हुम्ला ।
नेपाल–चीन सीमावर्ती हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित हिल्सामा रहेका सीमा स्तम्भको संयुक्त अनुगमन गरिएको छ । अनुगमनपछि केही सीमा चिन्ह तत्काल संरक्षण गर्नुपर्ने अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । नियमित सीमा व्यवस्थापन र सुरक्षा समन्वयअन्तर्गत दुबै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा सीमा स्तम्भको निरीक्षण गर्दै सीमाको अवस्था, सुरक्षा चुनौती र संरक्षणका आवश्यक उपायबारे छलफल गरेका हुन् ।
नेपालको उत्तरी नाका हिल्सा व्यापार, आवतजावत र रणनीतिक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ । यही क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्थाले सीमा व्यवस्थापनको प्रभावकारितासँगै दुई देशबीचको विश्वास र समन्वयलाई पनि प्रत्यक्ष प्रभाव पार्ने भएकाले संयुक्त अनुगमनलाई विशेष महत्वका साथ हेरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्लाका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार नियमित रूपमा गरिने सीमा अनुगमन कार्यक्रमअन्तर्गत यस पटक नेपाली र चिनियाँ सुरक्षाकर्मीको संयुक्त टोलीले सीमा स्तम्भ नम्बर ७, ८ र ९ को निरीक्षण गरेको छ ।
अनुगमनका क्रममा सीमा स्तम्भ नम्बर ८ र ९ को अवस्था सन्तोषजनक भेटिए पनि नम्बर ७ अन्तर्गत रहेका दुबै चिन्ह संरक्षणको दृष्टिले जोखिममा रहेको पाइएको उनले बताए । उनका अनुसार नेपाली भूभागमा रहेको सीमा स्तम्भ नम्बर ७ (क) भित्तामा निर्माण गरिएको र त्यस क्षेत्रमा गरिएको पेन्टिङ तथा कमजोर भू–बनोटका कारण वर्षायाममा पहिरोले क्षति पु¥याउन सक्ने जोखिम छ । त्यस्तै चिनियाँ भूभागतर्फ रहेको सीमा स्तम्भ नम्बर ७ (ख) नदी किनारमा ढल्किएको अवस्थामा भेटिएकाले त्यसको संरक्षणका लागि दुबै देशको पहल आवश्यक देखिएको उनले बताए ।
‘सीमा स्तम्भ प्राकृतिक प्रकोपका कारण जोखिममा परे पनि एकतर्फी रूपमा मर्मत वा स्थानान्तरण गर्न नमिल्ने भएकाले द्विपक्षीय सहमतिमार्फत मात्रै आवश्यक निर्णय गर्न सकिने देखिन्छ,’ उनले भने, ‘यही कारण आगामी नेपाल–चीन स्थानीय सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट उक्त विषय औपचारिक रूपमा उठाउने तयारी छ ।’
सीमा स्तम्भ भूगोल छुट्याउने संरचना मात्र नभई दुई सार्वभौम राष्ट्रबीचको कानुनी सीमाको प्रमाण पनि भएकाले यसको संरक्षणलाई संवेदनशील विषयका रूपमा लिइएको छ ।
प्राकृतिक विपद्, नदी कटान, पहिरो वा भू–क्षयका कारण सीमा चिन्हमा क्षति पुग्न थालेमा समयमै संयुक्त निरीक्षण र संरक्षण नगर्दा भविष्यमा प्रशासनिक तथा प्राविधिक जटिलता उत्पन्न हुन सक्ने विज्ञहरूको बुझाइ छ । संयुक्त अनुगमनका क्रममा दुवै देशका स्थानीय सुरक्षा कमाण्डरहरूले सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रमा हुने गतिविधि, सूचना आदान–प्रदान तथा शान्ति–सुरक्षा सुदृढीकरणका विषयमा पनि अनुभव साटासाट गरेका थिए ।
सीमामा हुने नियमित समन्वयले आपसी विश्वास बढाउनुका साथै अवैध गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र सीमाको प्रभावकारी निगरानीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रमा स्थापित सीमा स्तम्भहरूको नियमित अनुगमन र संयुक्त मूल्यांकनले सीमाको वास्तविक अवस्था अभिलेखीकरण गर्नुका साथै आवश्यक संरक्षणका लागि समयमै पहल गर्न आधार तयार गर्ने सुरक्षा अधिकारीहरूको विश्वास छ । विशेषगरी हिल्सा जस्तो दुर्गम र प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको क्षेत्रमा सीमा स्तम्भको संरक्षणलाई अब थप प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता संयुक्त अनुगमनले पुनः उजागर गरेको छ ।









प्रतिक्रिया दिनुहोस्