कैलाली ।
सुदूरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुुनिल लम्साल भाइरल ज्वरोको संक्रमण र रुघाखोकी लागेपछि आइतबार नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रक हुँदै काठमाडौँ उडे । बैतडीको गोठालापानी पुगेपछि बिरामी भएका मन्त्री लम्सालल स्वास्थ्य समस्या देखिएपछि केही समय होटलमै आरोप गरेका थिए । त, निको नहुने देखिएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उनलाई लिन बैतडी पुग्यो ।
बैतडीबाट हेलिकप्टर उड्ने तयारी भइरहेका बेलासम्म त्यहाँका सुरक्षा निकायलाई मन्त्रीलाई कहाँ लगिदैछ भन्ने कुरा थाहै थिएन । कसैले काठमाडौँ भन्थे त कसैले नेपालगन्ज लैजाने बताइरहेका थिए । तर, मन्त्री लम्साललाई बोकेर हेलिकोप्टर उड्ने बेला मात्रै धनगढीतर्फ लगिएको जानकारी सुरक्षा निकायलाई दिइएको थियो । हेलिकोप्टर धनगढीको आकाशमा पुग्ने बेलासम्म धनगढी विमानस्थल कार्यालयका प्रमुख बालकुमार सिंह, सुरक्षा प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र बम लगायतका मन्त्रीलाई धनगढी ल्याइएकोबारे बेखर थिए ।
मन्त्री लम्साललाई धनगढी ल्याइरहेको सूचनापछि फिल्ड अस्पताल बोराडाँडीबाट नेपाली सेनाको स्वास्थ्यकर्मीको टोली एम्बुलेन्ससहित विमानस्थल पुगेको थियो । एम्बुलेन्सलाई धावनमार्गतर्फ लैजान खोज्दा गेटमा चाबी लागेको थियो । त्यो गेटमा प्रहरीको डिउटी हुनेभएपनि त्यो बेला भने डिउटी समेत थिएनन् । नेपाली सेनाको खोजीपछि मात्र विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीले मन्त्रीको आगमनबारे जानकारी पाएको थियो । मन्त्री लम्साल विमानस्थलमा अवतरण गरेपछि सेनाकै स्वास्थ्यकर्मीको टोलीले केहीबेर उनको स्वास्थ्य परीक्षण समेत गरेको थियो ।
मन्त्री धनगढी आउने सूचना अभावकै कारण कैलालीका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुख समेत त्यसबारे अनविज्ञ थिए भने मन्त्री धनगढी अवतरण गरेपछि मात्र उनीहरूलाई रिर्पोटिङ गरिएको थियो । मन्त्री ल्यान्ड भइसकेको र स्काई ट्रक उड्ने तयारीमा रहेका कारण उनीहरू पनि विमानस्थलसम्म पुुग्न नपाएको स्रोत बताउँछ । नेपाली सेनाको स्काई ट्रक मन्त्रीलाई लिएर काठमाडौँ उडेपछि भने धनगढी विमानस्थलमा केहीबेर छुट्टै दृष्य देखिएको थियो ।
मन्त्री धनगढी आइरहेको सूचना संकलनमा चुुकेका विमानस्थल प्रमुख र सुरक्षा प्रमुख एयर ट्राफिक कन्ट्रोलर(एटीसी)सँग झोक्किएका थिए । मन्त्रीलाई धनगढी ल्याइरहेको जानकारी प्रशासन र सुरक्षालाई किन नदिएको भन्दै उनीहरूले प्रश्न गरेपछि विमानस्थल परिसरमा वादविवाद भएको थियो भने तीनै पक्षबीच चर्काचर्की नै परेको थियो । विमानस्थलका एटिसी कर्मचारीले भने उनीहरूलाई उडानबारे आफैले चासो राख्नुपर्ने र एटिसीले जानकारी दिइरहनुपर्ने कुनै कारण नभएको बताइरहेका थिए भने सुरक्षा प्रमुख बमले सबैको उद्देश्य एउटै भएकोले समन्वय गर्नु राम्रो हुने भन्दै सम्झाइरहेका थिए ।
विमानस्थलकी एटिसी प्रमुख विद्या शाह अनावश्यक कुरा नगर्न भन्दै झोक्किएपछि विवाद थप चर्किएको थियो । उनले प्रहरी कर्मचारीसँग बढी आक्रोश पोखिरहेको देखिन्थ्यो । विद्या आक्रोशित भएका बेला विमानस्थल प्रमुख बालकुमार सिंह भने त्यहाँबाट निस्किसकेका थिए । आइतबार साँझ हवाई उडान सकिएपछि विमानस्थल प्रमुख सिंह र सुरक्षा प्रमुख बम त्यहाँबाट निस्किसकेका थिए । तर, नेपालगन्ज जाने भनिएको मन्त्री लम्सालको सवारी धनगढी भएपछि अचानक उनीहरू फर्किनुपर्ने अवस्था बनेको थियो । समयमै सूचना नदिएकोमा उनीहरूले एटिसीका कर्मचारीसँग आक्रोश पोखेका थिए ।









प्रतिक्रिया दिनुहोस्