मुगु ।
रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच सहमति भएको छ । गत साउन ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर छायानाथ रारा नगरपालिका–४ ताल्चाका ११ वर्षीय गौरव भामको मृत्यु भएको थियो ।
ठेकेदारले खनेको खाल्डोमा वर्षाको पानी जमेको र सुरक्षाका लागि घेराबार नगरी खुला छाडिएको अवस्थामा बालकको डुबेर मृत्यु भएको परिवारको भनाइ छ । घटनापछि पीडित परिवारले उचित राहत तथा विमानस्थलको सुरक्षा व्यवस्थामा ध्यान दिन माग गर्दै विरोध गर्दै आएका थिए ।सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण प्रतिनिधि र पीडित परिवारबिच नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्ज परिसरमा सहमति भएको हो ।
सहमतिअनुसार मृतक बालक गौरवका बुवा जयबहादुर भामलाई योग्यता र क्षमताअनुसार उपयुक्त करार सेवाको रोजगारीका लागि नागरिक उड्डयन कार्यालय रारा विमानस्थलमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिस गरिनेछ । त्यस्तै, मृतकका परिवारलाई राहत स्वरूप टर्मिनल भवन निर्माणकर्ता बुढी इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिले तत्काल रु १० लाख उपलब्ध गराउने र मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मुगुमा दिएको जाहेरी तथा उजुरी फिर्ता लिने सहमति भएको छ ।
सहमति कार्यान्वयनका लागि सहजीकरण गरिने छायानाथ रारा नगरपालिका–८ का वडाध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । ठेकेदार पक्षको लापरबाही, मृतक परिवारलाई राहत तथा यात्रु टर्मिनल भवन निर्माणमा भएको ढिलाइबारे मुगुबाट निर्वाचित सङ्घीय सांसद खड्गबहादुर शाहीले सोमबारको संसद् बैठकमा ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्