नेपालगन्ज ।
नेपालगन्जमा जेनजी आन्दोलनका क्रममा ढलाइएका शालिकसहित दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्र शाहको पूर्णकदको शालिक पनि पुनःस्थापना गरिएको छ । जेनजी आन्दोलनमा ढलाइएका वीपी कोइराला, पुष्पलाल श्रेष्ठ र सेतु विकको शालिक पुनःस्थापनासँगै २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा तोडफोड गरी हटाइएको वीरेन्द्रको शालिक पनि पुनःस्थापना गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले दिउँसोको समयमा शालिक पुनःस्थापना गर्दा विवाद हुनसक्ने अवस्थालाई ध्यानमा राखेर मध्यराति ती शालिकहरु पुनःस्थापना गरेको हो । जेनजी विद्रोहका क्रममा तोडफोड भएका वीपी कोइराला, पुष्पलाल श्रेष्ठ र सहिद सेतु विकका शालिकहरू ढलाइएका थिए भने गणेशमान सिंहको शालिक तोडफोड भएको थियो । यी सबै शालिक तथा चोकहरुको पुनर्निर्माण गरेर पुनःस्थापना गरिएको छ भने अनावरण भने गरिएको छैन ।
नेपालगन्जमा शालिक स्थापनाको विषयलाई लिएर पटक पटक तनाव उत्पन्न भएको थियो । यसअघि पनि राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्ने क्रममा पटक पटक तनाव सिर्जना हुँदा पुनः हटाइएको थियो । यसैगरी, दोस्रो जनआन्दोलनका क्रममा हटाइएको त्रिभुवन चोकमा रहेको स्वर्गीय राजा त्रिभुवनको शालिक पनि लामो रस्साकस्सीपछि पुनःस्थापना गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सर्वदलीय र सर्वपक्षीय बैठकपश्चात् नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर पूर्वराजा विरेन्द्र शाहको पूर्ण कदको शालिक पुनःस्थापना गरिएको बताएका छन् । सार्वजनिक सम्पत्ति र ऐतिहासिक शालिहरुको स्थानीय सरकारको दायित्व भएकोले उक्त कामको उपमहानगरले गरेको उनले बताए । शालिक पुनःस्थापनाअघि चोकहरुमा एकै किसिमको मार्बल लगाएर पुनर्निर्माण तथा सौन्दर्यकरण पनि गरिएका छन् ।
शालिक पुनःस्थापनापछि अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् । नेपालगन्जका वरिष्ठ साहित्यकार सनत रेग्मी ऐतिहासिक व्यक्तिहरुका कुनै समयमा स्थापित भइसकेका शालिकहरु पुनःस्थापनामा विरोध गर्नुपर्ने आवश्यकता नरहेको बताउँछन् । लेखक खगेन्द्र गिरी कोपिलाले पनि मेयर विष्टले परिस्थितिको गम्भीरतालाई मनन गरि आफ्नो दलका दिवंगत नेतासहित सबैका प्रतिमा पुनःस्थापित गर्न तत्परता देखाउनु सकारात्मक काम भएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्