
सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सहभागी । तस्बिरः गोपाल दाहाल /रासस
शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तापक्ष र विपक्षी दलका नेताहरूले सरकारको काम कारबाहीप्रति गम्भीर विरोध र आचोचना गरेका छन् । बैठकको शून्य समय र विशेष समयमा बोल्ने सांसदहरूले सरकारको गतिविधि र आम नागरिकका सवालका विषय उठाएका हुन् । नेकपा एमाले सांसद गणेशसिंह ठगुन्नाले मंगलबार प्रतिनिधिसभा बैठकमा मिडिया र राजनीतिक नेतृत्वको घरमा सवारीसाधन तेस्र्याएर मानसिक त्रास फैलाउने काम गरेको बताए ।
ठगुन्नाले भने, ‘उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ ।’ त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्लले काठमाडौँको न्यूरोड र मिडिया हाउसका अगाडि सवारीसाधन तेस्र्याउने कार्य राज्य संरक्षित मान्छेबाट भएको आरोप लगाए । ‘हिजो र अस्ति जुन घटना राजधानीमा भए, त्यो गम्भीर कुरा छ । राज्य संरक्षित मान्छेहरूबाट न्यूरोड लगायतका सडकमा दिनभर जस्तो सडक अवरूद्ध गरियो । हिजो मिडिया हाउसको अगाडि गाडीहरू तेस्र्याइयो । प्रमुख प्रतिपक्षी दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम भए,’ मल्लले भने ।
लगत्तै रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला)ले विपक्षी सांसद रमेश मल्लको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी थिइन् । मल्लले हिजो काठमाडौँमा सरकार संरक्षितहरूबाटै मिडिया र नेताका घरमा गाडी तेस्र्याएर राज्य आतंक मच्चाएको बताएका थिए । त्यसप्रति आपत्ति जनाउँदै संग्रौलाले उक्त अभिव्यक्ति पुष्टि गर्नुपर्ने कि अभिव्यक्ति हटाउनुपर्ने बताइन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । उनले लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गरे ।
सांसद राईले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो । तर ढुंगा बोल्ला, मान्छे बोल्दैन् भनेजस्तै भएको छ ।’ प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले संसद्मा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको पहिलो दायित्व भएको बताएका छन् । संसद्मा बोल्दै शाहीले सीमा (सिमाना)सम्बन्धी आफ्नो अडान यथावत् रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गरे ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सचेतक निश्कल राईले अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आन्दोलन गरेका जेनजीहरूले अहिले सरकारबाटै लाठी खानुपरेको टिप्पणी गरेका छन् । सरकारले सुकुम्वासीहरूमाथि सामूहिक उत्पीडन नै सुरु गरेको उनले बताए । उनले आफ्नो पार्टीका सभापति गगन थापाको घर र सञ्चारमाध्यमहरूका कार्यालयअघि सडकमा गाडी पार्किङ गरेको विषय उठाउँदै विपक्षी दललाई तर्साउन खोजिएको उनले बताए । साथै उनले प्रधानमन्त्री बालेन शाहमाथि प्रश्न गर्न नपाइने हो भनेर पनि सोधेका थिए ।
‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ,’ उनले भने । प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’को संज्ञा दिइएकोप्रति सत्तारुढ दल रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति जनाए । उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेका छौँ । जुन हिसाबले अघिका माननीय ज्यूले नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई श्री ८ को सरकार भनेर जुन सम्बोधन गर्नुभएको छ ।संविधानले त्यो भाषा स्वीकार्दैन । सदनले त्यो भाषा स्वीकार्दैन । त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’
नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सञ्चारगृहको गेटमा गाडी तेर्साइनु वाक स्वतन्त्रतामाथिको धावा भएको बताइन् । उनले भनिन्, ‘सञ्चारगृहहरूको गेटमा र नेपाली काँग्रेसका सभापति गगन थापाको घरको गेटमा शंकास्पद रूपमा गाडीहरू तेर्साएर नागरिक क्षेत्रलाई तर्साउने जुन योजनाबद्ध खेल भयो, यो नागरिक क्षेत्रको प्रत्यक्ष आक्रमण हो । यो वाक स्वतन्त्रतामाथिको धावा हो ।’ नेपाली कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै संसद्प्रति जवाफदेही बन्न प्रधानमन्त्रीसँग माग गरे ।
सांसद दुलालले महंगी बढेको, सुकुम्वासी बस्तीमा अमानवीय व्यवहार भएको र गृहमन्त्रीको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना गरे । संसद् मन्त्रीले सांसदलाई धम्काउने थलो नभई सरकारलाई जवाफदेही बनाउने सर्वोच्च जनप्रतिनिधि संस्था भएको दुलालले बताए । यस्तै विशेष समयमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले विपक्षी दलले उठाएका प्रश्नहरूको प्रश्नको जवाफ टिपोट गर्छ की गर्दैन भन्दै प्रश्न उठाएका थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले मिडियामा सरकारले सातवटै प्रदेशका अस्पतालमा बर्न सेन्टर स्थापना गर्न निर्देशन दिएको सुनेपछि सम्बन्धित अस्पतालमा औपचारिक निर्देशन नभएको नपाइएको भन्दै सरकारले अस्पताल निर्माण गर्ने मात्रै भन्दा पनि जनशक्ति र उपकरण विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिइन् । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै रुलिङको माग गरेको छ ।
एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा भएको व्यवस्था प्रधानमन्त्री शाह र सभापति लामिछानेले उल्लंघन गरेको बताए । प्रतिनिधिसभा सदस्य रिना उपे्रतीले नेपालले पनि सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गरिन् । यसैगरी, नेकपाका सांसद गणेश विकले सरकारको सय दिनमा जनतामैत्री काम गर्न नसकेको बताए ।
सत्तापक्षकै सांसदद्वारा सरकारको विरोध
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध र त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । आफू एउटा सांसद र आमसञ्चारको विद्यार्थीका रूपमा मात्र नभई नेपालको संविधानको प्रस्तावनामै सुनिश्चित गरिएको पूर्ण प्रेस स्वतन्त्रताको पहरेदार र वकालतकर्ताका रूपमा सदनमा उभिएको उल्लेख गर्दै परियारले राजधानीका एक अग्रणी सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत ठप्प पार्ने प्रयासको कडा शब्दमा भत्र्सना गरे ।
उनले सत्यसँग डराउनेहरूले मात्र यस्ता गतिविधि गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु ‘हत्केलाले सूर्य छेक्न खोज्नु’जस्तै भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे । सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ ।
‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ । हामी सबै मिल्यौँ भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भने । उनले यसै हप्ता आत्मदाह प्रयास गरेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले काठमाडौँमा घर भाडा महँगो भएको भन्दै संसद्मै प्रश्न उठाए । ‘हामी जस्ताले भाडा तिरेरै हजारौँ घरबेटीको घर चलेको छ । तर सानो कोठाको भाडा आठ हजार, नौ हजार, दश हजार कुन मापदण्डमा टेकेर कसरी निर्धारण गरिन्छ ?’ उनले प्रश्न गरे । घरभाडा निर्धारणमा घरबेटीको इच्छाबाहेक अर्को मापदण्ड नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । भएको मापदण्ड पनि लागू नभएको उनले बताए ।
रास्वपा सांसद रिमा विश्वकर्माले सरकारलाई ‘ट्रक साहित्य’ स्मरण गराएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले ट्रक साहित्य स्मरण गराउँदै भनिन्, ‘हतार गरे भन्न सकिन्नँ, विस्तारै गए अवश्य पुगिन्छ ।’ साथै, उनले सुशासनलाई प्राथमिकतामा राखेको सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई पनि एजेन्डाका रूपमा स्थापित गर्न जरुरी रहेको बताइन् ।
विशेष समयमा बोल्दै रास्वपाका सांसद पुकार बमले देशभरको सुकुम्वासी समस्या समाधान गर्न सरकारको विशेष ध्यान जानुपर्ने बताए । यस्तै, रास्वपा सांसद गणेश कार्कीले प्रतिपक्ष दलहरूले तथ्यगत रूपमा आचोलना विरोध गर्न आह्वान गरेका थिए । सांसद खगेन्द्र सुनारले गणेश नेपालीको घटनामा धेरैले आफूले खोजेको भन्दै आफू कतै नभागेको र संसद्मै रहेको बताए । उनले अहिले पनि दलित मार्ने क्रम नरोकिएको भन्दै प्रतिपक्ष दलहरूलाई दलितको मुद्दामा एकसाथ उठ्नसमेत आह्वान गरे ।









प्रतिक्रिया दिनुहोस्