जुम्ला ।
जिल्लामा खाना पकाउने ग्यासको अभावले विद्यार्थीको दैनिक जीवन तथा पठनपाठन प्रभावित भएपछि अब विद्यार्थीलाई प्राथमिकता दिएर ग्यास वितरण गरिने भएको छ । ग्यास आपूर्तिमा देखिएको संकटका कारण बजारमा लामो समयदेखि अभाव र असमान वितरणको अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालयले विद्यार्थीलाई राहत पुग्ने गरी वितरण प्रणाली व्यवस्थित गर्ने तयारी गरेको हो । आगामी शनिबार लुना जनरल स्टोरमा आउने ग्यास वितरण गर्दा विद्यार्थीलाई विशेष प्राथमिकता दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए ।
उनका अनुसार विगतमाजस्तै फुटकर रूपमा ग्यास वितरण गर्ने व्यवस्था मिलाउन डिलरहरूसँग सहमति भएको छ । आयात भएर जिल्लामा भित्रिने कुल ग्यासमध्ये केही सिलिण्डर फुटकर विक्रेतामार्फत सर्वसाधारणलाई उपलब्ध गराइनेछ भने केही सिलिण्डर विद्यार्थीलाई प्रत्यक्ष उपलब्ध गराउने व्यवस्था गरिने उनले बताए ।
ग्यास अभावका कारण भाडामा बसेर अध्ययन गरिरहेका विद्यार्थी सबैभन्दा बढी प्रभावित भएको उल्लेख छ । उक्त अवस्थालाई ध्यानमा राख्दै वितरणमा उनीहरूलाई प्राथमिकता दिन लागिएको प्रशासनको भनाइ छ ।
ग्यास वितरणमा सबै विद्यार्थीलाई समान रूपमा समेट्नेभन्दा तत्काल बढी प्रभावित समूहलाई प्राथमिकता दिने तयारी गरिएको छ । कर्णाली प्राविधिक शिक्षालय, कर्णाली माध्यमिक विद्यालय अनामनगर विशेष क्षमताका विद्यार्थी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्ला बजारमा भाडामा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई प्राथमिकतामा राखिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार भएको छलफलमा विद्यार्थीलाई प्राथमिकता दिएर ग्यास वितरण गर्ने मौखिक सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका जुम्ला सभापति मक्करबहादुर भण्डारीले बताए । उनका अनुसार विशेषगरी घरबाट टाढा बसेर अध्ययन गरिरहेका विद्यार्थी ग्यास अभावबाट प्रत्यक्ष प्रभावित छन् । नियमित खाना पकाउन ग्यास नपाउँदा उनीहरूको दैनिक जीवन प्रभावित हुनुका साथै अध्ययनमा समेत असर परिरहेको भन्दै प्रशासनसँग विद्यार्थीलाई प्राथमिकता दिन आग्रह गरिएको थियो ।
आगामी सातादेखि ग्यास वितरणमा विगतकै प्रणालीलाई निरन्तरता दिँदै सम्बन्धित डिपोबाटै बिक्री–वितरण गर्ने सहमति भएको हो । यसअघि ग्यास वितरणका क्रममा लामो लाइन लाग्ने, एउटै व्यक्तिले बढी सिलिण्डर लैजाने तथा वास्तविक उपभोक्ता ग्यास पाउनबाट वञ्चित हुने गुनासो बढ्दै आएको थियो । प्रशासनले ग्यास वितरण गर्दा अनावश्यक भीड र लाइन नलगाउन डिलरहरूलाई अनुरोध गरेको छ ।
विशेषगरी विद्यार्थी तथा दैनिक उपभोगका लागि सीमित मात्रामा ग्यास आवश्यक पर्ने परिवारलाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले वितरण प्रणालीलाई पुरानै डिपो केन्द्रित बनाउने तयारी गरिएको हो । लुना जनरल स्टोरकी सञ्चालक सृजना शाहीले डिपोबाटै ग्यास वितरण गर्ने निर्णय स्वागतयोग्य भएको बताइन् । उनका अनुसार लाइन लगाएर ग्यास वितरण गर्दा वास्तविक उपभोक्ता छुट्ने र पहुँच भएका वा एकैपटक धेरै सिलिण्डर मौज्दात गर्ने प्रवृत्ति बढ्ने समस्या देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्