काठमाडौँ ।
वर्षौंदेखि सरकारी जग्गा तथा संरचना प्रयोग गरेर पनि भाडा नतिर्ने उद्योगहरूमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कडाइ गरेपछि बक्यौता रकम धमाधम असुल हुन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले उद्योगहरूलाई सात दिनभित्र सम्पूर्ण बक्यौता भाडा चुक्ता गर्न निर्देशन दिँदै अन्यथा विद्युत् र खानेपानीको लाइन काटिने चेतावनी दिएकी थिइन् । उक्त निर्देशनपछि कारबाहीबाट बच्न उद्योगीहरूले बक्यौता तिर्न थालेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबार मात्रै ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता असुल भएको छ । यससँगै हालसम्म सरकारको खातामा ४६ करोड ७३ लाख ११ हजार ९६४ रुपैयाँ ५२ पैसा जम्मा भएको छ । बक्यौता चुक्ता गरेपछि हिजो र आज गरी थप पाँच उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको मन्त्रालयले जनाएको छ । यद्यपि, अझै पनि २१ उद्योगले बक्यौता नतिरेका कारण उनीहरूको विद्युत् आपूर्ति बन्द नै रहेको छ ।
यसैबीच, सबैभन्दा बढी बक्यौता रहेका दुई कम्पनीले भने अझै सरकारी निर्देशन पालना नगरेको मन्त्रालयले जनाएको छ । कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिले ३ करोड ७५ लाख ३६ हजार ४५० रुपैयाँ ७८ पैसा तथा कन्टिनेन्टल सर्भिसेज प्रालिले १ करोड १ लाख ५३ हजार ४११ रुपैयाँ १७ पैसा (जरिवाना बाहेक) तिर्न बाँकी रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
यी दुवै कम्पनीले बक्यौता नतिरी सरकारी गोदाम सञ्चालन गरिरहेको पाइएको भन्दै मन्त्रालयले थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ । मन्त्रालय स्रोतका अनुसार सम्बन्धित निकायसँग परामर्श गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।









प्रतिक्रिया दिनुहोस्