चन्द्रा सिंह मृत्यु प्रकरणमा अनुसन्धानका लागि सरकारी कर्मचारी पक्राउ



वीरेन्द्रनगर ।

सुर्खेतस्थित एकीकृत कृषि प्रयोगशालाकी कर्मचारी २७ वर्षीया चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । यो घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा (नासु) कविलाल विसी पक्राउ परेका छन् । उनी पक्राउ परेपछि यो घटना थप रहस्यमय बनेको हो । उनको पक्राउसँगे प्रहरीले आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकका श्रीमान् महेश बस्नेतले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले साउन १६ गते वीरेन्द्रनगर–८ खजुराबाट विसीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार अनुसन्धानका क्रममा चन्द्रा सिंह र कविलाल विसीबीच फेसबुक म्यासेन्जरमार्फत भएका केही शंकास्पद संवाद फेला परेका छन् । ती संवादको प्राविधिक विश्लेषणसहित घटनासँगको सम्बन्धबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले ती संवादको विषयवस्तुबारे भने सार्वजनिक गरेको छैन । जाजरकोटको भेरी नगरपालिका–१ की स्थायी बासिन्दा चन्द्रा सिंह विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा नायब प्राविधिक सहायकका रूपमा कार्यरत थिइन् । उनी वीरेन्द्रनगर–७ स्थित कार्यालय परिसरको आवास गृहमा बस्दै आएकी थिइन् ।

घटनाको दिन उनी आवास गृहको शौचालयमा बेहोस अवस्थामा फेला परेकी थिइन् । सहकर्मीले उद्धार गरी तत्काल देउती अस्पताल पु¥याएका थिए । त्यहाँबाट थप उपचारका लागि प्रदेश अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । सुरुदेखि नै घटनालाई रहस्यमय रूपमा हेरिएको थियो । परिवारले मृत्युको कारणमाथि शंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको थियो । त्यसपछि श्रीमान् महेश बस्नेतले आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी दर्ता गराएका थिए । सोही आधारमा प्रहरीले अनुसन्धानको दायरा विस्तार गर्दै सरकारी कर्मचारी कविलाल विसीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हाल डिजिटल प्रमाण, मोबाइल फोन, सामाजिक सञ्जालमा भएका संवाद तथा अन्य परिस्थितिजन्य प्रमाणहरूको विश्लेषण भइरहेको छ । पक्राउ परेका विसीमाथि थप अनुसन्धान जारी रहेकाले घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ । यस घटनाले सरकारी कार्यालयका कर्मचारी, स्थानीय समुदाय तथा मृतकका आफन्तलाई स्तब्ध बनाएको छ । आइतबार चन्द्रा सिंहको अन्त्येष्टि गरिएको छ भने घटनाको सत्यतथ्य सार्वजनिक गर्न परिवारले सम्बन्धित निकायसँग माग गरिरहेका छन् ।

प्रहरीले अनुसन्धानलाई निष्पक्ष र तथ्यमा आधारित ढंगले अघि बढाइरहेको जनाउँदै अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मात्रै कानुनी प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेको छ । यो घटना हाल अनुसन्धानको प्रक्रियामै रहेकाले अदालतबाट कसुर प्रमाणित भएपछि मात्रै पक्राउ परेका व्यक्ति कानुनी रूपमा दोषी ठहरिनेछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार