अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण



भोजपुर ।

यहाँको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न कुटानीपिसानी मिलसहित विभिन्न आयआर्जनमूलक सामग्री वितरण गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत ‘व्यावसायिक तथा रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको हो ।

स्थानीय तहले लक्षित वर्गको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारतर्फ उन्मुख गराई उनीहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो । “सहयोग मात्रै होइन । आयआर्जनसँग जोडिने खालका कार्यक्रममार्फत दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो”, उनले भने।

कार्यक्रमअन्तर्गत गाउँपालिकाले छ वटा कुटानीपिसानी मिल वितरण गरेको छ। यसैगरी सुगुरपालनका लागि १९ जना, कुखुरापालनका लागि एक जना, अदुवाखेतीका लागि तीन जना र एक जनालाई हिलट्याङ्क उपलब्ध गराइएको छ । यी सामग्रीले लाभग्राहीलाई साना घरेलु उद्यम सञ्चालन गर्न मद्दत गर्ने गाउँपालिकाको भनाइ छ ।

स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन लक्ष्यले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको पौवादुङमा–६ ठूलोदुम्माका स्थानीय दीपक राईले बताउनुभयो । प्राप्त सामग्रीले आफ्नो दैनिकी सहज बनाउने उहाँको भनाइ छ । “यसले घरमै बसेर काम गर्न सकिने अवस्था बनाएको छ”, उनले भने, “अब आम्दानीको बाटो खुल्ने विश्वास छ,। गाउँपालिकाले गरेको सहयोगले हामी असक्तहरुलाई लाभ पुगेको छ ।”

गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय उत्पादनलाई बजारसँग जोड्न तिवारीभन्याङमा ‘कोसेली घर’ निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उक्त कोसेली घरमार्फत उत्पादन गरेका कृषि सामग्री सङ्कलन तथा बिक्री–वितरण गरिने योजना रहेको उनले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले १ देखि ६ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको बताए। उनले रु चार लाख ६० हजार बराबरको बजेटमा कार्यक्रम सञ्चालन जानकारी दिए। गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्दै लक्षित समुदायलाई उत्पादन र बजार व्यवस्थापनसँग जोड्ने योजना बनाएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार