रास्वपा नेतृत्वमा दुईतिहाइको सरकारः संसद्मा कोरम नपुगेपछि चौतर्फी आलोचना



काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा)को सरकारले पनि अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि बढिरहेका बेला संसद्मा पनि रास्वपाको भूमिका आलोचनामा पर्न थालेको छ । संसद्का दुई सय ७५ सिटमध्ये १८२ सांसद एक्लै रास्वपासँगै हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव पेस गर्ने बेला मंगलबार गणपूरक संख्या पुगेन् । गणपूरक संख्या नै नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुन नसकी बैठक स्थगित हुन पुग्यो ।
उक्त विषयमा सत्तापक्षभित्रै, सरकार बाहिर र राष्ट्रियसभामा पनि चर्काे आलोचना भएको छ ।

संसद्मा पर्याप्त संख्या हुँदा पनि आफ्नै सरकारले ल्याएको प्रस्ताव पेस गर्ने बेला सांसदहरु बैठकमा उपस्थित भएनन् । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेको भान भएपछि नेपाली काँग्रेसका सांसद निश्कल राईले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । त्यसपछि सभामुखले ३ मिनेटसम्म घण्टी बजाएर सभाकक्ष बाहिर रहेका सांसदहरूलाई भित्र आउन जनाउ दिए र गणपूरक संख्या यकिन गर्न लगाएका थिए ।

तर, गणना गर्दा सभाकक्षमा जम्माा ६१ जना सांसद थिए । जबकी गणपुरक संख्या पुग्न कूल संख्याको एकतिहाई अर्थात् ६९ जना सांसद उपस्थित भए पुग्छ । बैठकमा विपक्षी बेन्चतर्फ पाँच जना सांसद थिए भने सत्तापक्षको बेन्चर्फ ५६ जना मात्रै सांसद उपस्थित थिए । यद्यपि मंगलबारको बैठकमा २२३ जना सांसदले हाजिरी गरेकोमा सात घण्टा लामो बैठक बेलुकी ८ बजेसम्म लम्बिँदा महत्वपूर्ण समयसम्म सबै सांसदहरु बसेनन् ।

यसरी, एकल बहुमतको सरकार हुँदा पनि संसद्मा गणपूरक संख्या नपुगेको विषय राष्ट्रियसभामा पनि आलोचनाकोे विषय बनेको छ । राष्ट्रियसभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले सांसदहरू नै जिम्मेवारीप्रति अपरिपक्व रहेको देखिएको टिप्पणी गरिन् । ‘प्रतिनिधिसभामा एकल बहुमतको सरकार चलिरहेको छ । तर आफ्नै बहुमत हुँदा पनि गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको खबर हामीले सुन्नुप¥यो,’ उनले भनिन् ।

रास्वपा सांसद गणेश कार्कीले पनि संसद्मा पार्टीका सांसदबाट गल्ती भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पारित गराउनु पर्ने हामीले नै थियो । संसद्मा हामी थोरै भयौँ । थोरै के, कोरमसम्म पुगेन । लाज मान्नु पर्ने ठाउँ यहीँ हो । म आफू दिनभर सदनमा उपस्थित भएको भए पनि अन्यको अनुपस्थितका कारण माफी माग्छु । गनौँ भनेर हाम्रो स्वभाव सार्वजनिक गरिदिएकोमा सांसद निश्कल राईलाई धन्यवाद ।’

रास्वपा लुम्बिनी प्रदेशका संस्थापक महामन्त्री निलराज अधिकारीले अब सांसदहरुलाई लगाम लगाउने बेला भएको बताएका छन् । सांसद कार्कीको स्टाटसमुनि कमेन्ट गर्दै अधिकारीले भनेका छन्, ‘जनताको मतको सम्मान संसद्भित्रको उपस्थिति, मर्यादा, नीति र परिणामबाट देखिनुपर्छ । जनताले अब भाषण होइन, काम खोजिरहेका छन् । आश्वासन होइन, परिणाम खोजिरहेका छन् ।’ उनले सभापति र केन्द्रीय महामन्त्रीलाई सांसदमाथि लगाम लगाउन आग्रह गर्दै लेखेका छन्, ‘लगाम लगाउनुस् हाम्रा माननीयहरुलाई । जिम्मेवारी बुझाउनुस् । जनताको सेवा गर्दछु भनेर राजीखुशीले भारी बोकेको होइन उहाँहरूले ?’

यसैबीच पटक पटक विवादमा आइरहने रास्वपा सांसद आशिका तामाङले कोरम नपुगेकै विषयमा दिएको अभिव्यक्ति पनि यहीबेला चर्चामा छ । उनले संसद्मा यही सम्बन्धमा फेसबुमा स्टाटस लेख्दै सांसदहरू मन्त्रालय धाउनुपर्ने बाध्यताका कारण सदनमा उपस्थिति न्यून हुने गरेको तर्क गरेकी छन् । ‘सांसदहरू सबै मन्त्रालयको ढोकामा मन्त्री र सचिवलाई भेट्ने अनि गुनासो पोख्न लाइनमा हुनुहुन्छ, अनि पुग्छ त संख्या ?’ उनले लेखेकी छन् ।

सरकार फेरिए पनि प्रधानमन्त्री नयाँ आए पनि सरकारी कामको कार्यान्वयन गर्ने कर्मचारी र मन्त्रालयका सचिवहरू नै भएकाले सांसदहरूले आफ्ना क्षेत्रका कामका लागि उनीहरूलाई निरन्तर पछ्याउनुपर्ने उनको भनाइ छ । तामाङले तीन दिनमा हुने अपेक्षा गरेको काम तीन महिनासम्म नभएपछि दिनमा पटक–पटक मन्त्रालय धाउनुपर्ने अवस्था रहेको उल्लेख गरेकी छन् । जनताको गुनासो सबैभन्दा पहिले निर्वाचित क्षेत्रका सांसदसमक्ष आउने गरेको भन्दै उनले ती गुनासा लिएर सम्बन्धित कार्यालय वा मन्त्रालयमा सम्पर्क गर्दा कहिले सम्बन्धित व्यक्ति ‘अफिसमा नभएको’ र कहिले ‘व्यस्त रहेको’ जवाफ आउने गरेको गुनासो गरेकी छन् ।

‘एउटा मन्त्रालयमा बल्लतल्ल गुनासो त सकियो, अर्को शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधारलगायतका गुनासा लिएर सम्बन्धित मन्त्रालय जान अझै बाँकी नै हुन्छ,’ उनले भनेकी छन् ।यसैबीच सेतापाटीले संसद्मा कोरम नपुग्नुमा संसद् भवनमा क्यान्टिन र पुस्तकालयको उचित व्यवस्था नहुँदा सांसदहरुलाई लामो बैठकका बेला अडिने ठाउँ नहुने र एकैदिन धेरै लामो बैठक चलाउँदा पनि सांसदहरु उपस्थित हुन नसक्ने स्थिति आएको लेखेको छ ।

यसैबीच, रास्वपाका सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गरे । अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न नसके आगामी पुस्ताका युवाले पनि यस्तै अवसर नपाउन सक्ने उनको चेतावनी छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार