
नेपालगन्ज ।
नेपालगन्जको मुख्य सडक रत्न राजगमार्गमा निर्माण भइरहेको फुटपाथ निर्माण हुँदाहुँदै भत्किएको विषयमा उपमहानगरले निर्माण कम्पनीलाई सचेत गराउँदै सुधार गर्न निर्देशन दिएको छ । कमसल निर्माणका कारण उक्त फुटपाथ ठाउँठाउँमा भासिएको र टायलहरू उप्किन थालेको छ । यस विषयमा मिसन टुडे दैनिकमा मंगलबार समाचार प्रकाशित पनि भएको थियो ।
उक्त विषयमा मंगलबार निर्माण कम्पनीलाई निर्माण कार्य तुरुन्त सुधार गरी गुणस्तरीय बनाउन लिखित रूपमैै निर्देशन दिएको उपमहानगरपालिकाका इन्जिनियर चन्दन दासले जानकारी दिए । उनले भने, ‘हामीले यस विषयलाई गम्भीरतापूर्वक लिएका छौँ । सुधारका लागि ठेकेदारलाई पत्र पठाइसकेका छौँ । चाँडै सुधार हुन्छ ।’ विशेषगरी नेपालगन्जको धम्बोझी चोकमा निर्माण भएको फुटपाथ ठाउँ ठाउँमा भासिएको छ ।
स्थानीयवासीहरूले फुटपाथ निर्माणमा लापरबाही गरिएका कारण भासिएको बताएका छन् । फुटपाथ निर्माण गर्दा दुवैतर्फ इँटाको कर्व निर्माण गर्नुपर्नेमा अधिकांश ठाउँमा एकातर्फ मात्रै कर्व निर्माण गरिएको छ । जसले गर्दा मोर्टार बगेर नालीमा गएको छ र टायलहरू धसिएका छन् ।
फुटपाथ निर्माणको काम २०८० सालको माघ महिनाबाट सुरु भई २०८१ जेठभित्र गणेशमान चोकदेखि झम्बोझी चोकसम्म फुटपाथ निर्माण गरिसक्ने भनिएकोमा दुई वर्ष थप समय लाग्दा पनि अहिलेसम्म उक्त खण्डको निर्माण कार्य नै पूरा हुन सकेको छैन । यही असारभित्र निर्माण गरिसक्ने गरी सम्झौता भएकोमा अहिले पनि निर्माण कार्य सुस्त रहेकोले निर्माण कार्य समयमै नसकिने देखिएको इन्जिनियर दास बताउँछन् । ‘समयमै निर्माण सम्पन्न नभएमा अब निर्माण कम्पनीलाई कारबाहीको प्रक्रियामा लैजाने विषयमा छलफल भइरहेको छ । यद्यपि अझै निर्णय हुन बाँकी छ,’ दासले भने ।









प्रतिक्रिया दिनुहोस्