नन्दराम जैशी । सुर्खेत ।
कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमणपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी तपेन्द्र बमसहित तीनजना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । तर प्रारम्भिक अनुुसन्धान अनुसार अस्पतालमा वाइफाइ चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि झगडाको विवाद सुुरु भएको देखिने उनले बताए ।
आरोपितले शुक्रबार दिउँसो डाक्टर र नर्समाथि कुटपिट गरेको केही घण्टामै राती फेरि अस्पताल प्रवेश गरेर कर्मचारीमाथि आक्रमण गरेका हुुन् । साथै अस्पतालका उपकरण र संरचनामा तोडफोड भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनापछि पक्राउ परेकामाथि अनुसन्धान तथा कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए । उनका अनुसार घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन अस्पतालका पीडित कर्मचारीले जाहेरी दिने तयारी गरिरहेका छन् ।
जाहेरी प्राप्त भएपछि घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारवाही गरिने र पीडितले न्याय पाउने उनले बताए । ‘पीडित कर्मचारीबाट जाहेरी आउने तयारी भइरहेको छ, भौगोलिक कठिनाईले पीडित उपस्थित भएर जाहेरी दिन ढिलाइ भएको हो’ उनले भने, ‘जाहेरीपछि घटनाको निष्पक्ष छानबिन हुन्छ । दोषीलाई कानुनअनुसार कारवाही गरिन्छ र पीडितले न्याय पाउने व्यवस्था हुन्छ ।’
पलाँता अस्पतालका मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो कुटपिट भएको थियो । दिउँसोको घटनापछि अस्पतालमा तनाव बढेपछि घटनाबारे छलफल गर्न डा. अलीसहित अस्पतालका कर्मचारी साँझ प्रहरी चौकी पुगेका थिए । छलफलमा आक्रमणमा संलग्न व्यक्ति, स्थानीय, जनप्रतिनिधि तथा प्रहरीको सहभागिता थियो ।
छलफलका क्रममा घटना मिलाउन दबाब दिइएको डा. अलीको भनाइ छ । तर आफूहरूमाथि केही दिनदेखि गालीगलौज र दुव्र्यवहार हुँदै आएको तथा शुक्रबार कुटपिटसमेत भएपछि दोषीलाई कारवाही नगरी मिलापत्र गर्न नसक्ने अडान आफूहरूले लिएको उनले बताए । उनका अनुसार एक हप्तादेखि लगातार गाली र दुव्र्यवहार गरिएपछि स्वास्थ्यकर्मी पक्षले मिल्न नमानेका हुुन् ।
‘मिलापत्र नगर्ने अडानसहित राती पौने ९ बजेतिर अस्पताल फर्किएको केही समयमै फेरि आक्रमण भयो’ डा. अलीले भने, ‘राती करिब सवा ९ बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका हुन् । बमले अस्पतालका अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि कुटपिट गरेका थिए ।’ डा. अलीका अनुसार अस्पताल प्रवेश गर्ने क्रममा बमले अपशब्द प्रयोग गर्दै ‘ओइ मधेसी बाहिर निस्की’ भन्दै बाहिरी ढोका तोडफोड गरेका थिए । उनलाई रोक्न खोज्दा सुरक्षा गार्डमाथि समेत आक्रमण भएको हो । डा. अली अस्पतालको भित्री भागमा रहेकाले आफूलाई आक्रमण गर्न नसकेको र त्यसपछि आक्रमण गर्नेले अस्पतालका विभिन्न संरचना तथा उपकरण तोडफोड गरेको बताउँछन् ।
भिडिओ स्क्यान लगायत मेसिनमा क्षती (बक्स)
आक्रमणले अस्पतालको ओपीडीमा रहेको भिडिओ स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा तथा झ्याललगायतमा क्षति पु¥याएका छन् । फार्मेसीमा समेत व्यापक तोडफोड गरिएको छ । ढोका फोरेर फार्मेसीभित्र प्रवेश गरी औषधि राखिएका दराज तथा ¥याक लडाइएको सीसीटीभी दृश्यमा देखिएको डा.अलीले बताए । तर घटना भएको केही समयपछि प्रहरी पनि अस्पताल पुगेको थियो । प्रहरीले आक्रमणमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । घटनापछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू असुरक्षित महसुस गरिरहेका छन् । डा. अलीले कार्यस्थलमै पटक–पटक आक्रमण भएपछि यस्तो अवस्थामा अस्पतालमा बसेर स्वास्थ्य सेवा दिन कठिन भएको बताए ।
ग्रामिण तथा दुर्गम क्षेत्रमा नागरिकलाई स्वास्थ्य सेवा दिन खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै हुने आक्रमणले स्वास्थ्य सेवा प्रवाहसँगै स्वास्थ्यकर्मीको सुरक्षाको प्रश्नसमेत गम्भीर बनाएको छ । पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेका अनुसार डा. अलीलाई प्रहरीको सहयोगमा अस्पतालबाट सुरक्षित रूपमा बाहिरिने व्यवस्था मिलाइएको छ ।
पलाँता अस्पतालको यो घटनाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । उपचारका लागि आउने बिरामीलाई सेवा दिनुपर्ने स्वास्थ्य संस्थामै चिकित्सक र कर्मचारीमाथि आक्रमण हुनु तथा अस्पतालका अत्यावश्यक उपकरण र संरचना तोडफोड गरिनुले स्वास्थ्य सेवा प्रभावित हुने जोखिम बढाएको हो ।
अब पक्राउ परेका तीन जनामाथि हुने अनुसन्धान, पीडित पक्षको जाहेरी र त्यसका आधारमा अघि बढ्ने कानुनी प्रक्रियाले घटनाको थप तथ्य सार्वजनिक गर्नेछ । तर दुर्गममा नागरिकको ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीको आफ्नै ज्यान र कार्यस्थलको सुरक्षा राज्यले सुनिश्चित गर्नुुपर्छ ।
छानबिन र कारवाही माग (बक्स)
पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमणप्रति नेपाली काँग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत गम्भीर चासो व्यक्त गरेका छन् । शुक्रबार दिउँसो डाक्टर र नर्समाथि कुटपिट तथा राति फेरि अस्पतालमै प्रवेश गरेर आक्रमण भएको घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारवाही गर्न उनले सरकारसँग माग गरेका छन् । पौडेलले सामाजिक सञ्जालमार्फत अस्पतालभित्रै प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनालाई गम्भीर रूपमा लिन आग्रह गरेका हुन् ।
‘अस्पतालभित्रै पसेर आक्रमण भएको घटनाको तत्काल सम्पूर्ण छानबिन गरी कानुनबमोजिम कारवाही गरियोस्’ उनले भनेका छन्, ‘नागरिकको ज्यान बचाउनेहरूको आफ्नै ज्यान जोखिममा पर्दा सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाओस् ।’ दूरदराजमा ज्यान जोखिममा राखेर नागरिकको सेवामा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुःखद र चिन्ताजनक भएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्