भुजेल संस्कृति संरक्षण गरिँदै



तनहुँ ।

भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला वर्षमा ओझेलमा पर्न थालेपछि संस्कृति संरक्षणमा सक्रियता बढेको छ। भुजेल समाज सेवा समिति तनहुँले देवघाट गाउँपालिका-१ स्थित बसेनीटारमा मौलिक चुड्का नाच प्रदर्शनी आयोजना गरी संस्कृति संरक्षणमा पहल थालेको हो। आधुनिक जीवनशैली, गाउँबाट सहरतर्फको बसाइँसराइ, वैदेशिक रोजगारी र नयाँपुस्तामा मौलिक संस्कृतिप्रतिको घट्दो चासोका कारण पुस्तौँदेखि जोगिँदै आएको यो परम्परा अहिले संरक्षणको प्रतिक्षामा छ ।

यही चिन्तालाई अवसरमा बदल्ने प्रयासस्वरूप समितिले मौलिक चुड्का नाच प्रदर्शनी आयोजना गरेको हो।कार्यक्रममा तनहुँसहित आसपासका क्षेत्रबाट आएका आठ टोलीले चुड्का र कौरा नाच प्रस्तुत गरेका छन् । प्रत्येक प्रस्तुतिमा भुजेल समुदायको इतिहास, जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र सामूहिक संस्कृतिको झल्को देखिन्थ्यो । देवघाट-१ स्थित बसेनीटार पुग्ने जोकोहीले गाउँमा केही विशेष भइरहेको सहजै अनुमान गर्न सक्थ्ये । खुला चौरमा परम्परागत पोशाकमा सजिएका महिला, पुरुष, युवा र ज्येष्ठ नागरिकको घुँइचो थियो ।

केही क्षणमा जब चुड्काको तालमा कलाकारका पाइला अघि बढे चौरमा उपस्थित सबैको ध्यान एउटै दृश्यमा केन्द्रित भयो । त्यो केवल एउटा नाच थिएन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको एउटा जीवन्त इतिहास थियो । दर्शकमाझ बसेका धेरै ज्येष्ठ नागरिकका अनुहारमा पुराना दिनहरूको सम्झना झल्किन्थ्यो भने युवापुस्ता उत्सुकतापूर्वक आफ्ना पुर्खाको सांस्कृतिक सम्पदालाई नियालिरहेको देखिन्थ्यो। एउटै चौरमा दुई पुस्ता भेटिएका थिए, एकातिर संस्कृति जोगाएर ल्याएको पुस्ता, अर्कोतिर त्यसलाई बुझ्न र सिक्न खोजिरहेको नयाँपुस्ता।

भुजेल समाज सेवा समितिका अध्यक्ष पृथ्वी भुजेलले यो कार्यक्रम मनोरञ्जनका लागि मात्र आयोजना नगरिएको बताए । उनले भने, “यदि आजैदेखि संरक्षणमा लागिएन भने केही वर्षपछि चुड्का नाच पुस्तकका पानामा मात्र सीमित हुन सक्छ । हाम्रो उद्देश्य नयाँपुस्तालाई आफ्नै संस्कृति चिनाउने र हस्तान्तरण गर्ने हो ।”भुजेल महिला समाजकी केन्द्रीय अध्यक्ष बसुन्धरा घर्तीले भुजेल समुदायको संस्कृति संरक्षणलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

नेपालका धेरै आदिवासी तथा जनजाति समुदायझैँ भुजेल समुदाय पनि आफ्नो भाषा, संस्कृति र परम्परा जोगाउने चुनौतीसँग सङ्घर्ष गरिरहेकाले यसको सबैको सहकार्य र समन्वय आवश्यक पर्ने उनको भनाइ छ । यस्ता कार्यक्रमले समुदायलाई एकताबद्ध गर्नुका साथै आफ्नो पहिचानप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे।देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले भाषा, भेषभूषा र संस्कृतिलाई कुनै पनि समुदायको पहिचानको मेरुदण्डका रूपमा व्याख्या गरे। उनले भुजेल समुदायको चुड्का नाच देवघाटको मात्र नभई राष्ट्रकै साझा सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार