँदै आएको सैनिक जनशक्ति बढाएको छ । प्रधानमन्त्री कार्यालयले जनस्तरबाट आएका त्यस्ता गुनासोलाई गम्भीरताका साथ लिँदै विशेष टोली परिचालन गरिएको जानकारी दिएको छ । ‘बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ,’ प्रधानमन्त्री कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ ।
नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय जनशक्ति खटिँदै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ‘थप १२ सय सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालन हुने नेपाली सेनाको कुल सङ्ख्या २ हजार ८ सय पुगेको छ । नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र संकलन गर्ने कार्यलाई अघि बढाइरहेको छ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।









प्रतिक्रिया दिनुहोस्