३८ हजार सवारी कारबाहीबाट तीन करोडभन्दा बढी राजस्व उठ्यो



सुुर्खेत ।

कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथिको कारबाही प्रक्रिया तीव्र पारिएको छ । सरकारी कारबाहीबाट धमाधम राजस्व पनि संकलन हुन थालेको छ । नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गत आर्थिक वर्ष २०८२–८३ मा ३८ हजार ८८५ सवारीसाधनलाई कारबाही गर्दै तीन करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त विवरण सार्वजनिक गरेका हुुन् ।

अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा ४९ हजार ९६४ सवारीसाधन कारबाहीमा पर्दा तीन करोड ६७ लाख ४३ हजार रुपैयाँ राजस्व असुल भएको थियो । त्यसको तुलनामा गत आर्थिक वर्ष कारबाहीको संख्या २३ प्रतिशत र राजस्व संकलन २० प्रतिशतले घटेको हो । प्रहरीका अनुसार यो कमीलाई राजस्व संकलनमा आएको गिरावटका रूपमा मात्र नभई ट्राफिक नियम पालनामा सुधार आएको सकारात्मक संकेतका रूपमा हेरिएको छ । प्रहरी उपरीक्षक रिजालले प्रहरीको उद्देश्य राजस्व उठाउनु मात्रै नभई सडक अनुशासन कायम गर्दै दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पारे ।

‘कारबाहीको संख्या र राजस्व घट्नु भनेको नियम पालना बढ्नु हो । हाम्रो प्राथमिकता राजस्व संकलन होइन,’ उनले भने, ‘नागरिकलाई ट्राफिक नियम पालना गराएर दुर्घटना कम गर्नु हाम्रो उद्देशय हो । यससमा हामी लागि परेका छौँ ।’ कर्णाली प्रदेशमा दैनिक औसत १०१ नयाँ सवारीसाधन दर्ता हुने गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको हो । सवारीको चाप क्रमशः बढ्दै गए पनि दुर्घटना नियन्त्रणका लागि सडक सुरक्षा, ट्राफिक निगरानी र जनचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको प्रहरीको भनाइ छ ।

प्रदेशभर भएका दुर्घटनाको अध्ययनअनुसार सुर्खेतमा सबैभन्दा धेरै ६९० सवारी दुर्घटना भएका छन् भने मुगुमा सबैभन्दा कम १७ दुर्घटना भएका छन् । कूल दुर्घटनामध्ये करिब ३.२७ प्रतिशत दुर्घटनाको अभिलेख रहेको प्रहरीले जनाएको छ । प्रहरीको विश्लेषणअनुसार कर्णालीमा हुने अधिकांश सवारी दुर्घटनामा २६ देखि ४० वर्ष उमेर समूहका चालक संलग्न हुने गरेका छन् । विशेषगरी दुईपाङ्ग्रे सवारीसाधन तीव्र गतिमा चलाउँदा दुर्घटनाको जोखिम उच्च देखिएको हो ।

दुर्घटना हुने समय पनि प्रायः अपराह्न १२ बजेदेखि साँझ ६ बजेसम्म रहने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । यही अवधिमा सवारी चाप बढी हुने, तीव्र गति र असावधानीका कारण दुर्घटनाको सम्भावना बढ्ने गरेको प्रहरीको निष्कर्ष छ । कर्णाली प्रदेशमा कूल नौ हजार ६८७ किलोमिटर सडक सञ्जाल रहेको छ । तीमध्ये एक हजार ३८४ किलोमिटर पक्की, एक हजार १९४ किलोमिटर ग्राभेल तथा सात हजार १०८ किलोमिटर कच्ची सडक छन् । यति विशाल सडक सञ्जालमा हाल २१५ जना ट्राफिक प्रहरी मात्र कार्यरत छन् ।

प्रहरीका अनुसार प्रदेशका करिब १६ लाख ९५ हजार जनसंख्याका लागि ट्राफिक प्रहरीको अनुपात अत्यन्त न्यून छ । औसतमा एक ट्राफिक प्रहरीले करिब ४५ किलोमिटर सडकको निगरानी गर्नुपर्ने अवस्था रहेको छ, जसले प्रभावकारी ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले कारबाहीसँगै जनचेतनामूलक अभियानलाई पनि निरन्तरता दिएको जनाएको छ ।

आर्थिक वर्ष २०८२–८३ मा प्रदेशभर ट्राफिक नियम पालनासम्बन्धी आठ हजार २७८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रमबाट पाँच लाख ६९ हजार २०६ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार जनचेतना, नियमित निगरानी, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा चालकको जिम्मेवारीबोधमा आएको वृद्धिका कारण कारबाही र राजस्व दुवै घट्दै गएको हो । आगामी दिनमा सडक सुरक्षा अभिवृद्धि, दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रणाली विकासलाई अझ प्रभावकारी बनाइने कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार