शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँँको नगरप्रमुख हुँदा तत्कालीन सरकारलाई लक्षित गर्दै २५ जनावरी २०२५ मा लेखेका थिए, ‘संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् ।… र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।’ त्यहीँ दिन हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रहेका रवि लामिछानेले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रहयो र ? भन्दै सामाजिक सञ्जाल फेसबुकमा ट्याटस लेखेका थिए । उनले लेखेका थिए,‘यसमा हामी दोषी छौँ । म दोषी छु । प्रेम आचार्य जी ।’
संयोगले हाल बालेन्द्र शाह दुई तिहाई सरकारको प्रधानमन्त्री छन् । लामिछाने सत्ताधारी पार्टीको शक्तिशाली सभापति छन् । २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका थिए । सोही विषयलाई जोडेर तत्कालीन समयमा दुवैजनाले राज्यको नीतिसँग जोडेका थिए । त्यसको तीन वर्षपछि त्यस्तै संयोग जुरेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय गणेश नेपालीले शरिरमा पेट्रोल छर्किएर आत्मदाह गरे ।
शुक्रबार बिहान उनको वीर अस्पतालमा उपचारको क्रममा नेपालीको निधन भएको छ । करिब ५५ प्रतिशत शरिर जलेका उनको वीर अस्पतालको वर्न सेन्टरमा उपचारको क्रममा निधन भएको हो । बिहीबार राहदानी विभाग अगाडि पार्किङ गरेको मोटरसाइकलमा महानगर प्रहरीले ह्वीललक लगाएर गाडीमा पढाउन खोजेपछि नेपालीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको हृदयविदारक प्रयास गरेका थिए । उनको निधनपछि राज्यको नीतिमाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । वर्तमान सरकारको आचोलना भएको छ । काठमाडौँमा राइड सेयरिङ एपमार्फत राइडरको काम गर्ने नेपालीको मृत्युपछि सरकार रक्षात्मक बनेको हो ।
तर नेपालीले यसअघि पनि नगर प्रहरीबाट दुव्र्यवहार भोग्दै आएको खुलेको छ । हाल सामाजिक सञ्जाल फेसबुकमा नेपालीले कारबाहीमा पर्दा आफन्तलाई गुहारेको देखिएको छ । मृतक गणेश नेपालीले गत असार १३ गते आफ्नै भतिज मन नेपालीलाई म्यासेन्जरमा लेखेका थिए, ‘सामान लिन गएको समयमा नगर प्रहरीले ताला लगाईदियो यार, १००० तिर्नुपर्ने भो । त्यही भएर उपलब्ध गराउन सकेन ।’ उनको निधनपछि प्रतिनिधिसभामा घटनाको यथार्थ छानविनको माग गरिएको छ भने राष्ट्रियसभामा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरिएको छ ।
‘राइडर’को काम गर्दै जिविपार्जन गर्थे गणेश
कर्णाली प्रदेशको मुगुस्थित सोरु–१ का २५ वर्षीय गणेश नेपाली केही समयदेखि भक्तपुरमा परिवारसहित बसोबास गर्दै आएका थिए । गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । उनी श्रीमती र झन्डै तीन वर्षकी छोरीसहित भक्तपुरमा डेरामा बस्थे । बिहीबार दाईको बालाजुस्थित डेरामा आएका थिए । गणेश सधै बिहीबार पनि बिहानै काममा गएका थिए । जुन उनको दैनिकी थियो । प्रमुख जिविकोपार्जनको प्रमुख स्रोत पनि राइडरको काम नै थियो ।
मृतक गणेशका दाई मदन नेपालीका अनुसार उनले कृषि जेटीए पढेका थिए । सरकारी जागिर खाने उद्देश्यसहित राजधानी छिरेका उनी जिविकोपार्जनको लागि राइड सेयरिङ एपमार्फत राइडरको कामपनि गरिरहेका थिए । मदनले वैदेशिक रोजगारीका लागिसमेत प्रयास गरिरहेको बताए । यस्तै फुर्सदको समयमा लोकसेवासमेत तयारी गरिरहेका थिए, गणेशले । मदन भन्छन्, ‘सधै झै काममा गएको थियो । ढिलोसम्म खाना खान आएन । फुर्सद भएन होला भनेर पर्खिरहेका थियौँ । तर ढिलो हुँदासमेत आएनन् ।’
उनले आफू बालाजुमा रहेको डेरामा बसिरहेको बेला प्रहरीले फोन गरेपछि घटनाबारे थाहा पाएको पनि बताए । अपरिचित नम्बरबाट फोन गरेका व्यक्तिले आफू नेपाल प्रहरी भएको र तुरुन्त वीर अस्पतालमा आउन आग्रह गरे । उनले भने, ‘मलार्इँ साढे २ बजेतिर फोन आएको थियो । तपाईँको भाईले पेट्रोल छर्केर घाइते हुनु भएको छ । वीर अस्पतालमा आउनुहोस् ।’ उनी तुरुन्तै वीर अस्पतालमा गए । गणेशको इमरजेन्जीमा उपचार भइरहेको थियो ।
उनले मृत्युसँग संघर्ष गरिरहेका गणेशसँग भेट गरे । गणेशलाई भेट्दा उनको अवस्था अत्यत्न नाजुक अवस्थामा रहेको मदन बताउँछन् । भाईसँग भएको छोटो संवादबारे मदन भन्छन्, ‘उनीसँग छोटो कुराकानी भयो । उनले महानगर र चिटका कारण भएको हो । बुबा आमालाई राम्रो गर्नु । त्यति भन्यो अनि बोल्न सकेन ।’ भाइसँगको अन्तिम संवाद सम्झिदा अहिलेपनि मदन भक्कानिन्छन् । मदनसँग भेट हुँदा इमरजेन्सीमै उपचाररत अवस्थामा गणेशले ‘दाई मेरो गल्ति थिएन’ भनेका थिए ।
सरकारद्वारा छानविन समिति गठन
आत्मदाहका कारण उपचारको क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न संघीय सरकारले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै घटनाबारे यथार्थ छानविन गर्न समिति गठन गरिएको जानकारी गराएका हुन् । छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको उनले बताए । छानबिन तथा सोधपुछका लागि अहिले तीनजना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको गृहमन्त्री गुरुङले प्रतिनिधिसभा जानकारी गराएका थिए । यस्तै उनले गणेश नेपालीलाई बचाउन सरकारले अथक प्रयास भएको पनि बताएका छन् ।
आफूहरूको अथक प्रयासका बाबजुत आफूहरूले बचाउन नसकेको उनको भनाइ थियो । ‘हामीले अथक प्रयास गरेकै हो । श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो । अनुमति लिएकै हो । चिकित्सकले स्टेबल राख्नुप¥यो भन्नुभयो । उहाँको ब्लड प्रेसर नै लो भएको थियो,’ गुरुङले भनेका छन्, ‘हामीले उहाँलाई बचाउन गरेको हो नि त । यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन् ।’ घटनाबारे देशभर विरोध भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्