गुटको भेला उद्घाटन गर्न आएका देउवाले गरे काँग्रेसलाई जोड्ने दाबी



२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आक्रमणमा परेका देउवा उपचारका लागि सिंगापुर गएका थिए । उनी पाँच महिनापछि आज मात्रै नेपाल आइपुगेका हुन् । उनको स्वागतका लागि इतर समूहका नेता कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए । आन्तरिक कलहमा फसेको देउवा निकट पक्षले आज राष्ट्रिय भेला आयोजना गर्दैछ । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले उक्त भेलाका प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नेछन् ।

काठमाडौँ ।

पार्टीभित्रको एउटा गुटको भेलामा प्रमुख अतिथि बन्न स्वदेश फर्किएका नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई जोड्न भूमिका खेल्ने दाबी गरेका छन् । उपचारका लागि भनेर पाँच महिनाअघि सिंगापुर गएका देउवा काँग्रेसको विशेष महाधिवेशनसँग असहमत पक्ष (इतर पक्ष)ले शुक्रबार काठमाडौँमा आयोजना गरेको भेलामा सहभागी हुन बिहीबार स्वदेश फर्किएका हुन् । साढे पाँच महिनापछि नेपाल फर्किएका देउवालाई स्वागत गर्न एयरपोर्टमा नेता र समर्थकको बाक्लो भिड लागेको थियो । देउवालाई बाजागाजासहित इतर समूहको सम्पर्क कार्यालय चुनदेवी लगिएको थियो ।

स्वदेश फर्किएलगत्तै एक अपिल जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको दाबी पनि गरेका छन् । देउवाले अहिले नेपाली काँग्रेसमा देखिएको असहमित र निराशा तुरुन्तै समाधान हुनुपर्ने र त्यसमा आफ्नो अनुभव हस्तान्तरण पनि गर्ने बताएका छन् । देउवाले भनेका छन्, ‘विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली काँग्रेसभित्रका विवादहरूमा मिलाप गराएको मेरो अनुभव छ । मलाई विश्वास छ त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु ।’

देउवाले नेपाली काँग्रेस कसैको इगोमा नभई जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताउँदै युवाहरु अघि बढ्दा पाका र अनुभवी सबै खराब भन्ने गलत भाष्यका पछाडिन नलाग्न पनि आग्रह गरेका छन् । ‘युवा साथीहरू अघि बढ्नु पर्छ तर त्यसको मतलब पाका र अनुभवी जति सबै खराब हुन् भन्ने गलत भाष्य र सामाजिक सञ्जालमा भ्युजको पछाडिभन्दा पनि नेपाली काँग्रेसको दायित्व नबिर्सिन आम नेता कार्यकर्ताहरूमा अनुरोध गर्न चाहन्छु,’ देउवाले भनेका छन् ।

देउवाले आफूले पार्टीलाई जोड्न खाजेको दाबी गरे पनि उनी शुक्रबार इतर समूहले आयोजना गरेको भेलामा प्रमुख अतिथिका रुपमा सहभागी हुँदैछन् । उक्त भेलाले पार्टीलाई जोड्छ कि तोड्छ अहिले नै यकिन नभए पनि भेलाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई थप बढाइदिने आकलन भइरहेको छ । यद्यपि इतर समूहले आफ्नो भेलालाई शक्ति प्रदर्शनको रुपमा मात्रै लिएको र अदालतले काँग्रेसको महाधिवेशनको वैधानिकताबारे सुरुदेखि सुनुवाइ गर्न अनुमति दिएको अदालतको निर्णय नआउन्जेल पर्ख र हेरको रणनीति लिने पनि अनुमान गरिएको छ ।

भेलाबाट कुनै पनि नयाँ समानान्तर कमिटी गठन नगरिने रणनीति अपनाइएको बताइएको छ । उक्त भेलाको उद्घाटटन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले गर्दै छन् भने कार्यक्रमको सभापतित्व आयोजक समितिका संयोजक नेता डा. शशांक कोइरालाले गर्नेछन् । साउन ३१ गतेसम्म चल्ने तीनदिने उक्त भेलामा महाधिवेशन प्रतिनिधिसहित देशभरका करिब चार हजार पाँच सय प्रतिनिधिको सहभागिता रहने दाबी गरिएको छ ।

पहिलो दिन उद्घाटन सत्र र शीर्ष नेताहरूको सम्बोधनमा केन्द्रित रहनेछ भने दोस्रो दिन शनिबार राजनीतिक, समसामयिक, सांगठनिक र आर्थिक प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गरिनेछ । प्रस्तुत दस्तावेजहरूमाथि प्रतिनिधिहरूबीच हुने खुला छलफलले संस्थापन पक्षप्रतिको असन्तुष्टि र इतर पक्षको भावी रणनीतिलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

विशेष महाधिवेशन सम्पन्न भएको २०८२ माघ १ गते अघिको सांगठनिक अवस्थालाई नै मान्यता दिनुपर्ने अडान राख्दै आएको इतर पक्षले संस्थापन पक्षले पछि गरेका एकलौटी निर्णयहरूलाई अस्वीकार गर्ने र तत्कालीन शक्ति सन्तुलनकै आधारमा अघि बढ्ने प्रस्ताव पास गर्ने तयारी गरिएको बताइएको छ ।सर्वाेच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा इतर पक्षको उक्त भेला असन्तुष्ट नेताहरुका लागि पूर्वसभापति देउवा र कार्यकर्ता समेतको साथ रहेको देखाएर पार्टीभित्र आफ्नो उपस्थिति र दबाब कायम राख्ने रणनीतिक अभ्यासको रुपमा पनि विश्लेषण भइरहेको छ ।

इतर समूहको कार्यालयमा देउवा नै सभापति

नेपाली काँग्रेसको इतर समूहको सम्पर्क कार्यालयमा पार्टी सभापतिमा शेरबहादुर देउवाकै नाममा नेमप्लेट राखेको छ । चुनदेवीमा स्थापना गरिएको सम्पर्क कार्यालयमा देउवाका लागि बनाइएको कार्यकक्षबाहिर ‘सभापति’ शेरबहादुर देउवा लेखिएको नेमप्लेट टाँसिएको टेबलमा पनि सभापति शेरबहादुर देउवा लेखिएको नेमप्लेट राखिएको छ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पनि नेपाली काँग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।

बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै देउवा नै सभापति रहेको बताए । ‘सानेपा काँग्रेस छुट्टिएर गएको छ, उनीहरु आउनुपर्ने हो, उनीहरुले अनादर गर्छन्, के गर्छन् उनीहरुको कुरा हो । देउवा पार्टीको सभापति नै हो,’ कोइरालाले भने । उनले पार्टीभित्रको असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरी ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नभएको समेत स्पष्ट पारे ।

‘ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्लान् ?’ 

देउवाले लिखित अपिलमा शालीन सन्तुलित भाषा प्रयोग गरे पनि भाषणमा भने आक्रोश देखाइहाले । उनको त्यो आक्रोश आफूमाथि मुद्दा लगाइएको विषयतर्फ लक्षित थियो । विमानस्थलबाट चुनदेवी पुगेपछि त्यहाँ भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए । उनले आक्रोशित हाउभाउमा भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्लान् यहाँ ?’

देउवाले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी पनि गरे । मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको दाबी देउवाले गरे । गणतन्त्रको रक्षाका लागि जनता नै सचेत रहेको पनि बताए । आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका देउवाले आफूविरुद्ध भएका विभिन्न उजुरी र छानबिनमा अदालत जान आफू नडराउने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार