गमगढी–नाक्चेलाग्ना सडक निर्माण कार्य प्रभावित



मुगु ।

मुगुको बहुप्रतीक्षित गमगढी–नाक्चेलाग्ना सडक आयोजनाको निर्माण कार्य डिजेल अभावका कारण एक सातादेखि पूर्ण रूपमा ठप्प भएको छ । सडक निर्माणमा प्रयोग हुने डोजर, एक्साभेटरलगायत हेभी उपकरण सञ्चालन गर्न आवश्यक इन्धन नपुग्दा निर्माण कार्य रोकिएको हो । गमगढीदेखि मुगुमकार्मारोङ गाउँपालिका–१ छायलसम्मका विभिन्न स्थानमा लगातारको वर्षासँगै गएको पहिरोले सडक अवरुद्ध बनाएपछि इन्धन ढुवानी हुन सकेको छैन ।

सडक अवरुद्ध हुँदा निर्माण सामग्री र इन्धन आपूर्ति प्रभावित बनेको छ भने सडक विस्तारको काम पनि रोकिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको बताए । उनका अनुसार मौसममा सुधार आउनेबित्तिकै आवश्यक मेसिन परिचालन गरी अवरुद्ध सडक खुलाइने र इन्धन आपूर्ति सहज भएपछि निर्माण कार्य पुनः सञ्चालन गरिनेछ ।

पहिरो हटाएर सडक खुलाउने कामलाई प्राथमिकतामा राखेको उनले बताए । इन्धन आपूर्ति नियमित हुनेबित्तिकै निर्माण कम्पनीले पनि काम पुनः अघि बढाउने महताराको भनाइ छ । उनका अनुसार निर्माण कार्य रोकिँदा स्थानीयवासी र यात्रु दुवै समस्यामा परेका छन् । वर्षायाममा पटक–पटक पहिरो जाँदा सडक अवरुद्ध हुने, यातायात सेवा ठप्प हुने र अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुने समस्या दोहोरिँदै आएको छ ।

यसले स्थानीयको दैनिक जनजीवनसँगै विकास निर्माणका कामसमेत प्रभावित हुने गरेका छन् ।‘कर्णाली प्रदेशकै महत्त्वपूर्ण पूर्वाधार आयोजनामध्ये एक मानिएको गमगढी–नाक्चेलाग्ना सडकले मुगुमकार्मारोङ क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकामसँग जोड्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘तर वर्षौँदेखि निर्माणाधीन रहेको यो आयोजनाले अझै अपेक्षित गति लिन सकेको छैन ।’

आयोजनाअन्तर्गत हालसम्म गमगढीदेखि माग्री भिरसम्म करिब १८ दशमलव पाँच किलोमिटर सडक मात्रै ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । भौगोलिक विकटता, बर्सेनि दोहोरिने पहिरो, अपर्याप्त बजेट, निर्माण सामग्री ढुवानीको कठिनाइ र प्रतिकूल मौसमका कारण आयोजना निरन्तर प्रभावित हुँदै आएको स्थानीयको गुनासो छ ।

स्थानीय सरोकारवालाहरूले मुगु र उत्तरी भेगको विकाससँग प्रत्यक्ष जोडिएको यस सडक आयोजनालाई उच्च प्राथमिकतामा राखेर वर्षायाममा समेत निर्माण कार्य निरन्तर सञ्चालन गर्न सकिने दीर्घकालीन योजना बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार सडक समयमै सम्पन्न हुन सके उत्तरी मुगुका नागरिकको यातायात, स्वास्थ्य, शिक्षा, व्यापार तथा पर्यटन क्षेत्रले उल्लेखनीय लाभ प्राप्त गर्ने अपेक्षा छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार