म्याग्दी पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा



काठमाडौँ ।

म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वडा रहेको जिल्लाका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार पूर्णखोप घोषणा गरिएको हो ।

जिल्लामा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका तीन हजार ९७४ जना बालबालिकाले पूर्णखोप लगाएकाे प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए । बालबालिकाले बीसीजी, डीपीटी, पोलियो, दादुरा, रुबेला, जेइलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताए ।

म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, ८९ खोप केन्द्र, ४८ गाउँघर क्लिनिक छन् । बालबालिकालाई पूर्णखोप लगाउनका लागि ३७२ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए ।

यसअघि वडा र पालिकास्तरमा पनि पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणाअघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको–नलगाएको विषयमा अध्ययन गरेका थिए । यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी चौथो जिल्ला बनेको जिसस म्याग्दीका कार्यवाहक प्रमुखसमेत रहेका जिल्ला खोप समन्वय समितिका प्रमुख डिलकुमारी खत्रीले बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डेले खोप कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताए ।खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्त्वका साथ लिनुपर्ने मन्त्री पाण्डेले बताए । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेश पूर्णखोप अभियानको निरन्तरतामा जोड दिँदै प्रदेश सरकारमातहतको बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था मिलाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए ।मन्त्री पाण्डेले बेनी अस्पतालमा जनशक्ति र उपकरण व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

म्याग्दीलाई १५ चैत २०७१ मा नेपालको छैटाैँ पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता म्याग्दीलाई हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणालाई निरन्तरता दिइँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार