मुगु।
मनसुन सक्रिय भएसँगै मुगुको जीवनरेखा मानिने नाग्म–गमगढी सडकखण्ड फेरि हिलाम्मे बनेको छ । विशेषगरी छायाँनाथ रारा नगरपालिका–८ को झ्यारी खोलादेखि ताल्च विमानस्थलसम्मको सडक वर्षासँगै पूर्ण रूपमा बिग्रिएपछि स्थानीयदेखि पर्यटकसम्मले सास्ती खेप्न बाध्य भएका छन् । लगातारको वर्षाले सडकमा ठूला–ठूला खाल्डाखुल्डी बनेका छन् भने सडकको अधिकांश भाग हिलोले ढाकिएको छ । जसका कारण मालबाहक र यात्रुवाहक सवारीसाधन पटक–पटक हिलोमा फस्ने गरेका छन् ।
सडकमा एक गाडी फस्नेबित्तिकै लामो जाम लाग्ने र यात्रुहरू घण्टौँसम्म बाटोमै रोकिइरहनुपर्ने अवस्था बनेको यात्रुहरू बताउँछन् । सुर्खेत, काठमाडौँ, नेपालगन्ज, बुटवललगायत देशका विभिन्न स्थानबाट राराताल भ्रमणका लागि आउने आन्तरिक तथा विदेशी पर्यटकहरू समेत यही सडकको दुर्दशाका कारण बीचबाटोमै अलपत्र पर्ने गरेका हुन् । हिलोमा गाडी भासिँदा वृद्धवृद्धा, बालबालिका, बिरामी र महिला यात्रुले सबैभन्दा बढी सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन् ।
ताल्चा विमानस्थलबाट हवाईयात्रा गर्ने यात्रुहरू पनि सडकको अवस्थाका कारण समयमै गन्तव्यमा पुग्न नसक्ने समस्यामा परेको स्थानीय रुपक रोकायाले बताए । उनका अनुसार गमगढी बजार र विमानस्थलबीचको छोटो दूरी पार गर्नसमेत घण्टौँ लाग्ने अवस्था छ । जसले दैनिक आवतजावत गर्ने सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।स्थानीयवासी सर्जुन बुढाका अनुसार प्रत्येक वर्ष असार लागेसँगै बजेट सक्ने उद्देश्यले हतारहतार गरिने सडक मर्मतले दीर्घकालीन समाधान दिन सकेको छैन ।
वर्षा सुरु हुनासाथ सडक पुनः हिलाम्मे बन्ने, खाल्डाखुल्डी बढ्ने र सवारी सञ्चालन नै जोखिमपूर्ण हुने अवस्था दोहोरिँदै आएको उनले गुनासो गरे । सडक स्तरोन्नतिका लागि बर्सेनि बजेट विनियोजन भए पनि त्यसको प्रभाव सडकमा देखिन नसकेको स्थानीयको आरोप छ । सडकको दिगो मर्मतका सट्टा अस्थायी टालटुलमै सीमित हुँदा राज्यको लगानी पनि प्रभावकारी हुन नसकेको स्थानीयवासी बताउँछन् ।
जसले गर्दा यात्रुहरूले सडक डिभिजन कार्यालय जुम्लाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । दैनिकजसो सवारीसाधन हिलोमा फस्ने, यात्रुहरू घण्टौँ अलपत्र पर्ने र सडक अवरुद्ध भइरहँदा समेत सम्बन्धित निकायले समयमै आवश्यक उपकरण र जनशक्ति परिचालन गरी सडक सञ्चालन सहज बनाउन चासो नदिएको गुनासो छ ।
पर्यटनको प्रमुख गन्तव्य राराताल पुग्ने यही सडक वर्षायाममा अव्यवस्थित बन्दा मुगुको पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको उद्योग वाणिज्य संघ मुगुले जनाएको छ । पर्यटकले पहिलो अनुभव नै सास्तीपूर्ण यात्रा भोग्नुपर्दा जिल्लाको पर्यटन प्रवद्र्धनमा नकारात्मक सन्देश जाने पर्यटन व्यवसायीहरू बताउँछन् ।
स्थानीयवासीले वर्षायाममा पनि सहज रूपमा यात्रा गर्न मिल्ने गरी सडकको दिगो स्तरोन्नति गरिदिन माग गरेका छन् । प्रभावकारी निकास व्यवस्थापन, नियमित मर्मत र तत्काल हिलो हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग उनीहरूको माग छ । सडकको अवस्था सुधार नभएसम्म मुगुवासीको यात्रा सुरक्षित र सहज बन्ने सम्भावना न्यून छ ।









प्रतिक्रिया दिनुहोस्